विद्युत् प्राधिकरणको नाफा १० अर्ब ६७ करोडः कुलमान भन्छन्– ‘प्राधिकरणका आगामी दिन अझै सुनौला’

चैत्र २१, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष ०७५/७६ मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्डअनुसारको अडिटअनुसार १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । 

यो नाफा प्रधिकरणको प्रक्षेपणभन्दा बढी हो । प्राधिकरणको ३४औं वार्षिकोत्सवको अवसरमा गत भदौमा आव २०७५–७६ मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरिएको थियो।  

महालेखापरीक्षकको कार्यालयबाट भएको अन्तिम लेखापरीक्षणबाट प्राधिकरणले ०७५/७६ मा ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको देखिएको छ ।  

योसँगै सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूमध्ये प्राधिकरण सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेको जनाएको छ ।  

‘विद्युत् चुहावट नियन्त्रणमा हासिल भएको ठूलो सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरूसँगको विद्युत्को औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रणका कारण नाफामा जान सफल भएको हो,’ ‘प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘साथै लोडसेडिङ अन्त्यपछि ऊर्जा खपतमा वृद्धि, प्राधिकरणका जलविद्युत् आयोजनाहरूको उत्पादनमा वृद्धि, वित्तीय पुनर्संरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट संस्था तीन वर्षदेखि निरन्तर नाफामा जान सफल भयौँ ।’ 

प्राधिकरणको जगेडा तथा सञ्चित कोष नोक्सानी घटेर १२ अर्ब २३ करोड ३९ लाखमा झरेको छ । आव ७४/७५ मा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख र जगेडा तथा सञ्चितकोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक थियो ।  

आव ०७२/७३ मा ८ अर्ब ८९ करोड खुद घाटामा र जगेडा तथा सञ्चित कोष ३४ अर्ब ६० करोड ८५ नोक्सानीमा रहेको प्राधिकरण कुलमान घिसिङ कार्यकारी निर्देशक भएपछि फड्को मार्दै खुद नाफा बढाइरहेको छ । प्राधिकरणले आव ०७३/७४ र ०७४/७५ मा खुद नाफा क्रमशः १ अर्ब ४६ करोड ७३ लाख  र २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको थियो ।   

आव ०७२/७३ मा २५.७८ प्रतिशत रहेको विद्युत् चुहावट आव ०७५/७६मा आइपुग्दा १५.३२ प्रतिशतमा झरेको छ ।  

प्राधिकरणलाई नाफासहितको अनुशासित, सम्मानित, सबल संस्था बनाउने, विद्युत् सेवाको उपलब्धता विस्तार गर्ने योजनाका साथअघि प्राधिकरण अघि बढिरहेको बताउँदै घिसिङले प्राधिकरणको आगामी दिन अझै सुनौला रहेको बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *