प्रधानमन्त्रीको निर्देशन पछि हिँडेर घर जानेहरु बाटोमै अलपत्र

बैशाख ६, काभ्रे । लकडाउनमा भोकै मर्ने अवस्था आएपछि हिँडेरै घर जान थालेका सर्वसाधारण प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन पछि बाटोमै अलपत्र परेका छन् ।  कोरोना रोकथामका लागि सरकारले नागरिकलाई घरभित्रै बस्न निर्देशन गरेपनि दैनिक ज्यालादारीमा बस्नेहरु खान नपाएर भोकै मनुपर्ने अवस्था आएपछि जोखिम मोलेरै पैदल यात्रा गर्न बाध्य भएका थिए ।   

सर्वोच्च अदालतले पनि घर जान चाहने नागरिकलाई पुर्याउने ब्यवस्था गर्नु भनेर सरकारलाई आदेश दिएपनि प्रधानमन्त्रीले नै ‘हिँडेरै गाउँ जान नदिनु बरु खान नपाए खाद्यान्न दिनु’ भन्ने आदेश दिएपछि घर जान भनेर हिँडेकाहरु बाटोमै अलपत्र परेका छन् ।   

गृह मन्त्रालयले हिजो प्रहरी प्रधान कार्यालय नक्साललाई आवतजावतमा पूर्ण रोक लगाउन निर्देशन दिएको थियो । सोको कार्यान्वयन गर्दै कोटेश्वर, कलंकी, थानकोट, साँगा हुँदै उपत्यका बाहिर जान पूर्ण रोक लगाइएको छ ।   

यस अघि स्थानीय निकायले घर जान हिँडेकाहरुलाई एक जिल्लाबाट अर्को जिल्ला सम्म ढुवानीका गाडीमा हालेर पुर्याउने ब्यवस्था गरेका थिए । प्रधानमन्त्रीको कडा निर्देशन पनि अहिले काभ्रे, धादिङ, चितवनमा पैदल हिँडेर आएका यात्रुहरु अलपत्र परेका छन् ।   

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले हिँडेर आउनेहरुलाई जो जहाँ आइपुगेका छन् त्यहि रहन निर्देशन दिएको बताएका छन् । उनका अनुसार अहिले जिल्लामा आइपुगेकाहरुलाई त्यही स्थानीय स्तरमा खान र बस्नको ब्यवस्था गरिएको छ ।   

चितवनको इच्छाकामना गाउँपालिकाकी प्रमुख गीता कुमारी गुरुङको सक्रियतामा राजधानीबाट कतिपय बालबच्चा सहित हिँडेरै जिल्ला आएका परीवारलाई ढुवानीका साधनमा अर्को जिल्ला पठाइएको छ ।   

तथापि, लामो दुरीका लागि सामुहिक रुपमा घर जान हिँडेका हरुलाई भने खान र बस्नको समस्या भएको । काभ्रेको बनेपा, धुलिखेल हुँदै जानेहरुलाई स्थानीय तहका जनप्रतिनिधिहरु, युवा तथा प्रहरी प्रशासनले खाने बस्ने ब्यवस्था गरेपनि थानकोट, दक्षिणकाली हुँदै राजधानी बाहिरिनेहरुलाई भने अफ्टेरो भएको छ ।   

हिजो मात्रै उदयपुरमा १४ र चितवनमा २ जना कोरोना संक्रमित फेला परेपछि लकडाउनलाई सरकारले कडा बनाएको छ । राजधानीसँगै देशका शहर र गाउँपालिका सम्ममा कडाइ गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *