धरानका मठ मन्दिरहरु सुनसानः दन्तकाली मन्दिरमा लाग्यो ढोका

चैत्र १९, धरान । यस पटकको चैते दशैं खल्लो भएको छ । विजयादशमी जस्तै धुमधामका साथ नमनाईए पनि चैते दशैं हिन्दुधर्मावलम्बीहरुले मनाउने गर्दथे । धरानमा आजका दिन देवी भगवतीका मठमन्दिरमा श्रद्धालु भक्तजनको ठूलो भिड लाग्ने गर्दथ्यो । विशेष गरी धरान–१४ स्थित दन्तकाली मन्दिरमा चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दथ्यो । यसपटक भने विश्वब्यापी कोरोना भाइरस संक्रमणले दन्तकाली मन्दिरको ढोका लागेको छ ।   

यसपटक हिन्दुधमावलम्बीहरुको चाड चैते दशैं खल्लो भएको छ । चैते दशैं पनि असोज कार्तिकमा आउने मुख्य दशैंको प्रतिबिम्ब चाड हो । पुराना कथनहरुका अनुसार पहिले पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो । तर, उक्त समयमा दशैं मनाउँने बेलामा जताततै खडेरी पर्ने, मौसम बदली हुने साथै दशैंको भारी भोजनले हिँडडुल गर्न नसिकिने तथा धेरै खानाखाँदा बिरामी समेत भएपनि दशैंलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।   

मुख्य दशैंलाई असोजमा सारिएपनि चैते दशैं मनाउनेहरुको संख्या उत्तिकै छ । तर, यो पटक दन्तकाली पीठ भने सुनसान बनेको छ । अरुबेला आजको दिन बिहानैबाट हजारौं दर्शनाथसर््हरुको घुईंचो लाग्ने गर्दथ्यो ।   

‘कोरोना त्रासका कारण मुलुक नै लकडाउन भएको अवस्थामा कसैलाई घरबाट बाहिर अनावश्यक हिँडडुल गर्ने अनुमति छैन त्यसैले पनि यो चैते दशैंमा दन्तकाली मंदिर सुनसान बनेको हो ।’ स्थानीय फुल प्रसाद ब्यवसायी भन्छन् ।  चैते दशैंलाई कतिपय ठाउमा सानो दशैं भन्ने चलन छ । भारत, बंगलादेश अनि म्यानमारमा चैते नवरात्रि भन्ने चलन पनि छ । वर्षभरीको चाडपर्वको श्रृंखलालाई चैते दशैं र भोलीपल्ट आउने रामनवमीले समापन गरेको बुझिन्छ ।   

दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रुपमा मनाइने चैते दशैंमा मुख्य दशैंमा झै विभिन्न शक्तिपीठहरुमा पशुवली दिने गरिन्छ । यस पटक धरानको दन्तकाली मन्दिरमा पनि पशुवली दिइएन ।  चैत शुक्ल अष्टमीकै दिनबाट काठमाडौ उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, मैतिदेवी लगायत उपत्यकाका मन्दिरहरुमा वली दिईन्थ्यो । उपत्याकाका मन्दिरहरुपनि सुनसान छन् । आज बिहानैदेखि दर्शनार्थीको घुईंचो लाग्ने धरानको दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, बिराटनगरको काली मन्दिरहरु सुनसान छन् ।   

पौराणीक कथा अनुसार आजकै दिन मर्यादा पुरूषोत्तम रामचन्द्र आफनो १४ वर्षे वनवास सकाएर अयोध्या फर्किएको कथन छ । आफनी श्रीमती सीताको अस्मिता रक्षार्थ लंकाका राजा रावणको दुस्साहस र असुर मुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान श्रीरामले रावणको वध गरेको रामायणमा उल्लेख छ । आज राम अनि दुर्गा लगायत अन्य देवीदेवताको पूजा गरिन्छ । आज चैते दशैंका दिन श्रीराम सीता तथा लक्ष्मणले १४ वर्षे वनवास पुरा गरेर अयोध्या फर्किएको उक्ति पनि छ । श्रीराम अयोध्या फर्किएको खुसीयालीमा पनि विजयोत्सव मनाइएको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *