सेती अस्पतालको प्रसुती सेवा निजी अस्पतालमा सार्ने निर्णय

वैशाख ३, धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल बनाएपछि त्यहाँ प्रदान हुने प्रसुती सेवा धनगढीकै निजी अस्पताल नवजीवन अस्पतालमा सार्ने निर्णय गरिएको छ ।  

प्रदेश संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले सेती प्रादेशिक अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसहितको टोली नवजीवन अस्पतालमा खटाएर प्रसुती सेवा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए ।  

कोरोना संक्रमितको उपचारका लागि वैकल्पिक अस्पताल निर्माण नहुँदासम्म सेती अस्पतालको आमा सुरक्षा कार्यक्रमको सेवा नवजीवन अस्पतालबाट प्रदान गरिने जानकारी दिए ।  

यसअघि सामाजिक विकार मन्त्री कृष्णराज सुबेदीको अध्यक्षतामा भएको बैठकले सेती प्रादेशिक अस्पतालको प्रसुती सेवा बन्द गर्ने र आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको नवजीवन अस्पतालमा सार्ने निर्णय गरेपनि जनशक्ति व्यवस्थापनबारे टुंगो लागेको थिएन । 

संकट व्यवस्थापन केन्द्रले सेती प्रादेशिक अस्पतालको प्रसुती सेवा नवजीवन अस्पतालमा सार्ने निर्णयसहित १५ वटा निर्णय गरेको छ । अस्पतालमा चिकित्सकहरुलाई आलोपालो गरि खटाउने, मानवीय जनशक्ति कम लाग्ने विकास निर्माणका कामहरु सुचारु गर्ने, न्युनतम खाद्यन्न सञ्चय गर्ने जिम्मा स्थानीय तहलाई दिने, प्रदेशमा औषधि, उपकरणलगायतका स्वास्थ्य सामग्री खरिद गर्ने र उपलब्ध हुन नसकेका औषधि उपकरण खरिदका लागि संघीय सरकारसंग अनुरोध गर्ने निर्णय गरिएको छ ।  

त्यस्तै, सुरक्षा चुनौतीको विश्लेषण गरि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई आवश्यक सवारी साधन तयारी अवस्थामा राख्न लगाउने, प्रदेशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीको समन्वयमा जिल्ला सदरमुकाममा एक सयदेखि पाँच सयसम्म र स्थानीय तहमा एक सयदेखि दुईसयसम्मको क्वारेन्टाइन बनाउन लगाउने, प्रदेश स्थानीय तहले लकडाउन अघि र पछि विदेशबाट आएका व्यक्तिहरुको वडागत अभिलेख राखेर सबैलाई परिक्षणको दायरामा ल्याउन लगाउने, उनीहरुको अभिलेख प्रदेशमा पठाउने स्वास्थ्य स्थितिबारे जानकारी गराउने निर्णय गरिएको मन्त्री शाहले जानकारी दिए ।  

मन्त्री शाहले निजी अस्पताललाई पनि आफ्नो सेवा सुचारु गर्न गराउन सरोकारवालाहरुसंग छलफल गर्ने निर्णय पनि भएको जानकारी दिए । 

‘कोभिड–१९ इमर्जेन्सी अपरेशन सेन्टर’ गठन  

यसैगरि, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिवको संयोजकत्वमा ‘कोभिड–१९ इमर्जेन्सी अपरेशन सेन्टर’ गठन गर्ने निर्णय पनि गरिएको छ ।  

सेन्टरमा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य र सामाजिक विकास मन्त्रालयका अधिकृत सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।  

सेन्टरलाई कोरोना भाइरस रोकथामका लागि विभिन्न निकायबीच समन्वय गर्ने, सहजीकरण गर्ने र आगामी रणनीति र कार्ययोजना निर्माण गर्ने कार्यक्षत्र तोकिएको मन्त्री शाहले प्रेस कन्फ्रेन्समार्फत जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *