भोकमरीलाई मध्यनजर गरी फुड बैंक सञ्चालनमा

चैत्र १९, भद्रपुर। झापाको मेचीनगर नगरपालिकामा विपन्न समुदायलाई भोकमरीबाट जोगाउन प्रमुख राजनीतिक दल, पत्रकार र व्यवसायी मिलेर फुड बैंक स्थापना गरेका छन्। विसं २०७२ सालको महाभूकम्पका बेला राहत प्रदान गर्न बनेको ‘मेची अभियान’ नामक संस्थामार्फत नै कोभिड–१९ को सङ्क्रमणका बेला फुड बैंक स्थापना गरिएको हो। 

मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विजय डालमियाको संयोजकत्वमा मेचीनगरका नेकपा, नेपाली काँग्रेस, राप्रपा र समाजवादी पार्टीका प्रमुखहरु र पत्रकारलाई अभियानले सदस्य बनाएको छ। अभियानले स्थापना गरेको फुड बैंकमा दाताहरुले दिएको खाद्यान्न र नगद जम्मा गरिन्छ। 

कोडिभ–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउनको म्याद आठ दिनका लागि थपेसँगै दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको हातमुख जोड्दै आएका अति विपन्न परिवारको बिचल्ली हुन नदिन स्थापना गरेको बैंकमा हाल रु ९२ हजार ४९९ रकम जम्मा भइसकेको अभियानका संयोजक डालमियाले बताए।   

‘महामारीका बेला राज्यले मात्र सहयोग दिएर पुग्दैन’, उनले भने, ‘सबैले आआफ्नो ठाउँबाट सहयोग गरेर विपन्न समुदायलाई भोकमरीबाट जोगाउनुपर्छ।’ सर्वदलीय अभियान बनाएर दैनिक ज्याला मजदुरी गरेर खाने विपन्न व्यक्तिहरुलाई फुड बैंकमार्फत खाद्यान्न वितरण गर्न थालिसकिएको संयोजक डालमिया बताए। 

फुड बैंकमा सहयोग गर्ने दाताको सङ्ख्या दिनदिनै बढिरहेका छन्। संयोजक डालमियाले सामाजिक सञ्जाल, युट्युब, इन्टरनेट, फोन तथा मेसेजमार्फत शुभेच्छुकहरुले सहयोग गर्ने वचन दिइरहेको बताए। मेचीनगर नगरपालिकाको खाद्यान्न व्यवस्थापन समितिको कार्यदलसँगको सहकार्यमा विपन्न मजदुरका परिवारलाई राहत वितरण गरिने बताइएको छ। -रारास 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *