अध्यादेश इतिहासकै दुखद् घटनाः कांग्रेस, ‘हामीलाई सिध्याउन ल्याइएको अध्यादेशले नेकपालाई सिध्याउँछ’ उपेन्द्र यादव
बैशाख ८, काठमाडौं । सरकारले राजनैतिक दल सम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा ऐन अध्यादेश मार्फत ल्याएको प्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाउँदै इतिहासकै दुखद घटना भएको बताएको छ ।
कांग्रेसले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको बेला सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको भन्दै दुवै अध्यादेशप्रति गम्भीर असहमति जनाएको छ । कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनुको साटो सरकारले सत्ताको खेल खेलेको भन्दै कांग्रेसले इतिहासकै सबैभन्दा दुखद् घटना भनेको छ ।
‘कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथि उठेर नेपाली कांग्रेसले सरकारलाई हरसंभव सघाउँदै आएको छ । यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो’, विज्ञप्तिमा भनिएको छ, ‘यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बाँसुरी’ हो ।’
नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले राजनैतिक स्थिरता, संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वजस्ता व्यवस्था उल्लंघन भएको कांग्रेसको दावि छ ।
यता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कोरोना संकटको बेला सत्तारुढ दलले अध्यादेश ल्याइएको भन्दै त्यसले नेकपालाई नै सिध्याउने बताएका छन् । उनले सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने उद्देश्यले अध्यादेश ल्याएको दावि गरेका छन् ।
राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशले कसैलाई फाइदा नगर्ने यादवको भनाई छ । ‘एकदलीय कम्युनिष्ट सर्वसत्तावाद लाद्नका लागि अध्यादेश ल्याएको देखिन्छ’ यादवले भने–‘अहिले हामीलाई लक्षित गरेर ल्याइएको होला, तर भोलि यसबाट नेकपा पनि अछुतो रहँदैन ।’