मिस यु ‘बा’
साँच्चै, त्यो ‘याद’ को आकार कत्रो होला हगि बा !
हेर न,
मैले मास्क, पञ्जा, सेनिटाइजर, सबै लगाएकी छु,
प्रतिमिनेट साबुन पानीले हात धोइरहेकी छु,
पीपीईले शरीर ढाकेकी छु,
झ्याल, ढोका, पर्दा सबै डामडुम छन्,
र पनि तिम्रा याद कहाँबाट पस्छन् यो दिलभित्र, खै !
अचम्म लाग्छ,
बा, के त्यो ‘याद’ कोरोना भाइरस भन्दा पनि सुक्ष्म छ ?
हेर न, अनायासै मुटु कुटुकुटु खाइरहेछ,
म भोको छु भन्दैनन् तिम्रा यादले,
पेट टन्नै भएको बेलामा पनि आउँछ,
भीडमा पनि आउँछ, झरीमा पनि आउँछ,
घरीघरी आउँछ ।
छाती दुख्छ, मुटु पोल्छ,
श्वास फेर्न गाह्रो हुन्छ,
फोक्सो छियाछिया भएजस्तो,
प्राण जान लागेजस्तो,
घाँटीमा के अड्किएजस्तो,
दिमाग फाल्तुमा दौडिए जस्तो,
भीडमा पनि मेरै छेउमा टाँसिन आउँछ,
एक्लोपनमा पनि मैसँग लिप्त छ,
साबुनपानीले हात धोऊँ, सेनिटाइजर लगाउँ,
या कपडा फेरुँ, या त दिनभरको चर्को घाममा डढुँ,
अँह डढ्दैनन् तिम्रा याद, पखालिँदैनन् साबुनपानीमा,
बा, के कोरोना भाइरस भन्दा खतरनाक छन् तिम्रा याद !
तिमी दूर, म दूर…!
भन्छन् कोही तिमी स्वर्गमा छौ
जुन र तारासँग लुकामारी खेल्छौ रे,
बा, साँच्चै हो त ?
कल्पिन्छु कहिलेकाहीँ,
तिम्रा याद गुरुत्वाकर्षण बल अनि म सूर्य,
तिम्रा याद मतर्फ आकर्षण भइरहेछन्,
वर्षौदेखि घुमिरहेछन्, मेरै वरपर ।
झस्कन्छु फेरि,
सूर्य त आगोको डल्ला,
जसको नजिक कोरोना भाइरस पनि टिक्दैन,
तिम्रा याद कसरी टिकिरहेका छन् मेरा समिप ?
बा, के कोरोना भाइरसभन्दा शक्तिशाली छन् तिम्रा याद ?
सुनसान छन् सडक–गल्ली,
म निर्धक्क, एक्लै डुल्छु ती गल्लीहरु,
जहाँ तिमी ‘झ्याप्पा’ गर्दै मलाई तर्साउँथ्यौ,
मलाई हसाउँथ्यौ, फकाउँथ्यौ ।
बा,
सुन न, साह्रै सुर्तामा छु ।
त्यहाँ कोरोना भाइरस आयो कि आएन ?
लकडाउन गरे कि गरेनन् ?
पृथ्वी भोकमरीमा छ,
तिमीले खान त पाएका छौ नि ?
त्यहाँ पनि प्रहरी होलान् नि है ?
चिकित्सक छन् कि नाइँ ?
उपचार गर्न त मान्छन् नि ?
बा, अलि अटेरी छौ तिमी,
भीडभाडमा नजाऊ न है,
साबुनपानीले नियमित हात धुनू,
सेनिटाइजर नि लगाउनू है,
सूर्य नजिकै छन् ज्यान सेक्नु, भाइरस मर्छ रे !
स्टे होम, स्टे सेफ !
मिस यु बा…!