कोरोना संकटविरुद्ध प्रतिपक्षीसँग समन्वय आवश्यक छः प्रवक्ता श्रेष्ठ

चैत्र २९, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोषको रकम कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खर्चिनु पर्ने बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा उनले सांसद विकास कोष अनावश्यक मात्र नभई अनुचित भएको दाबीसमेत गरेका छन्।   

मुलुक अहिले कोरोना भाइरस (कोभिड १९)को संकटमा रहेको अवस्थामा खर्च नभएको यस कोषको रकम कोरोना कोषमा राख्न प्रवक्ता श्रेष्ठको सुझाव छ। यसबारे तत्काल निर्णय गर्नुपर्नेमा समेत उनले जोड दिए।   

‘मैले पहिले देखि भन्दै आएको छु, सांसद विकास कोष आवश्यक छैन मात्र होइन अनुचित छ। अहिले कोभिड–१९ को सङ्कटको सन्दर्भमा यसको खर्च नभएको रकम (ज्यादै कम मात्र खर्च भएको होला) कोभिड–१९ कोषमा राखौँ र अबदेखि यो शीर्षकमा बजेट नराखौँ। यो सही छ। निर्णय गरिहालौँ,’ प्रवक्ता श्रेष्ठले ट्विटरमा लेखेका छन्।   

कोरोनाको संकटका बेला अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलबभत्ता बढाउनु पर्ने माग उठिरहेको बेला नेता श्रेष्ठले यस्तो आग्रह गरेका हुन्। प्रवक्ता श्रेष्ठले कोरोना भाइरसको संकटसँग जुध्न प्रतिपक्षीसहित सबै राजनीतिक दलसँग सरकारको समन्वय आवश्यक रहेको बताए। विपत्का बेला प्रतिपक्षीसहित सबै राजनीतिक दलको सुझाव लिन र जानकारी गराउन सरकार पछि हट्न नहुने उनको भनाइ रहेको छ।   

‘वर्तमान राष्ट्रिय संकटको सन्दर्भमा प्रमुख विपक्षी दल लगायत सबै राजनीतिक सामाजिक शक्तिहरूसँग  सरकारले समन्वय गर्नु आवश्यक छ। त्यसैले उच्चस्तरीय समन्वय समितिले यस्तो बैठकको आयोजना गरेको पनि थियो। यसलाई नियमितता दिनु उपयुक्त हुन्छ, सुझाव लिन र निर्णयहरूको औपचारिक जानकारी लिन,’ उनले भनेका छन्। 

संघीय सरकारले सांसद विकास कोषअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रलाई ६ करोड र प्रदेश सरकारले १ करोड ९२ लाख दिँदै आएका छन्। सो रकम राष्ट्रिय योजनामा नपरेका र सांसदले आवश्यक देखेका विकास योजनामा खर्च गर्ने भनिए पनि त्यसको दुरुपयोग हुँदै आएको छ। 

सङ्घीय सरकारले मात्रै २ सय ७५ वटा प्रतिनिधिसभा निर्वाचनमा वर्षेनी कूल १६ अर्व ५० करोड बजेट सांसदमार्फत खर्च गराउँदै आएको छ। उक्त शीर्षकको बजेटलाई कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका लागि खर्च गर्न नेपाली काँग्रेसका युवा नेताहरूले समेत आग्रह गरेका छन्। यसतर्फ बिहीबार एक विज्ञप्तिमार्फत उनीहरूले सरकारको ध्यानाकर्षण गराएका थिए।   

कोरोनाको संक्रमण महामारीको रूपमा विश्वभर दिनहुँ फैलिँदो क्रममा छ। १ लाख बढीको ज्यान गइसकेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म नेपालमा पनि ९ जना कोरोना संक्रमित भएको जनाएको छ। जसमध्ये एक जना उपचारपछि निको भएर घर फर्केका छन्। बाँकी ८ जना उपचारको क्रममा छन्। 

कोरोना आशंकित बिरामीहरू अस्पताल धमाधम भर्ना भइरहेका छन्। विदेशदेखि आएकाहरूलाई क्वारेन्टाइनमा राख्ने क्रम पनि जारी छ। स्वास्थ्यकर्मीहरूले दिनहुँ कोरोना परीक्षणका लागि स्वाब लिने काम गरिरहेका छन्। यससँगै परीक्षण पनि गर्दै आएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बुधवार देशवासीको नाममा सम्बोधन गर्दै २ साता कोरोना संक्रमणको लागि जोखिमपूर्ण हुने बताइसकेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *