अमेरिकी तेल बजार संकटमा, इतिहासमै पहिलो पटक मूल्य घट्यो

वैशाख ९ काठमाडौं । अमेरिकी तेलको मूल्य पहिलो पटक घटेको छ । यसको अर्थ तेल उत्पादकहरूले मे महिनामा आफूहरूको भण्डारण क्षमता सकिने डरले उक्त पदार्थ लिन खरिदकर्ताहरूलाई भुक्तानी दिइरहेका छन् । 

विश्वव्यापी रूपमै लकडाउनका कारण सर्वसाधारणहरू घरभित्रै बस्न बाध्य भएसँगै तेलको माग निकै कम भएको छ । फलस्वरूप तेल कम्पनीहरूले बढी भएको तेल भण्डारण गर्नका लागि ट्याङ्कर भाडामा लिन थालेका छन् र यसले अमेरिकी तेलको मूल्यमा नकारात्मक प्रभाव पारेको छ । 

अमेरिकी तेलको मानक वेस्ट टेक्सस इन्टरमीडिएटको प्रतिब्यारेल मूल्य माइनस ३७.६३ अमेरिकी डलरमा झरेको छ । सोमवार तेलको मूल्यमा गिरावट देखिनुमा विश्व तेल बजारको प्राविधिक पक्षको पनि भूमिका छ । 

तेलको कारोबार भविष्यको मूल्यका आधारमा गरिन्छ । मे महिनाका सम्झौताको म्याद मङ्गलवार सकिँदैछ र व्यापारीहरू तेलको थप वितरण लिएर भण्डारण खर्च गर्नबाट जोगिनका लागि आफूसँग रहेको तेल बेच्न चाहन्थे । 

जुन महिनामा पनि वेस्ट टेक्सस इन्टरमीडिएटको मूल्य कम नै थियो। तर त्यति बेला पनि प्रतिब्यारेल मूल्य २० अमेरिकी डलर थियो । यसैबीच, जुन महिनाको सम्झौताका आधारमा कारोबार भइरहेको ब्रेन्ट क्रुड भनिने अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्यमा पनि गिरावट आएको छ । 

८.९ प्रतिशतले तल झर्दै उक्त तेलको मूल्य प्रतिब्यारेल २६ अमेरिकी डलर पुगेको छ । लकडाउन जारी रहे अमेरिकामा तेलको जुन महिनाको मूल्यमा पनि गिरावट आउन सक्ने जानकारहरूले बताएका छन् । तेल उद्योग घटिरहेको माग र उत्पादकहरूबीच उत्पादन घटाउने विषयमा भइरहेको खिचातानीका बीच सङ्घर्ष गरिरहेको छ ।  

केही हप्ताअघि तेल उत्पादक देशहरूको सङ्गठन ओपेक र उक्त सङ्गठनका सहयोगीहरूबीच विश्वव्यापी रूपमा तेल उत्पादनमा करिब १० प्रतिशतले कटौती गर्ने विषयमा सहमति भएको थियो । उक्त सम्झौता तेल उत्पादनमा सहमति जनाइएको हालसम्मकै सबैभन्दा ठूलो कटौती थियो । -बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *