म कोभिड १९
तिमी झरे फुल्छु म
तिमी फुले झर्छु म
सत्य कसम तिमिमै निर्भर छु म
र त, तिमिलाई माया गर्छु म ।
म बाट जति टाढा हुन खोज
जहाँसुकै लुक्न खोज
म पच्छ्याइ रहने छु ।
शहर पस या गाउँ
पहाड चढ या तलाउ
सुनसान जंगल होस् या खुला चौर,
तारे होटल होस् या गाईको गोठ,
दिनको धुप होस् या चिसो सिरेटो,
अन्धकार रात होस् हिँड्ने गोरेटा,
जहाँसुकै होस्…
म पच्छ्याइ रहने छु ।
कुनै समय…,
म जंगली थिएँ
जनावरसँगै रमाउथेँ, पशुपंक्षीसँगै लुकामारी खेल्थेँ,
तिमीले खोजी गर्यौ र ल्यायौ
त्यसैले म मान्छेसँग रमाउने भए
अहँ, अब त छोडदिन,
म तिमीलाई पच्छ्याइ रहने छु ।
तिमी देखिहाल्छ कि भनि,
दिनको उज्यालोमा पर्दा लगाउँछौ
बत्तिले गिज्याए जस्तो लागेर राती बत्ति बुझाउँछौ ।
म त्यहीँ वरीपरी हुन्छु,
दिनमा छाँया बनेर
रातमा काया बनेर
म तिमीलाई पच्छ्याइरहन्छु ।
तर, तर…,
त्यतिबेलासम्म म
भाइरल रुघाखोकी मात्र हुनेछु
तिमी अदुवा, मरिच, तुलसीको सहारा लिनेछौ
तातो पानी र वाफ लिनेछौ
म तिमीबाट अलिपर भागेजस्तो गर्नेछु ।
जब तिमी
अरुको आँखा छल्न खोज्नेछौ
कोही देख्दैन भनेर लापरवाही हिँड्नेछौ
नछुनु भनेकोलाई सुम्सुम्याउनेछौ
नगर्नु भनेका काममा रमाउनेछौ
अनि जब
निर्धक्क, निर्बस्त्र निर्लज्जता पोख्नेछौ
म त्यही तिमीलाई
भाइरल होइन, भाइरस कोभिड १९ भएर सुम्सुम्याउनेछु ।
माया गर्नेछु र डस्नेछु ।
थाहा छ त्यसको परिणाम
तिमी जतिसुकै ढोका थुनेर बसेको भए पनि
अन्धकारमा रमाएको भए पनि
एकान्तबास बसेको भए पनि
तिमीले सहन नसक्ने ज्वोरो बनेर देखिनेछु ।
तिम्रा श्वास-प्रश्वास नलीलाई अठ्याएर राख्नेछु ।
अनि
तिमी सहारा माग्न
जीउने अभिलासाका साथ बचाइ माग्न
बाहिर आउनेछौ
सार्वजनिक हुनेछौ
डाक्टर पुलिसको निगरानीमा रहने छौ
तर एक्लै हुनेछौ…।
तिमीलाई भोक लाग्यो कि भनि सोध्ने मानिस हुने छैन,
तिमीलाई तिर्खा लाग्यो कि भनि सोध्न कोही आउने छैन ।
भगवानलाई सम्झिने छौ
आफन्त र आफ्नालाई सम्झिने छौ
र धिक्कार्ने छौ…।
दुःखमा, मर्दा, पर्दामा आफ्ना, आफ्ना भएनन्
के छ तिम्रो अवस्था सोध्न कोहि आएनन् ।
किनकी
गल्ती स्वयमले गरेका छौ,
लुकेर गरेको छौ, ढुकेर गरेको छौ ।
अरुको आँखामा छारो छ्याप्न खोज्यौ,
आफ्नै आँखा बन्द हुने गरी फ्याँक्यौ ।
मर्छु कि बाँच्छु थाहा छैन तिमीलाई
गल्छु कि जित्छु थाहा छैन तिमीलाई ।
राम्ररी बुझ…
२० भर्सन त आउन बाँकी नै छ,
म हुँ कोभिड १९ ।