लकडाउन प्रभावः हात्ती पाल्न मुस्किल

चैत १९, चितवन । ‘यस्तो बेलामा एनिमल राईट भनौदाहरु कता गएछन्, हात्ती बस्दा बस्दा हात्तीलाई नै गाह्रो हुन लाग्यो यसो भनसुन गरेर निकुञ्जमा घाँस खाने व्यवस्था मिलाई दिन्थे की !’ 

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले केही दिन अघि फेसबुक पोस्ट गरेको स्टाटस हो यो । हात्ती महोत्सवका बेला आयोजना गरिने विभिन्न क्रियाकलापमा पशु अधिकारकर्मीहरुले विरोध गर्ने चलनप्रति उनको स्टाटस लक्षित थियो ।  

‘हात्तीलाई दुःख दिएर महोत्सव गरियो भन्नेहरु आज हात्तीलाई आहार नपाउँदा किन बोल्दैनन्’, संघका अध्यक्ष भट्टराईले भने, ‘लकडाउनले धरासायी वनेको पर्यटन व्यवसायको एक पाटो हात्ती संचालन हो, तर उनीहरुलाई अहिले आहारको समस्या छ ।’ 

लकडाउनले हात्ती संचालन गर्न नपाइएको उनको गुनासो छ । ‘जंगल जाँदा उत्तै चर्थे । हरियो घाँस चाहिने हात्तीलाई अहिले स्टक रहेको धान र पराल मात्रै दिइएको छ’, भट्टराईले भने । धान र पराल मात्र खुवाउँदा सन्तुलित आहार नहुने उनको भनाइ छ । 

सौराहामा निजी हात्ती ७० वटा छन् । एक हात्तीलाई दिनमा विभिन्न किसिमका दुई सय ५० किलो खानेकुरा आवश्यक पर्छ । दैनिक २० किलो धान मात्रै आवश्यक पर्छ ।  

‘मान्छे त जसो तसो बाच्छन्’, संघका अध्यक्ष भट्टराईले भने, ‘हात्ती बचाउन मुस्किल छ, व्यवसायीलाई अहिले यसैको चिन्ता छ ।’ 

हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले लकडाउन लम्बिँदै गए हात्तीहरु खान नपाएर मर्ने अवस्था आउने बताए । भोकमरीको समस्या समाधानका लागि चितवन राष्ट्रिय निकुञ्जले कुनै निश्चित क्षेत्रमा हात्ती चराउन दिनुपर्ने तिवारी बताउँछन् ।  

सौराहा आउने पर्यटकहरुको पहिलो रोजाई हात्ती सफारी हुन गर्छ । निजी हात्तीहरु कुमरोज सामुदायिक वन, खोरसोर मध्यवर्ती क्षेत्र, चित्रसेन सामुदायिक वन र बाघमारा सामुदायिक वनमा सफारीका लागि लैजाने गरिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *