‘खेतमा पस्नु रहर होइन बाध्यता हो’

चैत्र २०, विराटनगर । सहर ! लकडाउन ! कोरोनाको त्राससँगै एकै छिन गाउँभित्रको कथा खोज्दै जाँदा खेतमा पुगेका हामी । नयाँ मान्छे देख्ना साथ खेतमा काम गर्दै गरेका किसानहरू काम गर्न रोकिए । कोरोना भाइरस सङ्क्रमणका कारण यो समय विश्वका मानव जगत् यति बेला अपत्यारिलो खाल्डोमा धकेलिएको छ । भने लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने कामदारहरू भोकमरीको त्रासले छटपटाइरहेको अवस्था छ ।   

विराटनगर महानगरपालिकादेखि २ किलोमिटर पूर्व बलुवाईको अधिकांश कृषक खेतमा पाकेका गहुँ काट्नमा व्यस्त थिए । तराईको फाँटिलो खेतमा गहुँ पाकेर पँहेलिएका दृश्यले एकै क्षण मनमोहित बनाएको थियो । बुधवार मध्य दिउँसो गाँउभरीका किसान आ–आफ्नो खतमा गहुँ काट्नमा व्यस्त । कृषकहरूलाई कोरोना त्रास भन्दा पनि धेरै दुःख गरेर लगाएको बाली बिग्रिन्छ कि भन्ने चिन्ता थियो ।   

खेतमा काम गरी रहेकी ६० वर्षिया लक्ष्मी देवी रायलाई कोरोना भाइरस भन्ने थाहा छ । उनले रेडियोमा सुनेको बताइन् । उनलाई बेलाबेला हात धुने भन्ने पनि जानकारी रहेको उनले सुनाइन् । उनले भनिन्, ‘घरबाट बाहिर नजानु भन्छन्, तर पाकेको बाली यतिकै छाड्न पनि त भएन । उनका श्रीमान् ६५ वर्षिया शिव रायले थपे, ‘खेती किसानी बाहेक अरू काम छैन, खेतमा पाकेको बाली छोडेर घरमा सुतेर बस्दा कोरोना भागे पछि के खाने ?’   

शिवले भने, ‘छोरा कारखानामा काम गर्छ सरकारले लकडाउन गरेको छ रे, ९ दिनदेखि घरमा नै बस्छ, खेतमा भएको अन्न पनि टिपिएन भने पछि के खाने ?’ 

त्यस्तै, अर्का कृषक शिव रायको खेतसँगै जोडिएको ३५ वर्षीय अजय मण्डल भन्छन्, ‘रोग लाग्छ भन्दै घर बाहिर ननिस्क भन्छन्, सरकारले के बन्दोबस्त गर्छ हामी गरिब किसानका लागि ? रोगले पनि भोगले पनि मर्ने हामी जनता नै हो ।’   

त्यसो त विराटनगर बजार क्षेत्र भन्दा भौगोलिक दुरी त्यति टाढा त होइन बलुवाई ।  ग्रामीण बस्ती साथै खेतीयोग्य जमिन भएका कारण त्यस क्षेत्रका अधिकांश जनता खेतीमा नै निर्भर रहेको अजयले बताए । उनले भने, ‘दैनिक ज्याला मजदुरी गर्ने सबै घरमा थन्किएर बसेका छन् खेती पनि गरिएन भने अन्य आयस्रोत  छैन आर्थिक पक्षमा हामीले चरम अभाव बेहोर्नु पर्ने हुन्छ । खेतमा पस्न रहर भन्दा पनि बाध्यता रहेको छ ।’  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *