मस्जिदमा बसेका १२ जनामा कोरोना देखिएपछि बस्तीमा सबैको र्‍यापिड टेस्टको तयारी

वैशाख ६, काठमाडौं। उदयपुरमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको बस्तीमा सबैको र्‍यापिड टेस्ट गरिने भएको छ। भुल्केस्थित एक मस्जिदमा रहेका १२ जनालाई कोरोना संक्रमण देखिएपछि उक्त बस्तीमा र्‍यापिड टेस्ट गरिने भएको हो।   

स्वास्थ्य कार्यालय प्रमुख डा. मोहन सुवेदी शनिबार दिउँसोबाट परीक्षण सुरू गरिने छ। आज कम्तीमा सय जनाको र्‍यापिड टेस्ट गरिने उनले बताए। बस्तीमा रहेका परिवारको एक जना सदस्यको पिसिआर परीक्षणको लागि स्वाब पनि झिक्ने तयारीसमेत गरिएको छ। 

‘विराटनगरबाट सामग्री आएपछि हामी परीक्षण सुरू गर्छौं,’ डा. सुवेदीले भने। उक्त बस्तीमा करीब साढे तीन सय घरधुरी छन्। कोरोना संक्रमित भेटिएपछि शुक्रबार रातिबाट बस्तीलाई सिल गरिएको छ। संक्रमित १२ जनालाई विराटनगरको कोरोना विशेष अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।   

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उनीहरूमा कुनै लक्षण नरहेको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन्। उनीहरुसँग अन्य चार जना मस्जिदमा बसेका थिए। तर चार जनाको नतिजा भने नेगेटिभ आएको छ। उनीहरुलाई अहिले मोरङको टाँडीस्थित क्वारेन्टाइन स्थलमा पठाइएको छ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *