कोरोनाको सक्रमण हुन नदिन खैरहनीमा थप सर्तकता

वैशाख ६, खैरहनी ।  छिमेकी राप्ती नगरपालिका ८ का दुई जनामा कोरोना भाईरसको संक्रमण भेटिएपछि खैरहनी नगरपालिकाले थप सतर्कता अपनाएको छ । 

मन्दिर, मजिस्द, गुम्वा, चर्चहरुमा यसअघि नै आवतजावत गर्न, पुजापाठ गर्न रोक लगाईएकोमा थप निगरानी बढाईने भएको छ । खैरहनी नगरस्तरीय राहत व्यवस्थापन तथा समन्वय समितिका अध्यक्ष एवंम् नगर प्रमुख लालमणि चौधरीको अध्यक्षतामा शनिबार बसेको सर्वपक्षिय बैठकले मन्दिर, मस्जिद, गुम्वा र चर्चहरुमा थप निगरानी बढाउन इलाका प्रहरी कार्यालय खैरहनीलाई अनुरोधसहितका विभिन्न निर्णय गरेको छ  । 

केही दिन अघि प्रहरीले चर्च बन्द गरेर घरगोठमा प्रार्थना गरिरहेको अवस्थामा केहीलाई नियन्त्रणमा लिएको थियो । त्यस्ता ठाउँमा अब पूर्ण रुपमा बन्देज गरि थप निगरानी बढाईने भएको हो । आकस्मिक विरामीहरुलाई स्वास्थ्य संस्थासम्म पुर्याउन एम्वुलेन्सलाई तन्दुरुस्त अवस्थामा राख्ने, कुनै चालकले अटेरी गरे, झुटो विवरण दिए वा ढाँट्ने काम गरे त्यस्तालाई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता रामशरण पाण्डेले बताए । 

त्यस्तै बैठकले र्यापिट टेष्टका लागि थप किट माग गर्ने निर्णय समेत गरेको छ । स्वास्थ्य कार्यालयसँग माग गर्ने र त्यहाँबाट प्राप्त हुन नसके नगरपालिकाले खरिद गर्ने व्यवस्था मिलाउने निर्णय भएको हो ।   

नगरपालिकाको विभिन्न स्थानमा स्थानीय व्यक्तिहरुले सवारी साधनलाई आवतजावतमा रोक लगाउन ढुंगामुढा, ह्युमपाईप, वाँस राखी बाटो अवरोध गरेको पाईएकाले त्यस्ता कार्यलाई पूर्ण रुपमा निरुत्साहित गर्ने निर्णय पनि वैठकले गरेको छ । 

वैठकमा दोश्रो चरणमा वितरण हुने राहतका विषयमा समेत छलफल भएको थियो । दोश्रो चरणको राहत वितरण यथासक्य छिटो गर्ने, वितरणका क्रममा फोटो खिच्ने, सामाजिक सञ्जालमा राख्ने जस्ता कार्यलाई रोक लगाउने वैठकले निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताए । 

वैठकमा नगर उपप्रमुख सुनिता थपलिया, विभिन्न समितिका संयोजकहरु, नेकपा नगर अध्यक्ष लक्ष्मी ढकाल, नेपाली कांग्रेस नगर सभापति शशि खनियाँ, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख, उद्योग बाणिज्य संघ खैरहनी, चितवन उद्योग संघ खैरहनी ईकाई, नेपाल चेम्वर अफ कमर्स खैरहनी र नेपाल रेडक्रस सोसाईटी खैरहनीका अध्यक्ष एवंम् प्रतिनिधीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *