सत्ता, शक्ति र धनको भ्रममा लपेटिएको व्यक्तिले समाजलाई हानि पुर्‍याउँछः प्रवक्ता श्रेष्ठ

वैशाख १, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक राहत कोषमा दिने घोषणा गरेका छन्। कोभिड–१९ र उत्पन्न संकटको सामना गरिरहेका बेला राष्ट्रिय सभाका सांसदसमेत रहेका श्रेष्ठले सोमबार सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरेका हुन्।   

राष्ट्रिय सभाको सदस्यको हैसियतका प्राप्त हुने एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा र बाँकी दश महिनाको पारिश्रमिक भने विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने श्रेष्ठले बताए।   

‘हामी अहिले कोभिड–१९ र उत्पन्न सङ्कटको सामना गरिरहेका छौँ। यसबेला एकताबद्ध भई आआफ्नो ठाउँबाट भूमिका खेल्नु जरुरी छ,’ ट्विटमा श्रेष्ठले भनेका छन्, ‘यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक वर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड–१९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गर्दछु।’ 

पद प्रतिष्ठा, सत्ता शक्ति र धन सम्पत्तिको  क्षणिक सुखलाई सत्य, ठिक र न्यायको पक्षधरताबाट मिल्ने आनन्दभन्दा बढी महत्त्वको ठान्ने भ्रमले धेरैलाई लपेटेको उनको भनाइ छ। उनले लेखेका छन्, ‘पद प्रतिष्ठा, सत्ता शक्ति र धन सम्पत्तिको क्षणिक सुखलाई सत्य, ठिक र न्यायको पक्षधरताबाट मिल्ने आनन्द भन्दा बढी महत्त्वको ठान्ने भ्रमले लपेटेको छ धेरैलाई। त्यसले व्यक्ति र समाजलाई हानि पुर्‍याइरहेको छ। बुझौँ, अन्ततः दोस्रोले नै समाज र मानव जातीलाई अगाडी बढाइरहेको छ, प्रगति र मुक्तिको दिशामा।’ 

प्रवक्ता श्रेष्ठले अस्तित्व र सत्यसँग एकाकार हुने क्रममा मात्र व्यक्ति मुक्ति उन्मुख, सामाजिक मुक्तिमा कर्मनिष्ठ र आनन्दित हुनसक्ने बताए। ‘जन्म र मृत्युबीचको अवधिमा बाँच्नु मात्र जीवन होइन। यद्यपि जीवन जीउनका लागि बाँच्नुपर्दछ। तर बाँच्दैमा मानव भइँदैन। पशु पनि बाँचेकै हुन्छ। मानव जीवन त मुक्ति यात्रा हो। आफ्नो अस्तित्व र सत्यसँग एकाकार हुने क्रममा मात्र व्यक्ति मुक्ति उन्मुख, सामाजिक मुक्तिमा कर्मनिष्ठ र आनन्दित हुनसक्छ,’ उनले ट्विटरमा लेखेका छन्।   

नयाँ वर्ष २०७७ को अवसरमा ‘गति र आनन्दमय दीर्घ जीवनको शुभकामना’ दिँदै प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘हामी सबै मिलेर कोभिड–१९ माथि विजय प्राप्त गर्न र राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको सुदृढीकरण एवं सामाजिक न्यायसहितको समृद्धिको लक्ष हासिल गर्न सकौं।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *