भारतीय तरकारी व्यापारीका कारण धरानको कृषि बजार आजबाट एक साता बन्द गरीयो

बैशाख ३, काठमाडौं । धरानको कृषि उपज बजार स्थल एक साताका लागि बन्द गरिएको छ । धरान तथा पहाडी क्षेत्रबाट आउने कृषि उत्पादनहरुको विक्रिवितरणको प्रमुख स्थल लकडाउनका कारण एक साताका लागि बन्द गरिएको हो ।   

लकडाउनमा सरकारले अतिआवश्यक र दैनिक उपभोग्य वस्तुहरुको विक्रिवितरणमा केही खुकुलो पारेपनि धरानमा भने कृषि उपज बजार स्थल नै बन्द गर्दा उपभोक्ताहरु मारमा पर्ने देखिएको छ । खासगरी दैनिक उपभोग हुने हरिया साग सब्जी विक्रिवितरण बन्द हुँदा कृषक र उपभोक्ता नै समस्या भएको हो ।   

सब्जी आयातको क्रममा भारतीय व्यापारीहरु धरान भित्रिने क्रम बढेपछि मंगलबार धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा धरान नगर स्तरीय तरकारी आपुर्ति उपसमितिको आकस्मिक बैठकले सो निर्णय गरेको थियो । जस अनुसार आजबाट एक साताका लागि धरानको कृषि उपज बजार स्थल बन्द भएको छ ।   

बैठकले एकसाता पछि उपभोक्ताको आवश्यक्ता अनुसार कृषि बजार खोल्ने वा बन्दलाई निरन्तरता दिने भनेर पुनर्विचार गर्ने निर्णय गरेको कृषि उपज बजार स्थलका पदेन सदस्य तथा १३ नम्वर वडाका अध्यक्ष नेत्रप्रसाद काफ्ले बताए । ‘तरकारी खरिदविक्रि गर्न भारतीय ब्यापारीहरुको आवतजावत बढेकाले कोरोना भाइरसको जोखिम बढ्यो । लकडाउनलाई प्रभावकारी बनाउन र भारतीयहरुको आवतजावत रोक्न पनि कृषि उपज बजार स्थल बन्द गर्नुपरेको हो ।’ काफ्लेले भने ।   

काफलेका अनुसार आज (बुधबार) बिहान ९ बजे सम्म कृषि बजारमा रहेका हरियो साग सब्जी बिक्रि वितरणकालागि खुल्ला गरिएको थियो । अब बजार आउँदो बुधबार मात्र खुल्नेछ । 

कृषि उपज बजार बन्द गरेपनि धरानबासीको घरमा तरकारी अभाव नहुने बताउँदै वडाध्यक्ष काफ्लेले कसैको घरमा तरकारी पाक्नै छाडेमा बजार स्थलले नै होम डेलिभरी दिने जनाए । कृषि बजारले हिजोबाटै धरान बाहिरबाट तरकारी ल्याउने गाडीहरुलाई पास दिन बन्द समेत गरिसकेको छ । 

गएको सोमबार मात्रै भारतबाट आएका एक तरकारी व्यापारीमा कोरोनाको संकेत भेटिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएर उनको स्वास्थ्य परिक्षण गरि फुश्रेस्थित क्वारेन्टाईनमा राखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *