काेभिड-१९ ले ल्याएकाे तरंगः आकाश खुलेका छन्, चराहरू चिर्विराउँदै छन्
सन् २०२० सम्म आइपुग्दा विश्वले विज्ञान र प्रविधिमा निकै ठुलो फड्को मार्दा मानिसको जीवन प्रविधिमय बन्न पुगेको छ । यस्तो अत्याधुनिक वैज्ञानिक युगमा पनि यस्तो रोग अझ भनौ विश्व नै त्रसित तुल्याउने महामारीको जन्म हुन पुग्यो जस्को नाम रहन गयो कोरोना भाइरस अर्थात् कोभिड–१९ ।
एसिया महादेशको विकसित देश छिमेकी राष्ट्र चीनको वुहान शहरमा जन्मेको भाइरसबाट संक्रमित नभएका देश विश्वमा सायदै होलान् । सन् २०१९ को अन्त्यतिर पहिलो पटक मानव जातिमा देखा परेको यो भाइरसले २०२० को मध्य अप्रिलसम्म आइपुग्दा विश्वभरका करिब २१० देशका १ लाख ६० हजारभन्दा बढीको ज्यान लिइसकेको छ भने २२ लाख ४८ हजारभन्दा बढीलाई संक्रमित तुल्याएको छ ।
हाम्रो देश नेपालमा कोरोना भाइरसका कारण हालसम्म ३१ जना संक्रमित भएका छन् । यस विरुद्द कुनै खोप वा औषधी हालसम्म पत्ता नलागेको कारण संक्रमण फैलिन नदिन मुलुक नै लकडाउनको घोषणा गरिएको छ । सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन आज एक महिना वितिसक्दा पनि जारी रहँदा सर्वसाधारणको दैनिकी अत्यन्त कष्टकर बन्दै गएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै वैशाख १५ गते खुल्ने भनिएको लकडाउन अनिश्चित जस्तै भएको छ । नेपाल संक्रमणको उच्च जोखिममा रहेकोले लकडाउन लम्बिने अनुमान लगाउन सकिन्छ ।
लकडाउनका कारण सबै जसो क्षेत्रहरुमा प्रत्यक्षपरोक्ष असर परेको छ । एकातिर यो वर्षको (२०७६) विद्यार्थी जीवनको फलामे ढोका मानिने एसईई परीक्षा स्थगित भएको छ भने अर्कातर्फ कक्षा १–१० सम्मको २०७७ सालको नयाँ शैक्षिक सत्र कहिले सुरु हुने कुनै टुङ्गाे छैन ।
यो त भयो शिक्षा क्षेत्रको कुरा, देशको अर्थतन्त्रको त कुरै छोडौं, पुरै ओरालो लागिसक्यो, सधैं रेमिट्यान्सको भरमा चलिरहेको हाम्रो देश अब कुन स्थितिमा पुग्ला ? कृषि क्षेत्रमा पनि कोरोना भाइरसका कारण ठुलो हानी व्यहोर्नुपर्ने अवस्था छ । किसानले दिन रात, घामपानी केहिको पर्वाह नगरी पसिना बगाएर उब्जाएका, फलाएका तरकारी र फलफुलले बजार नपाएर तिनै किसान आफ्नो परिश्रम सडकमा फाल्न बाध्य छन् । दूध व्यवसायी मुटुमाथि ढुङ्गा राखी सडकमै दूधको खोला बगाउने स्थितिमा पुगेका छन् ।
कोरोनाले विश्वलाई जकडिरहेको बर्तमान अवस्थामा जनतालाई प्रत्यक्ष रुपमा सेवा प्रदान गर्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको भूमिका प्रशंसनीय छ । कोरोनाका बिरामीको औषधी उपचार अनि स्याहार सुसारमा दिनरात खटिएका डाक्टर नर्सहरुलाई राज्यले कोरोना भाइरसबाट बच्न आधारभूत सुरक्षा सामग्री समेत नदिएको समाचार सुन्दा चैं दुखः लागेको छ । उनीहरुको त्याग अनि तत्परता देख्दा लाग्छ उनीहरुले आफ्नो देशका नागरिकको सेवा गर्नका निम्ति आफ्नो ज्यानकै बाजी लगाएका छन् अनि आफ्नो घर परिवार नै बिर्सिएका छन् । तर, जिवननै जोखिममा पारेर जनताको स्वास्थ्य प्रति दत्तचित्त भएका डाक्टर नर्सप्रति राज्यले गर्ने ब्यवहार चैं कि यस्तो ?
देशको शान्ति सुरक्षाका लागि हरदम तत्पर सुरक्षाकर्मीेहरु लकडाउनका बखत अत्यावश्यक बाहेक अन्य कामका लागि घरबाट बाहिर निस्किएका जनतालाई घरभित्रै बस्न आग्रह गर्दै दिनभर भोकै सडकमै तैनाथ छन् । भने, कतिपय स्थानमा सुरक्षाकर्मी स्वयंले खान नपाएर भौतारिरहेकालाई उद्दार गर्दै गरेको दृश्य ह्दयविदारक लाग्छ । यहि बेला कतिपय स्थानमा यीनै सुरक्षाकर्मीहरु सर्वसाधारण प्रति कठोर बनेर लाठी बर्साएको दृश्यपनि देखिन्छ जुन पेशागत हिसाबले शोभनीय हैन ।
कोरोना भाइरसले आक्रान्त विश्व यतिबेला मौन छ, शुन्यता छाएको छ सबैतिर । सडकमा गाडी गुड्न छाडेको महिना दिन भइसक्यो । उद्योग, कलकारखानाहरु बन्द छन् । दैनिक ज्यालादारीमा काम गर्ने विपन्न वर्ग र मजदुर श्रमिकहरु भोकै सुतिरहेका छन् । यो सबै हेर्दा लाग्छ कोरोना भाइरसले दोस्रो विश्वयुद्ध भन्दापनि भयानक अवस्था निम्त्याएको छ ।
भनिन्छ, विध्वंसपछि विकासको नयाँ अध्याय शुरु हुन्छ । कोरोनाको कहरले विश्व आतंकित बन्दै लकडाउनमा रहँदा विश्वकै इकोसिष्टममा परिवर्तनका केही नयाँ आयाम देखा परेका छन् । यतिबेला पृथ्वीको तापक्रम घट्दो छ । आकाश खुलेको छ । प्रदुषण शुन्यमा झरेको छ । चारैतिर शान्ति छ, धुलो धुवाँ र प्रदुषणबाट आम सर्वसाधारण मात्र हैन पृथ्वीकै चराचर जगत मुक्त भइरहेको छ । चराहरु चिर्विराउँदैछन् । ओजोन तह भरिँदैछ । यो सबै हेर्दा लाग्छ, कतै प्रकृतिले नै विश्वको इकोसिष्टमलाई सन्तुलनमा ल्याउनकै लागि कोरोना जन्माएको त हैन ? वास्तवमा कोरोना प्रकृतिले जन्माएको नभइ हामी मानव जातिले नै जन्माएको हो । हामीले हाम्रो प्रकृतिलाई संरक्षण गर्न नसक्दा कोरोना, स्वाइन फ्लु, इबोला जस्ता महामारी फैलिएका हुन् ।
अब हामीले कोरोना जस्ता महामारीबाट जोगिन र त्यस्ता संक्रमण निम्तन नदिन प्रकृतिको संरक्षणमा पनि विशेष ध्यान दिन जरुरी छ । र, कोरोना भाइरस (कोभिड १९) जस्ता मानव सभ्यतामाथि प्रहार हुने भाइरसका विरुद्ध विश्व नै एक जुट हुन आवश्यक छ ।
अन्तमा, लकडाउनको पूर्ण पालना गरौं, घरमै सुरक्षित रहौं, स्वस्थ रहौं ।