सुदूरपश्चिममा कोरोना त्रास बढ्यो, आन्तरिक सीमामा कडाइ

चैत्र २३, धनगढी। सुदूरपश्चिम प्रदेशमा शनिबार तीन जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएपछि थप सतर्कता अपनाइएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन यहाँ उच्च सतर्कता उपनाइएको हो। भारत र चीनसँग जोडिएका सुदूरपश्चिम प्रदेशका सीमा नाकामा थप कडाइ गरिएको छ।   

एकै दिन तीन जनामा कोरोना देखिएपछि यहाँका आन्तरिक (जिल्ला र स्थानीय तहका) सीमा क्षेत्रमा पनि कडाइ गरिएको छ। सरकारले अत्यावश्यक काम बाहेक एक जिल्लाबाट अर्का जिल्ला र एक स्थानीय तहदेखि अर्को स्थानीय तहमा प्रवेश गर्न नदिने निर्णय गरेसँगै यहाँका आन्तरिक सीमामा थप कडाइ गरिएको हो। 

आन्तरिक सीमा क्षेत्रमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको छ। सुदूरपश्चिमको प्रवेशद्वार चिसापानी, कैलालीको गोदावरी नगरपालिकाको चौकीडाँडा, डोटीसँग जोडिएको फल्टुडे, बर्दियासँग सीमा जोडिएको राजापुरमा विशेष सुरक्षा टोली परिचालन गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।   

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले अत्यावश्यक काम बाहेक कसैलाई पनि जिल्लाका सीमाबाट आवतजावत गर्न नदिइएको बताए। जिल्लाका सीमा मात्रै नभएर स्थानीय तहका सीमामा पनि आवतजावतमा कडाइ गरिएको छ।   

अन्य दिनको तुलनामा आज सडकमा मानिसहरूको आवतजावत कम छ। शनिबार संक्रमित युवकको परिवारका सदस्य, भारतबाट फर्किएका कैलाली लम्कीचुहा नगरपालिकाका युवक र कञ्चनपुरका अर्का युवक गरी थप तीन जनामा कोरोना देखिएको थियो।   

एक वडाबाट अर्को वडामा जान बन्द 

कैलालीको गोदावरी नगरपालिकामा एक वडाबाट अर्को वडामा जानसमेत बन्द गरिएको छ। नगरपालिकाले आज सूचना जारी गर्दै नगरभित्र एक वडाबाट अर्को वडामा जान नपाउने निर्णय गरेको हो।   

कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले गरेको लकडाउनलाई प्रभावकारी बनाउन नगरपालिकाले यस्तो निर्णय लिएको नगर प्रमुख हरिसिंह साउदले बताए। उनले एक वडाबाट अर्को वडामा जानै परे नगरपालिकासँग समन्वय गर्न अनुरोध गरे।   

सुदूरपश्चिममै सबैभन्दा बढी जोखिम भएको क्षेत्र गोदावरी नगरपालिका भएकाले यस क्षेत्रमा अझै उच्च सतर्कता अपनाउन आवश्यक रहेको उनले बताए। गोदावरीको सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार पनि हो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *