अध्यादेश जारीपछि राजनीतिमा नयाँ तरंग : कांग्रेसको आकस्मिक बैठक

वैशाख ९, काठमाडौं । केहि समयदेखि सुस्त रहेको नेपाली राजनीति फेरी तरंगीत भएको छ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै राजनीतिमा नयाँ तरंग आएको हो ।   

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि राजनीतिक अस्थिरताका लागि बाटो खोल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गराएका हुन् । यसको सत्तारुढ नेकपा र विपक्षी दलबाट आलोचना भएको छ । कोरोना महामारीविरुद्ध देश एकजुट भएर संघर्ष गर्नुपर्ने वेला सरकार टुटफुटको राजनीतिमा लागेकोमा धेरैले आलोचना गरेका हुन् । 

अध्यादेशअनुसार अब संसदीय दल वा केन्द्रीय समितिमध्ये कुनै एकमा ४० प्रतिशत मत पुर्‍याए दल विभाजन गर्न सकिनेछ । विद्यमान राजनीतिक दलसम्बन्धी ऐनमा संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुर्‍याउनुपर्ने प्रावधान थियो । 

सोमबार अपराह्न साढे तीन बजे सकिएको मन्त्रिपरिषद् बैठकको निर्णयलगत्तै दुवै अध्यादेश राष्ट्रपति कार्यालय गएका थिए । मुख्यसचिव र कानुनसचिवले प्रस्ताव पुर्‍याएको १५ मिनेटमै राष्ट्रपतिले अध्यादेश जारी गरेकी छिन् ।   

विधेयक पारित भएमा भविष्यमा अरू दल फुट्ने आधार पनि तयार हुनेछ । त्यो अवस्थामा अहिले समाजवादी र राजपा मात्र होइन, भविष्यमा सत्तारुढ नेकपा स्वयं वा विपक्षी कांग्रेसलाई पनि विभाजित हुने मैदान बन्नेछ ।   

कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक   

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मुुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल बोलाएको पार्टीको पदाधिकारीको बैठक जारी छ ।  पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा सरकारले सोमबार दुई अध्यादेश जारी गरेको सम्बन्धमा छलफल भइरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

कोरोनाको सङ्क्रमणसँग पूरै विश्व एक भएर लडिरहेका बेला सरकारले सोमबार संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश जारी गरेकोप्रति काँग्रेसले गम्भीर असहमति प्रकट गरिसकेको छ ।   

सरकारको उक्त कदमपछि कसरी अघि बढ्ने भन्ने सम्बन्धमा बैठकमा छलफल हुने बताइएको छ । सभापति देउवाले सोमबार नै एक वक्तव्यमार्फत विधेयक तत्काल फिर्ता लिन माग गर्दै  कोरोनाबाट जनताको जीवनरक्षामा सम्पूर्णरूपले केन्द्रित हुन सरकारलाई अपिलसमेत गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *