‘लकडाउन’को बेला धरानमा सिकारी र तस्कर सक्रिय

वैशाख ३, धरान। नेपालमा कोरोना भाइरस महामारीको जोखिम कम गर्न घोषित लकडाउनको मौका छोपेर धरानको दक्षिणी क्षेत्रमा वन्यजन्तुको अवैध सिकार तथा काठ तस्करी बढेको छ।   

लकडाउनको समयमा सुरक्षा निकाय र प्रशासनको आँखा छलेर यहाँ अवैध सिकारी तथा काठ र वन पैदावार तस्करी बढेको हो। धरानका वन समूहका पदाधिकारीहरूका अनुसार सिकारीहरूसँग हतियार हुने भएकोले उनीहरू तस्करीमा सक्रिय हुने गरेको छन्।   

अहिले लकडाउनको कारण समूह बनाएर वनमा गस्ती गर्न नसकिने भएकोले पनि धरानको वनमा समस्या भएको बाझगरा वन समूहका उपाध्यक्ष कुमार भारतीले जानकारी दिए। सिकारीहरूले वन्यजन्तुको सिकार मात्र गर्ने नभएर वनमा डढेलो पनि लगाउने गरेको वन समूहका सदस्यहरूको गुनासो गरे।   

सामुदायिक वनबाट काठ तस्करी : छुटाउन सांसदको दबाब

वनमा वन्यजन्तुको सिकार भइरहेको बारेमा वन कार्यालयहरू जानकार भए पनि लकडाउन तथा आवश्यक स्रोत साधन र जनशक्तिको अभावले वनमा सुरक्षा निगरानी बढाउन नसकिएको वन कार्यालयका कर्मचारीहरूको भनाई छ।   

पञ्चकन्या सब डिभिजन वन कार्यालय धरानका रेन्जर ईश्वरी बास्तोलाका अनुसार एक साता अघि २ नाल बन्दुकसहित एक व्यक्ति पक्राउ परेका थिए। पक्राउ पर्ने धरान १५ का निमा तामाङ रहेका छन्। तामाङलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरीले इलाका प्रहरी कार्यालय धरानमा पठाएको छ।   

हातहतियार तथा खरखजना मुद्दा सकेपछि वन्यजन्तु संरक्षण ऐनअन्तर्गत पुनः मुद्दा चलाउन वनलाई बुझाउने गरी प्रहरीलाई जिम्मा लगाएको बास्तोलाले जानकारी दिए।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *