गरिब विपन्नलाई खाद्यान्न बाँड्दै धनगढी उपमहानगर

चैत्र २०, धनगढी। लकडाउनका कारण साँझ बिहान छाक टार्न समस्या भएका नगर क्षेत्रका गरिब विपन्नलाई धनगढी उपमहानगरपालिकाले खाद्यान्न वितरण गरिरहेको छ। उपमहानगरपालिकाले यो अभियान मङ्गलवारदेखि नै सुरु गरेको हो। 

छाक टार्न समस्या भएका व्यक्ति र परिवारहरूलाई वडा तहबाट नै राहत स्वरूप चामल, दाल, तेल, नुन, तरकारी वितरण गर्न थालेको नगरप्रमुख नृपबहादुर वडले बताए। उनकाअनुसार राहत वितरणका लागि वडाहरूमा अध्यक्षको संयोजकत्वमा सर्वदलीय/सर्वपक्षीय समिति गठन गरिएको छ।  समितिमार्फत लकडाउनका कारण छाक टार्न समस्या भएकाहरूको विवरण सङ्कलन गरेर खाद्यान्न वितरण गर्न थालिएको छ। खाद्यान्न वितरण कार्यक्रम अन्तर्गत बिहीबार उपमहानगरको वडा नम्बर ८ र ५ मा राहत वितरण गरिएको छ। यसरी अन्य वडाहरूमा पनि राहत वितरण गर्ने काम भइरहेको नगरप्रमुख वडले बताए। 

धनगढी उप–महानगरपालिका वडा नं ८ का अध्यक्ष नारायण प्रसाद बरालले लकडाउनका कारण छाक नै चल्न नसकेका दुई सय परिवारलाई राहत स्वरूपको खाद्यान्न वितरण गरिएको बताए। अहिले वितरण गरिएको खाद्यान्न अपुग भए सोही विवरणका आधारमा फेरि पनि खाद्यान्न वितरण गरिने नगरस्तरीय विपद् व्यवस्थापन समितिले जनाएको छ। 

सहयोग जुट्दै 

लकडाउनका कारण छाक टार्न समस्यामा परेका मजदुरका लागि भन्दै उपमहानगरपालिकालाई सहयोग गर्ने सहयोगी हातहरू थपिँदै गएका छन्। उपमहानगरपालिकाले एक द्वारमार्फत राहत वितरण गरिरहेकाले सहयोगी दाताहरूले उपमहानगरपालिकालाई सहयोग बुझाइरहेका छन्। यसक्रममा बिहीबार धनगढीस्थित बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिले उपमहानगरपालिकालाई खाद्यान्न सामग्री उपलब्ध गराएको छ। 

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका सचिव पदमराज जोशीलगायतको टिमले खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो। सचिव जोशीका अनुसार चामल ४८ कट्टा, आलु सात कट्टा, नुन दुई कट्टा नगर स्तरीय विपद् व्यवस्थापन समितिलाई बुझाइएको छ। 

 नगरप्रमुख नृपबहादुर वडले प्राप्त भएको खाद्यान्नलाई छाक टार्न समस्या भइरहेका मजदुरलाई सहयोग पुग्ने गरी सहयोग गर्ने बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समिति सबै धन्यवादको पात्र भएको  बताए। बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका सचिव जोशीले अप्ठेरो अवस्थामा सबैलाई यसरी नै मानवीयता सम्झेर सहयोग गरिदिन अनुरोध गरे।   

धनगढीमा रहेको हिमशिखर सहकारी संस्थाले पनि मजदुरी गरेर खाने वर्गका लागि भन्दै खाद्यान्न सहयोग गरेको छ। संस्थाले २० कट्टा चामल र ५ पेटी खाने तेल धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरेको हो। खाद्यान्न संस्थाका उपाध्यक्ष रोशन सिंह र प्रबन्धक महेन्द्र शाहीले हस्तान्तरण गरेका थिए। 

त्यसै गरी, धनगढीकै सिवाकोटी राई एण्ड फ्लोर मिलका सञ्चालक सरिता भण्डारी र किशन सिंह भण्डारीले पाँच कट्टा चामल, १० किलो दाल, दुई कट्टा सोयाबिन, एक पेटी तेल, एक बोरा नुन उपमहानगरपालिकालाई हस्तान्तरण गरेका छन्। 

वडाध्यक्षले गरे व्यक्तिगत सहयोग 

धनगढी उप–महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष दीपककुमार थापा क्षेत्रीले दैनिक मजदुरी गरेर छाक टार्ने मजदुर, सुत्केरी महिला र अनाथलाई व्यक्तिगत रूपमा खाद्यान्न सहयोग गरेका छन्। 

वडाध्यक्ष थापाले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरे। नगरप्रमुख वडका अनुसार थापाले २१ कट्टा चामल, ५० किलो दाल, ३ बोरी सोयाविन, १ बोरी नुन, २ पेटी तेल हस्तान्तरण छन्।   

नगरप्रमुख वडले उहाँले व्यक्तिगत रूपमा गरेको सहयोगले गाउँपालिकामा लडाउनका कारण छाक टार्न समस्या भएका मजदुर, सुत्केरी महिला र अनाथकाको चुलोमा आगो बाल्नमा सहयोग पुग्ने बताए। वडाध्यक्ष थापाले लामो कलडाउनले कमजोर वर्गहरू समस्यामा परेकाले आफूले व्यक्तिगत रूपमा सहयोग गरेको बताए।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *