वैशाख २१ गतेसम्म लम्ब्याइयो भारतमा लकडाउन
वैशाख २, काठमाडौं। भारतले लकडाउन अवधि लम्ब्याएको छ। मंगलबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीको नाममा सम्बोधन गर्दै लकडाउन अवधि मे ३ (वैशाख २१) सम्म थप गरिएको जानकारी दिए।
सबै पक्षसँगको छलफलपछि लकडाउन तीन साता बढाउने निर्णय गरिएको मोदीले बताए। यसअघि घोषणा गरिएको तीन हप्ते लकडाउन बुधबार सकिँदै छ। उनले कोरोना भाइरसको महामारीविरुद्ध लड्न लकडाउनको विकल्प नभएको बताए।
पहिलेभन्दा अझ बढी सतर्कता अपनाउन भारतीय प्रधानमन्त्री मोदीले आम नागरिकलाई आग्रह गरेका छन्। उनले अबको एक हप्ता कोरोना संक्रमित व्यक्तिको पहिचानको लागि तीव्र अभियान सञ्चालन गर्ने जानकारी दिए। उनले अप्रिल २० सम्म भारतका सबै राज्यमा तीव्ररुपमा अभियान सञ्चालन गरी कोरोना संक्रमितको पहिचान गरिने बताए।
अबको लकडाउन अझ कठोर बनाइने उनले बताए। गरिब तथा विपन्न परिवारका लागि सरकारले छुट्टै निर्देशिका जारी गर्न लागेको उनले बताए। निरन्तर लकडाउनले त्यस्ता परिवारहरुको हालत सरकारले महसुस गरेको भन्दै मोदीले निर्देशिका जारी गरी समस्याको समाधान गर्न बताए।
उनले भारतमा खाद्यान्नको भण्डार भरिपूर्ण रहेको हुँदा संयमित अपनाउन आफ्ना नागरिकहरुलाई आग्रह गरे। उनले लकडाउनको पालना गरिदिन सबैसँग आग्रहसमेत गरे। भारतमा सोमबारसम्म १० हजार बढी कोरोना संक्रमित भेटिएका छन् भने ३ सय ५८ जनाको मृत्यु भएको छ।