स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टा नहुने !

वैशाख ८, काठमाडौं । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टा गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।  

प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीनदेखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको चौतर्फी रुपमा विरोध भएको थियो ।  

विरोधपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा उपचार कोषमा कट्टा नगर्न निर्देशन दिएको हो । सोही निर्णय बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित निकायलाई तलब कट्टा नगर्न पत्राचार गरिसकेको छ । 

प्रहरीको तलब काट्ने निर्णय सरकारले यसअघि पनि नगरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।  

चैत्र २६ गते बसेको प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी महानिरीक्षक (आईजीपी) सम्मको तीनदेखि सात दिनसम्मको तलब कट्टा गरी कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।  

प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागले एक विज्ञप्ति जारी गर्दै वैशाख महिनाको तलबबाट कट्टा गरी तत्काल वाणिज्य बैंकमा रहेको कोषको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न गराउन निर्देशन दिएको थियो ।  

तलब कट्टा गर्ने नै भए काम नभएर घरमा आराम गरेर बसेका निजामति, शिक्षक, सांसदलगायत तलब बुझ्नेको काट्दा सकारात्मक सन्देश जाने भन्दै प्रहरी कर्मचारीको तलब काटेर अर्को गलत निर्णय भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *