कोरोना रोकथाम गर्न सुरक्षा र सहयोग बढाउँदै नेपाल रेडक्रस साेसाइटी

बैशाख २, काठमाडाैं । विश्वनै काेराेना भाइरसकाे संक्रमणबाट गुज्रिइरहेकाे बेला नेपाल रेडक्रस साेसाइटीले आपतकालीन सेवालाई तिब्रता दिएकाे छ । कोभिड–१९ रोकथाम र प्रतिकार्यको लागि नेपाल रेडक्रसले आपतकालीन सेवालाई सजगताका साथ तिब्रता दिएको हाे ।   

सोसाइटीका सवै निकायहरु र शाखाहरुले सामुदायिक परिचालन तथा क्वारेन्टाइनमा सहयोग गरेका छन् । देशभरीका क्वारेन्टाइन क्षेत्रमा संस्थाबाट  तीन  हजार चार सय ८९ कम्मल, दुइ हजार दुइ सय तारपोलिन र टेन्ट, एक हजार एक सय ४२ बाल्टी र जग, पाँच हजार एक सय साबुन, एक हजार पाँच सय तीनवटा म्याट्रेस, दुइ सय ५३ तन्ना, एक हजार दुइ सय झुल लगायतको सामाग्री सहयोग उपलव्ध गराइएको रेडक्रस नेपालले जनाएकाे छ । देश भरीमा गरिएका सेवाको दैनिक अपडेट सम्बन्धित अधिकारीहरुलाई दिइएको छ र अहिलेसम्म ४९ वटा अपडेट प्रकाशन गरिएको छ ।   

नेपाल रेडक्रस साेसाइटीका उपमहामन्त्री हरि प्रसाद न्यौपानेले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयसँग निकटमा रही सन् २०२० को जनवरीदेखि कोरोना भाइरसको प्रतिकार्य र रोकथाममा रेडक्रसले काम गर्दै आएको बताए । काेराेनाकाे समस्या सुरु हुने वित्तिकै रेडक्रस आपत्कालीन अपरेसन सेन्टरलाई सक्रिय बनाइएकाे थियाे । सोही अनुसार जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, रेडक्रसका अन्तर्राष्ट्रिय महासँघ, यूएन, लगायतका निकायसँग आवश्यक समन्वय गरी काम भइरहेको न्याैपानेले बताए । 

रेडक्रसका युवा स्वयंसेवकरु सक्रियः 

समुदायमा चेतना कार्यक्रम, स्थानीय संघ सस्थाहरूसँग बैठक, सूचना, शिक्षा तथा सञ्चार सामग्रीको वितरण, एफ एम रेडियो मार्फत् समुदायलाई आवश्यक सही सूचनाहरू प्रचारप्रसार गतिविधिहरुमा रेडक्रसका युवा स्वयंसेवकहरु परिचालित भएका छन् । अग्रपंतिका स्वयंसेवकहरुले हात धुने अभियान, जानकारी पत्र वितरण, माइकिङ, औषधि छर्ने, मास्कहरुको वितरण गर्ने, जस्ता कामहरु लकडाउनमा पनि स्थानीय निकायहरुको सहकार्यमा गरिरहेका छन् ।   

यस्तो गतिविधिबाट एक लाख ४२ हजार ५६ जना प्रत्यक्ष लाभान्वित भएका छन् । पाँच लाख १८ हजार थान पम्प्लेट, फ्लेक्स र स्टीकरहरु वितरण गरिएको छ । अस्पताल र क्वारेन्टाइनका हेल्प डेक्समा नाै सय १४ जना स्वयंसेवकहरु खटिएका छन् । त्यस्तै हात धुने अभ्यास शिक्षा दुइ हजार २२ जनालाई दिइएको छ भने मनोवैज्ञानिक सहयोग आवश्यक परेका ८१ जनालाई टेलिफोनमार्फत् गरिएको छ ।   

भावी कार्यक्रमबारे नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले क्षतिको रोकथाम तथा नियन्त्रण गर्न मद्दत पुर्याउने गरी प्रतिकार्य गतिविधिको कार्यविधि र कार्ययोजना नै तयार भैसकेको बताए । सामुदायिक आवश्यकता र संलग्नताको अवधारणा बमोजिम जनचेतनामूलक र सहयोग कार्यक्रमहरु केन्द्रदेखि जिल्लास्तरमा सञ्चालन हुने ढकालकाे भनाइ छ । 

स्रोतको उपलव्धता अनुसार तनहुँ, कास्की, ललितपुर लगायतका जिल्लामा अपांगता भएका, अति विपन्न परिवारलाई रेडक्रसले खाद्यान्न सहयोग गरेको छ । नेरेसोको निःशुल्क हटलाईन् ११३० सञ्चालन गरिएको छ जसमा लकडाउन पछि १७५ कलको सम्बोधन गरिएको छ । त्यस्तै मनोबैज्ञानिक समस्या, महिला तथा बालबालिका हिंसा विषयमा परामर्शको लागि छुट्टै दक्ष समूह बनाइएको छ । 

विभिन्न तरिकाले फैलिएको अफवाह वा भ्रम कम गराई मानसिक दवाव, पीडा, डरका साथै समुदायमा हुनसक्ने हेयभाव कम गराउन तर्फपनि वेभ, सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन जस्ता माध्यमबाट सञ्चार भइरहेको छ । कोभिड सचेतनाका विविध विषयलाई समेटिने गरी २५ वटा रेडियो कार्यक्रम विभिन्न एफएम स्टेशनबाट प्रसारित भैसकेका छन् । 

युवालाई थप सक्रिय बनाउन सामाजिक सञ्जाल स्वयं सेवा समूहलाई सक्रिय बनाइएको छ र यो “NRCS Social Media Volunteers on COVID-19” मा ७५० वढी स्वयंसेवकहरु आवद्ध भैसकेका छन् । 

सहयोगका साथै व्यक्तिगत सुरक्षाको प्रवन्ध 

अस्पताल तथा स्वास्थ्य डेस्कमा रेडक्रस स्वयंसेवक र कर्मचारीहरुले देशका विभिन्न हव अस्पतालका हेल्प डेक्समा सहयोग गरिरहेका छन् । यसैवीच थप सजगता अपनाउन केन्द्रीय कार्यालय लगायत सवै कार्यस्थलमा प्रवेश गर्ने कर्मचारी तथा स्वयंसेवकको तापक्रम नाप गर्ने, गेटबाट पस्ने वित्तिकै हात धुने, बैठक बस्नै परेमा दुरी कायम गर्ने उपायहरु अवलम्बन गरिएको छ । रक्तसञ्चार केन्द्रमा रगतको मागको लागि आउने विरामीका आफन्तहरुलाई पनि यस्तै सुरक्षाका उपायहरु अपनाइएका छन् । ३४२ परिवारलाई सरसफाई किट उपलव्ध गराइएको छ । 

देशभरीमा ३०० जना रक्तसञ्चार सेवामा कार्यरत कर्मचारी र २४० एम्बुलेन्स चालकहरुलाई फूलबडी गाउन उपलव्ध गराइएको छ । समुदायको सहयोगको लागि एक लाख एक सय मास्क र ग्लोब वितरण गरिएको छ । जिल्ला जिल्लामा कोभिड १९ मा खटिने स्वयंसेवकलाई दुर शिक्षाबाट प्रविधिको प्रयोगबाट तालिम दिइएको छ । १०० जना एम्बुलेन्स चालकलाई शुरक्षा सम्बन्धी दुर शिक्षाबाट जानकारी दिइएको छ । 

काभ्रे र सिन्धुपाल्चोकमा चल्ने सवै संस्थाका एम्बुलेन्सको compartment रेडक्रसकाे अगुवाइमा भैरहेको छ । धनुषा, कञ्चनपुरमा शाखा आफैको पहलमा र कतिपयमा सरकार वा समितिको सहयोगमा सो काम भैरहेको छ । 

शव व्यवस्थापनमा सहयोगः 

रेडक्रसले नेपाल प्रहरीको विपत् व्यवस्थापन विभागलाई १५० थान शव व्यवस्थापन व्याग उपलव्ध गराएकाे छ । त्यस्तै धुलिखेल अस्पताललाई ५० वटा तथा नेपाली सेनालाई ५० वटा व्याग दिइएको छ । पारिवारिक सम्पर्क स्थापना, कैदीबन्दीहरु लाई सहयोग, मनोसामाजिक परामर्श तथा सहयोग जस्ता क्षेत्रमा काम गरी जीवन सहज बनाउन रेडक्रसकर्मीहरु खटिएका छन् । केन्द्रीय कारागारमा १० थान टेन्ट उपलव्ध गराईएको छ । 

जिल्लाहरुको विशेष सहयोग 

रेडक्रस भक्तपुर शाखाले जिल्लाका ४ वटा हरेक नगरपालिकालाई एक एक लाख नगद सहयोग उपलव्ध गराएको छ । 

निर्देशिकाहरु तयारीः 

रेडक्रसले अहिले काम गर्ने तरीकालाई निर्देशित गर्न COVID-19 response Guideline तयार गरी निकायहरुमा पठाएको छ । यसले रेडक्रसका विभिन्न निकायहरु र स्वयंसेवकको भूमिका प्रष्ट पारेको छ । त्यस्तै संक्रमण रोकथामको लागि चाल्नुपर्ने व्यवहारिक कदमको लागि Infection, prevention and control (IPC) guideline  तयारी गरिएको छ । यसैगरी पारिबारिक सम्पर्कको पुनर्स्थापनाको लागि निर्देशिका पनि तयार पारिएकाे रेडक्रसले जनाएकाे छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *