कोरोना जितेकी युवती भन्छिन्: ‘धैर्यताका साथ बस्नुहोस्, कोरोना निको हुन्छ’
वैशाख ६, काठमाडौं। कोरोना भाइरसको उपचारपछि शनिवार अस्पतालबाट डिस्चार्ज भएकी १९ वर्षीया युवतीले कोरोना संक्रमित बिमारीहरूलाई धैर्यताका साथ बस्न सुझाव दिएकी छन्। अस्पतालबाट डिस्चार्ज भएपछि स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा उनले उपचारमा केही समय लागे पनि केयर पुगिरहेको छ भने कोरोनाबाट निको हुने बताइन्।
‘अन्य संक्रमितलाई धैर्यताका साथ बस्नुहोला भन्न चाहन्छु। मेरो पनि यो एकचोटी ठिक भएको कुरो हैन। मेरो पनि लगातार परीक्षण गरेपछि नेगेटिभ आएको हो। केही समय लाग्ला तर केयर पुगिरहेको छ भने धेरै आत्तिनुपर्ने कुरो हैन। यसका लक्षणहरू नै मनलाई अत्याउने खाले रैछन्। श्वास फेर्न गाह्रो हुने लगायत लक्षणहरू भए पनि कृपया आत्मबल बढाउनुहोला। आफ्नो केयर गर्नुहोस्। ठिक चाहिँ हुनुहुनेछ,’ उनले उपचारका क्रममा भोगेका अनुभव सुनाइन्।
उनले नेपालमा हाल कोरोनाको गम्भीर विरामी नदेखिएको तर भविष्यमा कुनै सिकिस्त विरामी देखिएमा यसको उपचारको लागि आफ्नो रगतको प्लाजमा दिन तयार रहेको बताएकी छिन्। ‘यो मेरो लागि ठूलो मौका हो। निको भएसँगै मेरो शरीरको प्लाजमामा एन्टीबडी रहेको छ। आवश्यक परेको अवस्थामा म मेरो प्लाजमा दान गर्न तयार छु। भविष्यमा कुनै गम्भीर बिरामी देखिएमा उनीहरुलाई मेरो प्लाजमाले सहयोग गरोस्,’ उनले भनिन्।
कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएकाहरूको रगतमा भाइरस विरुद्धका एन्टीबडी हुने हुनाले तिनको प्लाज्मा अरू बिरामीको निम्ति सहायक हुने ठानिन्छ। अस्पतालबाट डिस्चार्ज भएपछि उनले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘म घर आइसकेपछि आइसोलेसनमा बसेको थिए। घर आएको चौथो दिनमा मेरो भियतनामी साथीले आफूलाई कोभिड-१९ पोजेटिभ देखियो भनेको भएर म पनि परीक्षण गरिहालौं भनेर त्यही दिन नै म टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आएकी थिए। त्यस बेला मेरो खासै लक्षणहरु देखिएको थिएन। स्वाब निकालिएको दुई दिनपछि रिपोर्ट आउँदा म पनि कोभिड पोजेटिभ देखिए। यसरी म पनि नेपालकै दोस्रो कोभिड-१९(कोरोना) पोजेटिभ केश हुन पुगे।’
उनले अस्पताल आएको एक दुई दिनपछि मात्र आफूमा लक्षण देखिएको समेत बताएकी छन्। उनले संक्रमित अवस्थामा आफ्नो स्वास्थ्यमा देखिएका लक्षणबारे भनिन्, ‘मलाई श्वास फेर्न अप्ठ्यारो भएको थियो। पेटमा दुखाइ, खोकी लाग्थ्यो र थकाई चाहिँ एकदम चाँडै लाग्थ्यो।’ उनले सञ्चार माध्यमसँग कोरोना भाइरसबारे गलत सूचना सम्प्रषण नगर्नसमेत अनुरोध गरिन्।
उनले आफ्नो उपचारमा खटिएका चिकित्सकप्रति आभार प्रकट गरेकी छन्। उपचारका क्रममा डाक्टर, नर्स सबैले आफ्नो राम्रो रेखदेख गरेको उनले बताइन्। उनले अस्पतालले दिएको सेवाबाट आफू एकदमै सन्तुष्ट रहेको समेत बताइन्। आफूले उपचारका क्रममा राम्रो सेवा सुविधा पाएको उल्लेख गर्दै उनले यस्तो सेवा सुविधा नपुगेको ठाउँमा सेवा सुविधा पुर्याउन सरकारसँग अनुरोध पनि गरिन्। साथै उनले कोरोनाबाट बच्न सतर्कता अपनाउन आग्रह पनि गरिन्।
कोरोना भाइरसको रिपोर्ट लगातार नेगेटिभ आएपछि शनिवार उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको डिस्चार्ज गरेको थियो। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवती २७ दिनपछि शनिवार अस्पतालबाट घर फर्किएकी हुन्।