लकडाउनः जसले राजेशकाे पेसा नै बदल्यो !

वैशाख ७, विराटनगर । कोरोना संक्रमणको बढ्दो जोखिम अनि लकडाउन । सुनसान सडक, जहाँ ठेला गुडाउँदै थिए राजेश महतो । 

सधैँजसो संसारी माईस्थान क्षेत्रमा पुच्का (पानीपुरी) को ठेला लिएर बस्ने महत्तोकोे पेसा बद्लिएको छ । लकडाउनले उनको दशकौंदेखिको पेसामा लक लाग्यो, जसकारण तरकारी व्यापारी बने ।  

पुच्का बेच्ने ठेला ठेल्दै हिँड्ने उनी तरकारी लिएर गल्ली–गल्ली चहार्न थालेका छन् अचेल । लकडाउनले पेसा नै परिवर्तन गर्नुपर्ने परिस्थिती आएको उनले सुनाए । 

राजेशले भने, ‘घरमा श्रीमती छिन्, नाबालक छोराछोरी छन् । उनीहरुकै लागि भए पनि दुःख गर्नैपर्यो । पकेटमा भएसम्म त जसोतसो घर खर्च चलाएँ, अब त पकेट पनि रित्तियो । अनि के गर्नु बाहिर ननिस्किएर ?’ 

उनले केही समयसम्म त आफूसँग भएको पैसाले घर खर्च चलाए । लकडाउन खुल्न समय लागेसँगै घरमा चुलो बल्न छोड्ला भन्ने चिन्ताले  ९ दिन भयाे तरकारी बिक्री गर्न सुरु गरेको ।  

उनी जस्तै सधैँ जलजला चोकको फुटपाथमा रेडिमेट कपडा बेच्न राख्ने राजकुमार गुप्ता (नाम परिवर्तन) अहिले मास्कको व्यापार गर्छन् । कोरोना संक्रमणको हल्ला चल्न थालेसँगै मास्क बेच्न सुरु गरेका हुन् ।  

सरकारले लकडाउनको घोषणा गरेसँगै सडकमा कपडा बेच्न नपाएपछि मास्क मात्रै बेच्न थालेकाे उनले बताए । उनी भन्छन्– ‘जसोतसो घरखर्च त धान्नै पर्यो, पैसा हुनेले पो जोहो गर्छन्, हामीसँग पैसा छैन के गर्नु ?’ 

बेच्नका लागि साहुकोबाट ल्याएको कपडा उनले डेरामा नै थन्काएका छन् । गरिआएको पेसा नै थन्किएपछि लकडाउन नखुलुन्जे मास्क बेचेर नै परिवारको पेट पाल्ने उनले बताए । 

उनलाई कोरोना भाइरस के हो भन्ने पनि थाहा छ, कोरोनाले कयौँ मान्छेको मृत्यु भएको समाचार टिभिमा हेरेर, सुनेर थाहा पाएका छन् । तर रोगको भन्दा भोकको चिन्ताले जित्यो र व्यापारमा निस्किए ।  

लकडाउन खुल्ने समयको प्रतिक्षामा छन् उनी, र घरिघरी प्रश्न गरिरहन्छन्– ‘अब लकडाउन कहिले खुल्छ ?’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *