लकडाउन थपिएपछि भारतमा मजदुरले पोखे आक्रोश, निस्किए सडकमा !
वैशाख २, काठमाडौं । भारतमा लकडाउन लम्बिएसँगै भारतीय मजदुरहरु आक्रोशित भएका छन् । पीएम मोदीले वैशाख २१ गते (मे ३) सम्म लकडाउन लम्ब्याइएको घोषणा गरेसँगै मजदुरहरु आक्रोशित भएका हुन् ।
लकडाउन थपेकै दिन आज (मंगलबार) हजारौं मजदुरहरु सडकमा निस्किएका छन् । मंगलबार साँझ मुम्बईको बान्द्रा रेलवे स्टेशनमा उत्तर प्रदेशलगायत ठाउँबाट गएका आप्रवासी मजदुरले प्रदर्शन गर्दै आफूले घर जान पाउनुपर्ने माग समेत राखेका छन् । उनीहरु आफ्नो घर फर्कन चाहन्छन् ।
भारतीय समय अनुसार करिब साढे ४ बजेदेखि मजदुरहरु बान्द्रा स्टेशनमा जम्मा भएका थिए । त्यसरी जम्मा भएका मजदुरहरुलाई हटाउनका लागि प्रहरुले लाठीचार्ज गर्नुपरेको थियो ।
प्रहरीले पहिले सम्झाउने कोशिस गरेपनि मजदुरहरु शान्त नभएपछि लाठीचार्ज गरेको भारतीय सञ्चार माध्यम दैनिक जागरणले उल्लेख गरेको छ । कारवाहीपछि अहिले भीड कम भएको बताइएको छ ।
भारतमा हालसम्म काेराेना भाइरसकाे संक्रमणबाट ३५३ जनाकाे मृत्यु भएकाे छ भने १० हजार ८ सय १५ जना संक्रमित भएका छन् ।