अब उपत्यकाका दैनिक ज्यालादारी र विपन्न वर्गले ३० केजी चामल पाउने, सूचि सहित

चैत्र २१, काठमाडौं । उपत्यकाका स्थानीय निकायहरुले विपन्न तथा ज्यालादारी मजदुरका परिवारलाई ३० किलोग्राम चामल उपलब्ध गराउने भएका छन् । उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकाका ज्यालादारी मजदुर र विपन्न परिवारलाई ३० किलोग्राम चामल राहत उपलब्ध गराउने निर्णय गरेका हुन् ।   

कोरोना भाइरसका कारण डेढ सातादेखि मुलुक लकडाउन हुँदा दैनिक ज्यालादारीमा काम गरी खाने वर्गलाई हातमुख जोर्न नै धौधौ भएको भन्दै फोरमले उक्त निर्णय गरेको जनाएको छ ।   

फोरमको हिजो बिहीबार बसेको बैठकले ज्यालादारी मजदुर र विपन्न परिवारको राहत वितरण मापदण्ड समेत तय गरेको छ । जस अनुसार फोरम, काठमाडौंले अर्थमन्त्रालयको मापदण्डअनुसार विवरण अभिलेख राखी ३ जनादेखि माथिको परिवारलाई ३० केजी चामल, ३ केजी दाल र २ प्याकेट नुनलगायत ६ किसिमका उपभोग्य वस्तु राहत स्वरुप उपलब्ध गराउने भएको छ ।   

यसैगरी २ जनासम्मको परिवारले भने १५ केजी चामल, १.५ केजी दाल र १ प्याकेट नुनलगायतका राहत पाउने छन् । फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यकीय सेवा उपलब्ध गराउने पसल सञ्चालन गर्न दिने निर्णय समेत गरेको छ । बिक्रेता र ग्राहकबीच न्यूनतम १ मिटरको दूरी कायम गर्नेगरी फोरमले पसल सञ्चालन गर्न दिने निर्णय जनाएको छ । 

बैठकले आपूर्ति तथा राहत व्यवस्थापनका लागि वडाध्यक्षको संयोजकत्वमा स्थानीय सुरक्षा निकायसहितको कमिटी गठन गर्ने निर्णय गरेको छ । उक्त समितिले संघीय सांसद् तथा प्रदेशसभाका सांसदहरूसँग समन्वय गरी स्थानीय प्रशासनको रोहबर र सहजीकरणमा राहत वितरण गर्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *