कोरोना भाइरस : यी खानेकुराले बढाउँछ रोग प्रतिरोधी क्षमता
वैशाख ६, काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणपछि मृत्युको जोखिम त्यस्ता व्यक्तिमा बढी हुन्छ जसको रोगसँग लड्ने क्षमता अर्थात् रोग प्रतिरोधी क्षमता कम हुन्छ । त्यसैले पनि वृद्धवृद्धालाई बढी जोखिमको पङ्क्तिमा राखिएको छ ।
वृद्धवृद्धा मात्रै होइन, धुमपान, मद्यपान गर्ने तथा दम लगायत अन्य रोगीहरू पनि कोरोनाको जोखिममा छन् । धुमपान, मद्यपानले फोक्सोमा सङ्क्रमण हुन्छ, यो भाइरसले पनि अन्तिम समयमा फोक्सोमा नै सङ्क्रमण गर्छ र श्वासप्रश्वासमा समस्या पैदा गर्छ । जस कारण बिरामीको मृत्यु हुने जोखिम बढी हुन्छ, जसको फोक्सो स्वस्थ छैन र प्रतिरक्षा प्रणाली कमजोर छ ।
जब प्रतिरक्षा प्रणाली बलियो बन्छ, तब मानिसलाई रोगको सङ्क्रमण हुन नपाउने पोषणविद् केपी लम्साल बताउँछन् । ‘सामान्यतया रोग प्रतिरोधी प्रणाली एन्टिबडिहरु, रक्तकोषिकाहरु, प्रोटिन तथा अन्य विभिन्न रसायनद्वारा बाह्य सङ्क्रमण रोक्न बनेको हाम्रो शरीरभित्रको फौज हो । शरीरको सङ्क्रमणसँग लड्ने क्षमता मजबुत बनाउन खानपान र जीवनशैलीकै भूमिका हुन्छ’, उनले भने ।
अमिला प्रजातिका फलफूल, ग्रिन टि, बेसार, लसुन, प्रोटिनयुक्त खानेकुराहरूले रोग प्रतिरोधी क्षमता बढाउने उनको भनाइ छ ।
यस्ता छन् शरीरको रोग प्रतिरोधी क्षमता बढाउने खानेकुराहरुः
अमिला प्रजातिका फलफूलहरू
अमिला प्रजातिका फलफूलहरू जस्तैः कागती, अमला, किवी, जुनार, अम्बा, लिची, मेवा, स्ट्रबेरी जस्ता फलहरू तथा ब्रोकाउली, पालुङ्गो आदिमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ ।
भिटामिन सीले हाम्रो रोग प्रतिरोधी क्षमता (इम्युनिटि) बढाउने भएकाले यसलाई इम्युन भिटामिन पनि भनिन्छ । भिटामिन सी एक शक्तिशाली रसायन हो, जसले कोषहरूलाई स्वस्थ राख्न र बाहिरी सङ्क्रमणसँग लड्न चाहिने एन्टिबडिहरुको स्वास्थ्यलाई राम्रो बनाउँदछ ।
यसले कोषहरूमा अक्सिडेटिभ तनाव कम गर्न तथा एन्टि अक्सिडेन्ट रूपमा पनि भूमिका खेल्दछ । भिटामिन ‘सी’ले शरीरमा लिम्फो साइट र फागोसाइट उत्पादन गर्न तथा फ्रिरेडिकलको आक्रमणबाट बचाई यिनको कार्य क्षमता बढाउन मद्दत गर्दछ ।
सेतो रक्तकोषिकाहरु हाम्रो इम्युन प्रणालीको अभिन्न अङ्ग हुन् । भिटामिन ‘सी’ले छालाको डिफेन्स प्रणालीलाई पनि मजबुत बनाउँछ ।
अध्ययनहरूले घाउ निको हुने समय घटाउनमा पनि यसको भूमिका हुने देखाएका छन् । भिटामिन सीले रक्तचाप सन्तुलन राख्न, मुटु स्वस्थ राख्न तथा शरीरमा खानाबाट आउने आइरन सोस्न पनि मद्दत गर्दछ ।
लसुन, अदुवा र बेसारः प्राकृतिक एन्टिबायोटिक
प्राकृतिक एन्टिबायोटिक जीवाणुको सामान्य सङ्क्रमण निस्तेज पार्ने गुण भएकाले लसुन, अदुवा, बेसार जस्ता मसलालाई प्राकृतिक एन्टिबायोटिक भनिन्छ ।
अनुसन्धानहरूका अनुसार लसुनमा एलिसिन जस्ता सल्फर भएका रसायन हुन्छन् । जसले प्रतिरोधी क्षमता बढाउन मद्दत गर्दछ । लसुनले रक्तसञ्चार सन्तुलनमा राख्न र धमनीहरू स्वस्थ राख्न पनि मद्दत गर्दछ । त्यस्तै अदुवामा हुने जिन्जेरोल जस्ता रसायनले दुखाई कम गराउने तथा शरीरलाई स्फूर्त राख्न सहयोग गर्दछ ।
खानेकुरा पहेँलो बनाउन हालिने प्राकृतिक रङ्ग बेसारले खानालाई आकर्षक मात्र बनाउँदैन । यसमा हुने कुर्कुमिनजस्ता रसायनले बाहिरी सङ्क्रमण निस्तेज पार्न र कोषहरूको क्षयीकरण रोक्न भूमिका खेल्दछ ।
तर अहिले सामाजिक सञ्जालमा चर्चामा आएजस्तो लसुन, अदुवा खादा कोरोना नै नलाग्ने भन्ने चाहिँ भ्रम हो ।
ग्रिन टि
चियामा हुने फ्लाभोनोइड, इपिग्यालेक्याटोचिन जस्ता रसायनहरू शक्तिशाली एन्टिअक्सिडेन्ट हुन् जसले कोषलाई क्षयीकरण हुनबाट बचाउँछ ।
यस्तै ग्रिन टिमा हुने इपिग्यालेक्याटोचिनले रोग प्रतिरोधी क्षमता बढाउने विभिन्न अध्ययनले पुष्टि गरेका छन् । ग्रिनटिमा हुने एल–थियानिनले हाम्रो टि–सेलमा जीवाणुसँग लड्ने क्षमता बढाउँछ ।
स्वस्थ प्रोटिन भएका खानाहरू
हाम्रो रोग प्रतिरोधी प्रणालीका लागि नभई नहुने लिम्फो साइडहरूको उत्पादनका लागि एमिनोएसिड नभई हुँदैन ।
एमिनोएसिड प्रोटिनको सानो रूप हो । बदाम, आल्मण्ड, काजु, चना, टुसा उमारिएका गेडागुडी, अण्डा, माछा, मासु प्रोटिनका श्रोत हुन् ।
पशुपंक्षीजन्य श्रोतबाट पनि भाइरस आउन सक्ने भएकाले माछा, मासु, अण्डा खादा भने राम्ररी पकाएर मात्र खानुपर्दछ ।
भिटामिन ‘इ’ भएका खाना
भिटामिन ‘इ’ मा हुने एन्टिअक्सिडेन्ट गुणले कोषको क्षयीकरण रोक्ने तथा छालालाई पनि स्वस्थ राख्ने भएकाले यसलाई सुन्दरी भिटामिन (ब्युटीभिटामिन) पनि भनिन्छ ।
गाढा हरियो रङ्गका सागपातहरू, सूर्यमुखीको बियाँ ओखर, बदामजस्ता नट्सहरु, एभोकाडो, ब्रोकाउली, पालुङ्गो आदि यसका प्रमुख श्रोत हुन् ।
भिटामिन ‘बि६’ भएका खाना
पाइरोडोक्सिनको नामले पनि चिनिने भिटामिन ‘बि६’ शरीरमा हुने कयौँ रसायनिक प्रतिक्रियामा संलग्न हुने भिटामिन हो ।
राता रक्तकोषिकाहरुको उत्पादनमा पनि यसको ठुलो भूमिका हुन्छ । सूर्यमुखीको बियाँ, पिस्ता, चिकेन, माछा, अण्डा, चना, केराउ, तोफु, सखरखण्ड, दूध आदिमा यस्तो भिटामिन पाइन्छ ।
प्रोबायोटिकयुक्त खाना
विभिन्न अध्ययनहरूका अनुसार प्रोबायोटिकले पेटमा भएको रिसेप्टरहरुको नियमनमार्फत् डेन्टिटिककोष, म्याक्रोफेज, टिरबिलिम्फोसाइडलाई सन्तुलनमा राखी रोग प्रतिरोधी क्षमता (इनेट तथा एडब्टि भइम्युनिटि) बढाउँछ ।
पाचन प्रणालीको स्वास्थ्यका लागि पनि फाइदाकर मानिने प्रोबायोटिकका श्रोतहरू प्रोबायोटिक दही, चीज, फर्मेन्टेसन गरिएका खानाहरू जस्तैकी नेमा (लिम्बु जातीको परम्परागत खाना), गुन्द्रुक, किम्चि, मिसो, टेम्पे आदि हुन् ।
यसका साथै मनतातो पानी पिइरहने, पोषिलो, झोलिलो सुप पिइरहने तथा चिन्तामुक्त रहने जस्ता व्यवहारले पनि रोग प्रतिरोधी क्षमता कायम राख्दछ ।
अति प्रशोधित तथा अस्वस्थकर खाने कुराको उपभोगले रोगसँग लड्ने क्षमता मात्र घटाउँदैन विभिन्न खालका प्राणघातक रोगहरू पनि लगाउँछ ।