असगर अलीको कम्पनीले साइट ‘ह्याक’ गरेकोमा माग्याे माफीः प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्–’षड्यन्त्रपूर्ण चालबाजी !

चैत्र २१, काठमाडौं । दुई दिनअघि प्रधानमन्त्रीको आइटी सल्लाहकार अस्गर अलीको समूहले काठमाडौँबाट सञ्चालित ‘काठमाडौं प्रेस’ नामक अनलाइन न्युज पोर्टल  ‘ह्याक’ गरेको आरोप लाग्यो ।  

उक्त आरोप काठमाडौँ प्रेसका प्रधान सम्पादक कसमस विश्वकर्माले लगाएका हुन् । अस्गर अलीको समूहले आफ्नो वेभसाइट ह्याक गर्दै उनी विरुद्ध आएको समाचार हटाएको प्रधान सम्पादक विश्वकर्माको भनाइ थियो ।  

मङ्गलबार काठमाडौँ प्रेसले  ‘महङ्गोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारको छोराको संलग्नता’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । उक्त समाचारमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीको समेत संलग्नता रहेको समाचारमा उल्लेख थियो ।  

मंगलबार समाचार प्रकाशित गरिसकेपछि बुधबार सिरान टेक्नोलोजीज तथा मूल कम्पनी एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले फोन गर्दै समाचार हटाउन सम्पादकलाई दबाब दिएको काठमाडौं प्रेसले जनाएको छ । तर काठमाडौँ प्रेसले उक्त समाचार हटाउन नसकिने र समाचारमा चित्त नबुझे कानुनी उपचार खोज्न सुझाव दिएको थियो ।  

सम्पादकले समाचार नहटाउने अडान कायमै राखेपछि उक्त कम्पनीले साइट ह्याक गरी समाचार डिलेट गरेको प्रधान सम्पादक विश्वकर्माको भनाइ छ । यसबारे अनुसन्धान भइरहेको काठमाडौं प्रेसले जनाएको छ ।  

बिहीबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले एक अनलाइनमा प्रकाशित समाचार हटाइएकोबारे छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरे ।  

यस्तै, सम्पादकहरूले केही अनलाइन समाचार साइट बन्द गराउन प्रेस काउन्सिलले गरेको सिफारिस संविधानको मर्मविपरीत भएको निष्कर्ष निकाल्दै २१ जना सम्पादकहरूले एक विज्ञप्ति जारी गरी काठमाडौंप्रेस डटकमको समाचार हटाइएको विषयमा छानबिन गर्न माग गरेका हुन् ।  

सरकारको यस्तो कदमले प्रेस स्वतन्त्रता खुम्चने सम्पादकहरूको भनाइ थियो । प्रेस काउन्सिल वा अन्य कुनै निकायले कानुन बाहिर गएर सूचना प्रवाहमा रोक लगाउन नमिल्ने आमसञ्चार तथा पत्रकारिताका विज्ञहरु बताउँछन् । 

नेपाल पत्रकार महासंघले पनि बिहीबार नै एक विज्ञप्ति जारी गरी उक्त विषयमा छानबिन हुनुपर्ने माग गर्यो । ‘महासंघ राज्यको जिम्मेवार निकायबाट भएको प्रेस स्वतन्त्रताविरोधी यस्तो कार्यको कडा शब्दमा भत्र्सना गर्दछ र घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दछ’ महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तीमा भनिएको छ । 

लगतै हिजो बिहीबार नै काठमाडौँ प्रेसको वेभ डेभलपर सिरान टेक्नोलोजीजले गल्ती स्वीकार गर्दै माफी माग्यो । सिरानटेकको तर्फबाट सिइओ सुवास शर्माले आफ्नो ट्वीटरमार्फत् प्रेस विज्ञप्ति जारी गरी गल्ती भएको भन्दै माफी मागेका हुन् ।  

सिरान टेक्नोलोजी अस्गर अली सञ्चालक रहेको एफ वान सफ्टको भगिनी कम्पनी हो । यो कम्पनीमा अस्गर अली, विश्वास ढकाल लगायत ५ जनाको शेयर स्वामित्व रहेको छ । काठमाडौं प्रेसको एडमिन बनाउनेदेखि डेभलपमेण्टको सबै काम सिरान टेक्नोलोजीजले गरिरहेको छ । 

’काठमाडौं प्रेसको वेबसाइटबाट केही समयका लागि अनपेक्षित रूपमा समाचार हटेको घटनामा हामी क्षमाप्रार्थी छौं,’ सिरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘एउटा जिम्मेवार कम्पनीका रूपमा हामी हाम्रो त्रुटि स्वीकार गर्दै काठमाडौं प्रेस, सम्पूर्ण प्रेस जगत, हाम्रा शुभचिन्तकसँग क्षमायाचना गर्छौं ।’ 

यद्यपी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने सरकारलाई दोष लगाउनेगरी गर्न खोजिएको प्रोपोगाण्डा भनेका छन् ।  

सामाजिक सञ्जाल फेसबुकमा एक लामो पोष्ट गर्दै उनले समाचार डिलेट गरिएको भन्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै पत्रकार महासंघले जारी गरेको वक्तव्य सरासर झूठ, बेइमानीपूर्ण र तथ्यहीन रहेको दाबी गरे ।  

स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सामग्री खरिदसम्बन्धी रद्द भइसकेको विषयमा प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारहरू वा उनीहरुका सरोकार नै नभएका छोराहरूलाई जबर्जस्ती र तथ्यहीन ढंगले तान्ने र बदनाम गर्ने षड्यन्त्रपूर्ण चालबाजी, उपक्रम र रवैया खेदजनक रहेको उनको भनाइ छ ।   

सामाजिक सञ्जालमा राखिएको उनको धारणा जस्ताको तस्तै 

काठमाडौं प्रेस डट कम र त्यसको कुनै समाचार हटाइएको भन्ने कथित प्रकरणमा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टको नाममा आज जारी विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसमा सम्मानीय प्रधानमन्त्रीज्यूको सचिवालय वा सरकारलाई दोष लगाउनेगरी गर्न खोजिएको प्रोपोगण्डालाई हामी खारेज गर्दछौं । यो वक्तव्य सरासर झूठ, बेइमानीपूर्ण र तथ्यहीन रहेको स्पष्ट छ । र, यसबारेमा निम्न तथ्य थप प्रष्ट गर्दछौंः  

१. स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सामग्री खरिदसम्बन्धी रद्द भइसकेको विषयमा जे निर्णय भएको थियो वा छ, त्यसको स्पष्ट जवाफदेहिता बहन गर्ने निकाय र अधिकारीहरू संलग्न नै छन् । त्यसमा सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालय र सल्लाहकारहरू वा उहाँहरूका सरोकार नै नभएका छोराहरूलाई जबर्जस्ती र तथ्यहीन ढंगले तान्ने र बदनाम गर्ने षड्यन्त्रपूर्ण  चालबाजी, उपक्रम र रवैया खेदजनक छ । यसको जति भर्त्सना गरे पनि कम हुन्छ । यस षडयन्त्रमा को–को संलग्न छन् ? यो सब किन गरिएको छ ? क–कसले यसमा लगानी गरेका छन् ? क–कसको शुरूदेखि अन्तिमसम्म नै सक्रियता र दौडधुप छ ? यो कुनै लुकेको कुरा छैन र हामी राम्रो जानकारी राख्दछौं । यसमा प्रधानमन्त्रीको सचिवालयका हामी र असम्बन्धित सन्तानहरू समेतलाई तानेर दुष्प्रचार गर्नुको नियत बुझिएकै छ । हामीलाई षडयन्त्रकारीहरूजस्तै यस्ता हरकतहरूको पछाडि लाग्ने कुनै फुर्सद छैन । बरू आफ्ना नियमित  र परिभाषित कार्यमा व्यस्त रहेको पनि स्पष्ट गर्न चाहन्छौं । 

२.पत्रकार महासंघले उक्त समाचार हटाउन राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारले दबाब दिएको भनेर वक्तव्यमा जसरी भनेको छ,  त्यसमा कुनै सत्यता छैन, बरू अत्यन्त हास्यास्पद र गैरजिम्मेवार छ । यो छाता संस्थाको गुटगत र निहीत स्वार्थमा नांगो दुरूपयोग मात्रै हो ।  

३. मैले काठमाडौ प्रेसका प्रधानसम्पादक  कसमस विश्वकर्माजीसँग टेलिफोनमा कुरा गरेको थिएँ र समाचारमा उपप्रधानमन्त्री र मुख्य सल्लाहकार अथवा जोसुकैका बारेमा लेख्न पनि तथ्य र प्रमाण नै चाहिन्छ, अझ राज्य संचालनसँग कुनै सरोकार र मतलब नभएका तथा स्वास्थ्य उपकरण खरिदसँग केही चासो र जानकारीसमेत नभएका उहाँहरूका छोराहरूलाई जोडेर संप्रेषित समाचारको परपीडनकारी उद्देश्यबारे चासो अवश्य राखेको थिएँ। मैले समाचार हटाउनेबारे कुनै कुरासम्म कहिल्यै गरेको नै थिइनँ ।  

बरू यस षड्यन्त्रका संलग्न व्यक्तिहरू, तिनको उद्देश्य र विषयवस्तुबारे कुराकानी भएको हो । भोलिपल्ट समाचार हेर्दा हटेको देखेपछि कसमसजीलाई नै किन क्षमायाचनाको सार्वजनिक सूचना नगरी हटाउनुभयो भन्ने जिज्ञासा मैले नै राखेको थिएँ । उहाँले कसरी हट्यो बुझ्दैछु भन्नुभएको थियो । मुख्य सल्लाहकारज्यूको त कसैसँग यसबारेमा टेलिफोन संवादसम्म भएको छैन।  

४. अनि हामीले कसरी श्रव्य वा दृश्य, मौखिक वा लिखित र टेलिफोन कुन माध्यमबाट कसलाई दबाब दियौं ? यसको प्रमाण प्रस्तुत गर्न, अन्यथा छायाँयुद्दको तथाकथित मोर्चा सिर्जना गर्ने दाउपेच, षड्यन्त्र र भ्रमको खेतीमा नलाग्न समयमै सचेत गराउन चाहन्छौं ।  

५. पत्रकार महासंघ अहिले त्यहाँ कार्यरत पदाधिकारीहरूको मात्र संगठन होइन। त्यसमा हाम्रो रगत, पसिना र उरवर युवावय समय लगानी भएको छ। आज त्यसको नेतृत्वमा रहेको कोही व्यक्तिभन्दा हामीले स्वतन्त्रताको संघर्षमा कम योगदान गरेका  छैनौं । र, कसैले हामीलाई स्वतन्त्रताको शिक्षा दिने धृष्टता पनि गरिरहनु आवश्यक छैन । सबैका खुट्टी र हैसियत देखेरै हामी यहाँ क्रियाशील छौं । खासमा यो सबै सदस्यहरूको संगठन हो । र, कार्यकाल सकिएर महाधिवेशनको सम्मुखमा उभिएको यस संगठनको लेटरप्याड  र संस्थागत हैसियत दुरूपयोग गरी आफ्ना आकांक्षाहरूको तुष्टिकरणमा नलाग्न संलग्न व्यक्तिहरूलाई समयमै सचेत  हुन र अविलम्ब माफी माग्न ध्यानाकर्षण गर्दछौं । 

६. अहिलेको स्वतन्त्रता, संविधान र राज्य संरचना हामी स्वयंले पनि संघर्ष गरेर स्थापित गरेको तथ्य सम्बद्ध सबैको जानकारीका लागि विनम्रतापूर्वक राख्न चाहन्छौं । हामी अरूले स्थापना गरिदिएको राज्य प्रणालीका उपभोक्ता भएजस्तो व्यवहार गर्ने र हावामा मुक्का चलाएर हिड्ने धृष्टता कसैबाट पनि नगरियोस् । हामी तथ्यको आधारमा सत्यको पक्षमा निरन्तर लडाई गरेर नै समाजलाई स्वच्छ, पारदर्शी, अझ लोकतान्त्रिक, न्यायपूर्ण र समानतामा आधारित बनाउन राजनीतिमा सक्रिय नैदछौं । जोकसैका अनुचित आरोप, दुष्प्रचार र षडयन्त्रको विधिसम्मत मुकाबिला गर्न हामी सक्षम पनि छौं । कुनै गलत र षडयन्त्रपूर्ण तौरतरिका वा बलप्रयोगप्रति हाम्रो कहिल्यै पनि विश्वास रहेन र छैन । त्यस्तो तरिकाले सम्माननीय प्रधानमन्त्रीज्यूलाई कमजोर  बनाउन सकिन्छ कि भन्ने कसैलाई लागेको छ र त्यही दुर्नियतका साथ यो सबै गरेर हामीलाई अनावश्यक विवादमा तान्ने वा आफ्नो करियर बनाउन तल्लीन राजनीति वा यस्ता कुनै सार्वजिक जिम्मेवारीसँग हाल शतप्रतिशत नै सरोकार नराख्ने छोराहरूलाई मुछ्ने षड्यन्त्रमा मतियार नबन्न सबैलाई अनुरोध गर्दछौं । 

७. राजनीतिमा सक्रिय सबैका सन्तानहरू बिग्रेका छन् र बाबुआमाको हैसियत दुरूपयोग गर्न लागिपरेका छन् भन्ने गलत बुझाइका साथ रचिने हरेक षड्यन्त्रहरूको पर्दाफास गरिनु र नांगेझार हुनु अनिवार्य छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *