सोमबार पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बैंकले बोलकबोल प्रक्रियामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले कूल ९१ दिने अवधिका लागि रु २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । सो बिल आगामी साउन ६ गते परिपक्व हुनेछ ।   

यस्तै रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त परिमाणको ट्रेजरी बिल आगामी कात्तिक ४ गते परिपक्व हुनेछ । बैंकले यसअघि गत चैत ३० गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।   

कोरोनासम्बन्धी बीमा योजना शुरु 

बीमा सेवा प्रदायकहरुको नियमनकारी निकाय  बीमा समितिले ल्याएको नयाँ योजनाको आजदेखि कार्यान्वयन शुरु भएको छ । समितिले कोभिड–१९ सम्बन्धी बीमा लेख आजदेखि औपचारिक रुपमा शुरु गरेको हो । समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले कोभिड–१९ रोगसम्बन्धी पहिलो बीमा लेख खरीद गरी औपचारीक शुरुआत गरेका हुन् ।   

अध्यक्ष चापागाईंका अनुसार कोरोना भाइरस महामारीका रुपमा आएको र सानो रकमबाट भए पनि सङ्क्रमणमा परेका व्यक्तिलाई आर्थिक सहयोग होस् भन्ने उद्देश्यले बीमा लेख जारी गरिएको हो । कोरोना भाइरस सङ्क्रमणपछिको उपचार सरकारले गर्ने भए पनि सङ्क्रमित व्यक्तिको आर्थिक अवस्थालाई ध्यानमा राखेर बीमा लेख जारी गरिएको हो ।   

नेपाली नगारिक, परिवार एवम् संस्थाले आफ्ना सदस्यको व्यक्तिगत वा समूहिक बीमा गर्न सक्ने उक्त योजनामा समावेश छ । लकडाउनको अवस्थामा पनि सजिलै ‘पोलिसी’ खरीद गर्न सकिने र त्यसका लागि मेडिकल र वित्तीय ‘अन्डरराइटिङ’को आवश्यकता नपर्ने व्यवस्था रहेकाले इच्छुकले अनलाइनमार्फत पनि सो योजना खरीद गर्न सकिने छ । इन्टरनेटको पहुँच नभएको ठाउँमा समेत निर्जीवन बीमा कम्पनीले काम गर्दै आएका कृषि बीमा तथा घुम्ती बीमामार्फत पनि योजना खरीद गर्न सकिने व्यवस्था मिलाइएको छ ।   

समितिले  बीमालेखलाई दुई समूहमा विभाजन गरिएको छ । पहिलो बीमालेख रु एक लाख बराबरको छ । सो योजना खरीदका लागि प्रतिव्यक्ति रु एक हजार लाग्नेछ । पारिवार वा संस्थागत रुपमा बीमा गर्ने भए थप रु ६०० लाग्नेछ । दोस्रो योजना रु ५० हजार बराबरको छ । यो योजना खरीदका लागि प्रतिव्यक्ति रु ५०० र पाँच परिवार वा संस्थाको सम्पूर्ण सदस्यको सामूहिक बीमाका लागि थप प्रतिव्यक्ति रु ३०० लाग्नेछ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *