कोरोना प्रभाव : विश्वका एक अर्ब ६० करोड मजदुरको रोजगारी खोसियो

काठमाडौं । कोरोना भाइरसको महामारीले विश्वका झन्डै ५० प्रतिशत कामदारको रोजीरोटी खोसेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले विश्वभर फैलिएको कोरोना महामारीका कारण ५० प्रतिशत कामदारको रोजीरोटी खोसेको नयाँ तथ्य सार्वजनिक गरेको हो ।

आइएलओका अनुसार महामारीका कारण अधिकांश मुलुक पूर्ण एवं आंशिक लकडाउनमा भएकाले विश्वभर दुई अर्ब ७० करोड मजदुर प्रभावित बनेका छन् । महामारीको सबैभन्दा ठूलो मार अनौपचारिक क्षेत्रमा परेको छ । विश्वभरका तीन अर्ब ३० करोड जनशक्तिमध्ये दुई अर्ब मजदुर अनौपचारिक क्षेत्रमा काम गर्छन् । उनीहरूमध्ये एक अर्ब ६० करोडको जीविका कोरोनाले खोसेर भोकभोकै बस्नुपर्ने अवस्थामा पुर्‍याएको आइएलओले जनाएको छ ।

अनौपचारिक क्षेत्रका कामदारसँग वैकल्पिक आय गर्ने अन्य माध्यम नहुने भएकाले ती कामदार र तिनमा आश्रित परिवारको बाँच्ने आधार नै गुमेको हो । रोजगारीमा परेको कोरोनाको प्रभाव निकै दूरगामी, व्यापक र अपूर्व रहेको आइएलओको ठहर छ । विश्वमा अहिले पारिश्रमिक न्यून हुने र रोजगारीको कुनै सुरक्षा नभएका होलसेल र रिटेल व्यापारको क्षेत्रमा ४८ करोड २० लाख मानिस काम गर्छन् । त्यसैगरी, म्यानुफ्याक्चरिङमा ४६ करोड ३० लाख कामदार छन् भने यातायात, स्टोरेज र सञ्चार उद्योगमा काम गर्नेको संख्या २० करोड ४० लाख छ ।

अनौपचारिक क्षेत्रका दुई अर्ब कामदारमध्ये अधिकांश उदीयमान एवं विकासशील मुलुकका हुन् । भारत, नाइजेरिया र ब्राजिलजस्ता विकासशील मुलुकको रोजगारी, आय एवं जनजीविकामा अनौपचारिक क्षेत्रको भूमिका महत्वपूर्ण छ । भारतको श्रमबजारमा अनौपचारिक क्षेत्रको हिस्सेदारी ९० प्रतिशतभन्दा धेरै छ । आइएलओले अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारलाई यो संकटले गरिबीमा धकेल्न सक्ने खतरा औँल्याएको छ ।

आइएलओले साना उद्यम एवं अनौपचारिक क्षेत्रका कामदारलाई तत्कालै सहयोग गर्नु आवश्यक रहेको जनाउँदै सहयोगका लागि सम्बन्धित मुलुकलाई आह्वान पनि गरेको छ । उसले सबल रोजगार नीति एवं प्रभावकारी सामाजिक सुरक्षा प्रणाली ल्याउन पनि सुझाब दिएको छ । ‘करोडौँ मानिसका लागि काम नहुनुको अर्थ खानेकुरा, सुरक्षा एवं भविष्य केही पनि नहुनु हो । उनीहरूसँग कुनै बचत हुँदैन र कर्जामा पनि पहुँच हुँदैन । विश्वको वास्तविक मुहार यही हो । उनीहरूलाई हामीले अहिले सहयोग नगर्ने हो भने उनीहरू मर्नेछन्,’ आइएलओले भनेको छ ।

महामारीको प्रभावबाट रोजगारदाता पनि उत्तिकै थिलथिलो बनेका छन् । विश्वका कुल रोजगारदातामध्ये ५४ प्रतिशत अर्थात् ४ करोड ७० लाख रोजगारदाता महामारीले कडा मार पारेको क्षेत्रका छन् । आइएलओका अनुसार ४३ करोड ६० लाख उद्यम महामारीका कारण जोखिममा पुगेका छन् । क्षेत्रगत रूपमा सबैभन्दा बढी प्रभाव होलसेल तथा रिटेलमा परेको छ । यो क्षेत्रका २३ करोड २० लाख व्यवसाय आम्दानीविहीन बनेका छन् ।

त्यस्तै, म्यानुफ्याक्चरिङका ११ करोड १० लाख, होटेल एवं रेस्टुराँ पाँच करोड ५० लाख, रियल स्टेट र अन्य क्षेत्रका चार करोड २० लाख उद्यम आम्दानीविहीन बनेको आइएलओको प्रतिवेदनमा उल्लेख छ । यी क्षेत्रमा एक अर्ब २५ करोड कामदार काम गर्छन्, जुन विश्वको कुल कार्यबलको ३८ प्रतिशत हो ।

उद्योगका हिसाबले खुद्रा व्यापारको क्षेत्रका ७० प्रतिशत, होटेल तथा रेस्टुराँ (एकोमोडेसन तथा फुड सर्भिस) क्षेत्रका ६० प्रतिशत कामदारको अवस्था जोखिमपूर्ण बनेको समाचार नयाँ पत्रिकामा छ । न्यून–मध्यम आयमूलक मुलुक र न्यून आय भएका मुलुकको अनौपचारिक क्षेत्रका कामदारको आय ८२ प्रतिशतले घटेको छ भने उच्च-मध्यम वर्गका मुलुकमा अनौपचारिक क्षेत्रका कामदारको आय २८ र आम्दानी उच्च भएका मुलुकका यस्ता कामदारको आय ७६ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । रोजगारी तथा कार्यघन्टामा परेको प्रतिकूल प्रभावका कारण आय घटेको हो ।

भौगोलिक हिसाबले हेर्ने हो भने अफ्रिका र ल्याटिन अमेरिकाको कामदारको आय सबैभन्दा बढी ८१ प्रतिशतले घटेको छ । त्यसैगरी, युरोप र मध्यएसियामा ७० प्रतिशत घटेको छ । सबैभन्दा कम एसिया प्रशान्त क्षेत्रमा अनौपचारिक क्षेत्रका कामदारको २० प्रतिशत आम्दानी घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *