ट्रम्पको दाबीः ‘कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलिएको हो, मसँग प्रमाण छ’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कारोना भाइरस (कोभिड १९) संक्रमण चीनको वुहानस्थित प्रयोगशालाबाट फैलिएको दाबी गरेका छन् ।

बिहीबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यस्तो दाबी गरेका हुन् । उनलाई त्यहाँ उपस्थित एक प्रत्रकारले प्रश्न सोधेका थिए, ‘कोरोना भाइरस वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा पैदा गरिएको हो भनेर तपाईंले यति आत्मविश्वासका साथ कसरी भनिरहनुभएको छ ?  के तपाईंसँग यसको प्रमाण छ ?’

जवाफमा ट्रम्पले भने, ‘मसँग प्रमाण छ । तर मलाई चीनले यस्तो जानीजानी गर्यो वा गल्तीपूर्वक गर्यो, त्यो भने थाहा छैन । या कसैले कुनै लक्ष्य प्राप्तिका लागि यस्तो गर्यो ।’ हुबेईबाट चीनको अन्य स्थानमा जान रोक लगाइएको अवस्थामा मानिसहरुलाई संसारभरी यात्रा गर्न भने छुट दिइएकोमा उनले आशंका व्यक्त गरे ।

ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनको प्रचार–प्रसार गरेको आरोप पनि लगाए । उनले भने, ‘डब्ल्यूएचओ चीनको जनसम्पर्कको रुपमा काम गरिरहेको छ । यो जुन काम गरिरहेको छ, त्यसमा लाज लाग्नुपर्ने हो ।’

कोरोना भाइरसका कारण अमेरिकामा मात्रै पछिल्लो २४ घण्टामा २ हजार २०१ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ६३ हजार ८५६ पुगेको छ भने १० लाख ९५ हजार १९ जना संक्रमित छन् । संक्रमितमध्ये १ लाख ५२ हजार ३२४ जना उपचारपछि निको भएका छन् ।

संसारभरी हालसम्म ३३ लाख बढी व्यक्ति संक्रमित छन् भने २ लाख ३४ हजार बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *