श्रमिक दिवसः उपराष्ट्रपति पुन र सभापति देउवाको यस्तो आग्रह

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले लकडाउन लम्बिदै जाँदा काममा जान नपाउने र रोजगारी खोसिने अवस्थाले श्रमिक वर्गको आगामी दिन झनै कठिन बन्ने परिदृष्य देखा परिरहेकाले उचित कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना दिँदै उनले कोरोनाका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका लाखौँ नेपालीले रोजगारी गुमाउन सक्ने, त्यसबाट देशभित्र उत्पन्न हुने बेरोजगारी तथा देशको अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा ध्यान दिन र तयारी गर्न आग्रह गरेका हुन् ।

विश्व जगतले नै आगामी आफ्ना कार्यक्रम श्रमिक वर्ग केन्द्रित बनाउने र नेपाल सरकारले पनि आगामी बजेट निर्माणमा यसमा उचित ध्यान दिने उपराष्ट्रपतिको विश्वास छ । संविधानले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको भन्दै उनले श्रमिकको हकहितका लागि भएको संवैधानिक व्यवस्थाको कार्यान्वयनलाई यो कठिन अवस्थामा अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

कोरोना भाइरसको विश्वव्यापी महामारी रोकथाम तथा नियन्त्रणका लागि अधिकांश देश लकडाउनमा गएसँगै यसबाट सबैभन्दा बढी श्रमिक वर्ग प्रभावित भएको उल्लेख गर्दै उपराष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका लाखौँ नेपाली श्रमिक दाजुभाइ तथा दिदी–बहिनीहरुको अवस्था कठिन बनिरहेको भन्दै दुःख व्यक्त गरेका छन् ।

श्रमिकलाई अविलम्ब राहत व्यवस्था गरः नेता देउवा 

नेपाली काँग्रेसका सभापति एवं शेरबहादुर देउवाले कोरोना रोकथामका लागि लागु गरिएको लकडाउनका कारण कष्टकर स्थिति भोगिरहेका श्रमिकलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका छन् ।

अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा पूर्वप्रधानमन्त्री देउवाले यस बेला श्रम गरेर गुजारा गर्ने श्रमिकको जीवन खाद्यान्नलगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको बताउँदै तिनलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका छन् ।

नेपालमा विसं २००३ मा काँग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरको पहिलो ऐतिहासिक आन्दोलन भएको, प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु सोही मजदूर आन्दोलन भएको र कांँग्रेस र मजदूरहरु सधैंँ एकार्काका अनन्य सहयोगी भएर रहिआएको बताउँदै सभापति देउवाले श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको यस ऐतिहासिक दिनमा उहाँहरु सबैमा शुभकामना पनि व्यक्त गरेका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *