अमेरिकाको मिसिगन राज्यमा बन्दुकसहित प्रदर्शन, ट्रम्पले राखे यस्ताे प्रतिक्रिया
काठमाडौं । बन्दुक बोकेका केही प्रदर्शनकारीहरू बिहीबार अमेरिकी मिसिगन राज्यको मुख्य सरकारी कार्यालय भवनमा प्रवेश गरी डेमोक्र्याटिक गभर्नरलाई कोरोनाभाइरसका कारण जारी गरिएको लकडाउन तत्काल हटाउन माग गरेका छन् । त्यहाँ उपस्थित कतिपय सांसदले बुलेटप्रुफ भेष्ट समेत लगाएका थिए ।
ल्यानसिंगको सरकारी भवनको लबीमा प्रवेश गरेका दर्जनौं प्रदर्शनकारी हाउस चेम्बर भित्र प्रवेश गर्न पाउनुपर्ने भन्दै नाराजुलुस गरेका थिए । मास्क लगाएका राज्य प्रहरीले उनीहरुलाई भित्र प्रवेश गर्न रोकेका थिए । प्रदर्शनमा भाग लिएका कुनै पनि प्रदर्शनकारीले मास्क लगाएका थिएनन् ।
‘राइफल बोकेका मान्छेहरू मेरै छेउमा आइपुगे,’ सिनेटर डायना पोलेहान्कीले ट्वीटमा भनेका छन् । ट्वीटमा उनले सार्वजनिक गरेको तस्वीरमा चार जना पुरुष देखाइएको छ जसमध्ये कम्तीमा एक जनासँग हतियार रहेको छ । ‘बुलेटप्रुफ भेस्ट भएका मेरा केही सहकर्मीहरूले त्यो रक्षाकवच लगाउनु भएको छ ।’
प्लेकार्ड सहित संसद भवन बाहिर भेला भएका धेरै प्रदर्शनकारीले गभर्नर ग्रेचेन ह्विटरको तुलना एडोल्फ हिटलरसँग गरेका थिए । अमेरिकी प्याट्रियट जुलुस भनिएको उक्त प्रदर्शनलाई मिसिगन युनाइटेड लिबर्टी भन्ने समूहले आयोजना गरेको थियो । यो समूहमा ८ हजार ८०० भन्दा बढी व्यक्ति सदस्य रहेका छन् ।
यसै महिना लकडाउन हटाउन गरिएको यो दोस्रो प्रदर्शन हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसका कारण मिसिगन राज्यमा मात्र तीन हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । गत अप्रिल १६ मा पनि करिब तीन हजार व्यक्तिले ल्यानसिंगमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनका कारण राजधानीमा केही समय ट्राफिक जाम भएको थियो । एक दिनपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीको समर्थन गर्दै ‘लिबरेट मिसिगन ! अर्थात् मिसिगनलाई मुक्त गरौं’ भन्दै ट्वीट गरेका थिए । एजेन्सी