नेकपा सचिवालय बैठक आजः जुट्ला त सहमति ?

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ। बैठक साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। पार्टीमा पछिल्लो समय देखिएको विवादमा सहमति खोज्न प्रयास गरिने नेकपाले जनाएको छ।

अध्यादेश प्रकरणपछि चुलिएको नेकपाभित्रको विवाद समाधानका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई भेटेका थिए। विवाद हल गर्न शीर्ष नेताहरूले आफू निकट नेताहरूसँग परामर्श गरिरहेका छन्।

प्रचण्ड र नेपाल समूहको गठजोड बलियो भएपछि यस पटक ओली अप्ठेरोमा परेका छन्। असन्तुष्ट प्रचण्ड-नेपाल समूहले यसअघि वैशाख १७ (बुधबार)मा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएको थियो। शुक्रवार नेपाल निवासमा भएको छलफलमा समेत प्रचण्ड–नेपाल समूहका नेताहरूले प्रधानमन्त्री ओलीको तत्काल राजीनामा माग्ने निष्कर्ष निकालेको बताइएको छ।

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग उठेपछि दबाबमा आएका प्रधानमन्त्री ओलीले त्यसको बदलामा कोरोनापछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए। बिहीबार ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग एक घण्टा लामो भेट गरेका थिए। नेपाल समूहका नेताहरुका अनुसार प्रधानमन्त्रीसँगको भेटमा नेता नेपालले तेस्रो अध्यक्ष बन्ने प्रस्ताव अस्वीकार गरेका थिए।

पछिल्लो विवादले नेकपामा बहुमतको कसरत भइरहेको छ। नेकपाभित्र दुवै समूहले संसदीय दलमा बहुमत पुर्‍याउन हस्ताक्षर अभियान चलाएका छन्। दुवै समूहका नेताहरु अनौपचारिक संवादमा जुटेका छन्। ओली इतरसमूहमा रहेका एक नेताका अनुसार शनिबार बस्ने सचिवालय बैठकमा ओलीमाथि दबाब बनाउन राजीनामाको मिति ‘माइन्युट’ गर्न दवाव बनाउने तयारी भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *