सचिवालय बैठकको तयारीमा शीर्ष नेताः आन्तरिक संवादमा जोड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरु सचिवालय बैठक अघि आन्तरिक छलफलमा जुटेका छन्। पार्टी सचिवालय बैठक शनिबार साँझ ४ बजेका लागि बोलाइएको छ। बैठकको तयारीका लागि नेकपा शीर्ष नेताहरु शुक्रबार देखि भेटवार्तामा व्यस्त देखिएका छन्।

बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डसहित नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले अहिलेको समस्या समाधानका लागि प्रधानमन्त्रीको राजीनामा मागेका थिए। राजीनामाको माग आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई कोरोना संक्रमण सकिएपछि प्रधानमन्त्री र नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्षको प्रस्ताव गरेपछि थिए। बिहीबार प्रधानमन्त्री ओली र नेता नेपालबीच यो विषयमा पनि छलफल भएको थियो। नेपाल निकट एक नेताका अनुसार भेटमा नेता नेपालले तेस्रो अध्यक्ष बन्ने प्रस्ताव अस्वीकार गरेका छन्।

सरकारले अध्यादेश जारी गरेसँगै विवादमा परेका नेकपामा प्रधानमन्त्री ओलीको विकल्प खोजी भइरहेको छ। स्थायी कमिटी बैठक बोलाएर प्रधानमन्त्रीको विकल्प खोज्नुपर्ने पक्षमा अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपाल पक्षको माग छ। सरकार एकलौटी चलाएको र अलोकप्रिय हुँदै गएको उनीहरूको आरोप छ। शनिबार बस्ने सचिवालय बैठकले लिन सक्ने निर्णयलाई लिएर राष्ट्रिय राजनीतिमा चासोको विषय बनेको छ।

शुक्रबार प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको थियो। भेटमा सचिवालय बैठकका एजेन्डामा केन्द्रित रहेर छलफल भएको बताइएको छ। ओलीसँगको भेटपछि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटघाट गरेका छन्। त्यहाँ पनि सचिवालय बैठकको एजेन्डामा केन्द्रित रहेर नेताहरूबीच अनौपचारिक छलफल भएको बताइएको छ।

शीर्ष नेताहरुले पनि आफू निकट नेताहरुसँग परामर्श लिएका छन्। स्थायी कमिटी सदस्यहरूले स्थायी कमिटी बैठकबाटै सबै निर्णय लिने गरी बैठक बोलाउन नेताहरूलाई दबाब दिएका छन्। शनिबार बस्ने बैठकमा उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने ठोस प्रस्ताव ल्याउनेबारे र स्थायी कमिटी बैठक आह्वान गर्नेबारे छलफल हुने बताइएको छ। अध्यादेश प्रकरणपछि नेकपाभित्र उत्पन्न विवादको समाधान खोज्न यो बैठक निर्णायक हुने अनुमान छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *