नेकपा सचिवालयमा ‘बामदेव कार्ड’मा जुट्ला त सहमति ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि यतिवेला उनी फेरी चर्चामा आएका छन्। प्रचण्ड र नेपाल समूहको गठजोड बलियो भएपछि पार्टीमा अप्ठेरोमा परेका ओलीको प्रस्तावले भावी प्रधानमन्त्रीका रूपमा बामदेव चर्चामा आएका हुन्।

शनिवार अपरान्ह बस्ने पार्टीको सचिवालय बैठकमा बामदेव प्रधानमन्त्री बन्ने/नबन्नेबारेमा छिनोफानो हुने छ। सचिवालय एक सदस्यका अनुसार बैठकमा उपाध्यक्ष बामदेवलाई प्रधानमन्त्री बनाउनेबारे उठेको विषय सार्वजनिक भएका छन्। यस विषयमा ठोस छलफल शनिवार बस्ने सचिवालयमा हुने छ। तर बैठकमा आउने प्रस्तावहरू कस्ता हुनेछन् भन्ने विषय हेर्न बाँकी रहेको ती सदस्यको भनाइ छ।

आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेपछि बामदेव गौतमले पनि बिहीबारबाट यसबारेमा आफू निकट नेताहरूसँग छलफल सुरु गरिसकेका छन्। यसअघि पनि नेकपा सचिवालय बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लिने र संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने बाटो खुला गर्ने प्रस्ताव गरेका थिए। त्यसको लागि तीन सदस्यीय कार्यदल समेत गठन भएको थियो।

चौतर्फी विरोधपछि उक्त कार्यदलपछि भङ्ग गरिएको थियो। पछि सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई संविधान संशोधनको विषय थाती राखेर राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो। गौतमले पनि राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्ने बाटो खुला गरेपछि मात्र राष्ट्रिय सभामा जाने बताएका थिए। उनको प्रधानमन्त्री बन्ने चाहनालाई फेरि प्रधानमन्त्री ओलीले उठाएका छन्। उक्त विषयले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ।

यस विषयमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। नेकपाभित्र पनि टीकाटिप्पणी भइरहेका छन्। प्रचण्ड र नेपाल पक्षले बामदेवलाई ओलीले पुनः भकुण्डो बनाउन रणनीतिक चालबाजी गरेको आरोप लगाएका छन्। नेकपाका सांसद रामनारायण विडारीले  कानूनी र व्यवहारिक दुवै किसिमले बामदेव प्रधानमन्त्री बन्ने सम्भावना नरहेको धारणा राखेका छन्।

ओली समूहका नेताले पनि प्रधानमन्त्रीले राजीनामा नदिने प्रतिक्रिया विभिन्न सञ्चार माध्यममा दिएका छन्। प्रधानमन्त्री ओलीले प्रस्ताव गरेको बामदेव कार्ड एक रणनीतिक मात्र भएको उनीहरू बताउँछन्। ओलीनिकट नेता कर्णबहादुर थापाले एक अन्तर्वार्तामा भनेका छन्, ‘प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ भन्ने मलाई लाग्दैन, .. यो एकदमै रणनीतिक कदम हो।’

अहिलेको अवस्थामा गौतमलाई प्रधानमन्त्री बन्न सहज नभएको सुझाव धेरैले दिए पनि उनमा आएको अडान परिवर्तनले भैँसेपाटी गठबन्धनमा एकमत भएका नेताहरू सशंकित बनेका छन्। अहिलेको संविधान अनुसार प्रधानमन्त्री बन्न प्रतिनिधि सभाको सदस्य हुनु अनिवार्य छ। यदि ओलीको प्रस्ताव कार्यान्वयन गर्ने हो भने गौतम प्रतिनिधि सभा सदस्य नभएको अवस्थामा कुनै एक क्षेत्र खाली गराएर उपनिर्वाचन गर्नुपर्ने हुन्छ भने अर्को सम्भावित बाटो भनेको संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बनाउन सक्ने बाटो खुलाउने हो। हाल राष्ट्रिय सभा सदस्यको लागि एक पद खाली छ।

उपनिर्वाचनमा जाने हो भने त्यहाँबाट उनले जित्ने ग्यारेन्टी पनि हुनुपर्छ। नेकपामा देखिएको पछिल्लो विवादले कुनै एक स्थानमा खाली गराएर चुनाव लडे उनलाई हराउन धेरै शक्ति एकीकृत हुने खतरा छ। राष्ट्रिय सभामा पठाएर प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने विषय झन थप जटिल छ। सचिवालय एक सदस्यका अनुसार शनिवार अपरान्ह बस्ने सचिवालय बैठकमा सम्भवतः यो विषयमा छलफल हुने छ। सचिवालय बैठकले लिन सक्ने निर्णयलाई लिएर राष्ट्रिय राजनीतिमा चासोको विषय बनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *