प्रचण्डलाई एकल अध्यक्ष बनाउने ओलीको नयाँ प्रस्ताव

काठमाडौं। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नयाँ प्रस्ताव गरेका छन्। शुक्रवार दिउँसो बालुवाटारमा भएको भेटमा ओलीले पार्टीमा देखिएको विवाद समाधानका लागि नयाँ प्रस्ताव गरेका हुन्।

एक स्थायी समिति सदस्यका अनुसार प्रधानमन्त्री ओलीले प्रचण्डलाई एकल अध्यक्षको प्रस्ताव गरेका हुन्। ओलीले सरकार आफू चलाउने र दुई अध्यक्षको व्यवस्था हटाएर प्रचण्डलाई एकल अध्यक्ष बनाउने प्रस्ताव गरेको ती नेताले बताए। ओलीले गरेको प्रस्तावबारे प्रचण्डले वरिष्ठ नेता माधव नेपाललाई पनि जानकारी गराएका छन्।

प्रधानमन्त्रीसँगको भेटघाटपछि शुक्रवार अध्यक्ष प्रचण्डले नेता नेपाललाई भेट्न गएका थिए। अध्यादेश प्रकरणपछि अप्ठेरोमा परेका प्रधानमन्त्री ओलीले व्यक्तिपिच्छे विभिन्न प्रस्ताव गरिरहेको प्रचण्ड-नेपाल समूहका नेताहरूले अर्थ्याएका छन्।

बुधवारको सचिवालय बैठकमा ओलीले भावी प्रधानमन्त्री तथा वरिष्ठ नेता नेपाललाई तेस्रो अध्यक्षका रूपमा प्रस्ताव अघि सारेका थिए। त्यसअघि उनले नयाँ समीकरणको लागि नेता नेपाल समूहका नेताहरूसँग छलफलका लागि आफू निकट नेताहरूलाई खटाएका थिए। छलफलमा माधव समूहका असन्तुष्ट नेताहरूलाई मुख्यमन्त्री, मन्त्रीपरिष्दमा समेट्ने प्रस्ताव गरेका थिए।

प्रचण्ड र नेपाल समूहको गठजोड बलियो भएपछि यस पटक ओली अप्ठेरोमा परेका छन्। दुई समूहको गठजोडलाई विभाजन गर्ने प्रयासमा ओलीले चलाखीपूर्वक नयाँ नयाँ प्रस्तावहरू गरिरहेको प्रचण्ड र नेपाल समूहका नेताहरूको आरोप छ। यद्यपि पछिल्लो समय प्रधानमन्त्री ओलीको प्रयत्नले भने सफलता पाउन सकेको छैन।

सरकारले अध्यादेश जारी गरेसँगै विवादमा परेका नेकपामा प्रधानमन्त्री ओलीको विकल्प खोजी भइरहेको छ। स्थायी कमिटी बैठक बोलाएर प्रधानमन्त्रीको विकल्प खोज्नुपर्ने पक्षमा अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपाल पक्षको माग छ। सरकार एकलौटी चलाएको र अलोकप्रिय हुँदै गएको उनीहरूको आरोप छ। बुधवार बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डसहित नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले अहिलेको समस्या समाधानका लागि प्रधानमन्त्रीको राजीनामा मागेका थिए।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै स्थायी समिति बैठक राख्न जोड दिइरहेको बेला ओलीले आफ्नो पद जोगाउन सहमतिका विभिन्न विकल्पहरू अगाडि सारेका छन्। अध्यादेश प्रकरणपछि नेकपाभित्र उत्पन्न विवादको समाधान खोज्न शनिवार बस्ने सचिवालय बैठक निर्णायक हुने अनुमान छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *