दिपिक्षा डायरीः मेरी बुनु !

किर्तिपुरको बसाईं थियो । मेरो अध्ययन किर्तिपुरकै रारा हिल ममोरियल स्कुलमा चल्दै थियो । दिनहरु एकदमै सुन्दिर तवरले बितिरहेका थिए । यहाँबाट धरान फर्कने कुरा भयो, । बाबाको पनि काठमाडौंबाट सरुवा भइसकेको थियो ।

नयाँ ठाँउ जाने कुराप्रति म निकै उत्सुक अनि खुशी थिएँ । तर साथीहरु छोड्न भने पटक्कै मन थिएन ।

त्यो ठाँउमा मेरो छुट्टै लगाब र आत्मियता बढीसकेको थियो । प्रकृतिसँग रम्न मैले त्यहीँ सिकेँ । बानेश्वरमा बस्दा मिनिरल वाटर पिउने म किर्तिपुरमा ढुंगेधाराको पानी लिन आफैँ जान्थेँ । त्यो पानीसँग पनि मेरो लगाब भइसकेको थियो ।

बानेश्वनरमा हिँड्न नजानेर मेरो चप्पल बाङ्गियो तर किर्तिपुरको स–सना उकाला ओरालाहरुमा हिँड्ने सिकेँ । किर्तिपुरमा साथिहरुसँग लुकामारी र भाँडाकुटी खेल्न सिकेँ । घरको झ्यालबाट सामुन्ने देखिने त्यो पहाड, जंगल, र चराचुरुङ्गीहरुसँग गफ गर्न सिकेँ । निलो पहाडको टुप्पोबाट आएको हावाको झोकासँग आनन्द लिन सिकेँ ।

मैले त्यहाँ सुन्दर प्रकृति पढेँ । त्यसैले पनि मलाई त्यो ठाँउ छोड्न कठिन थियो ।

दिपिक्षा/कक्षा– ९, कोशी सेन्ट जेम्स ईटहरी ।

नयाँ ठाउ, नयाँ संसार हेर्ने उत्सुकता पनि मनमा उतिकै थियो । त्यस्तै २०७० सालतिर हुनुपर्छ, मैले मेरा सबै साथीहरुलाई अंगालो हाली त्यो पहाड, जंगल, चराचुरुङ्गि, खेतबारी, ति ढुंगेधारा र पानीलाई हृदयमा राख्दै सबैसँग बिदा मागेँ । र दिनचर्या ईटहरीमा सुरु भयो ।

त्यतिबेला म सात बर्षकी थिएँ । मलाई पनि भाईबहिनीको रहर लाग्न थालेको थियो । स्कुलमा साथीहरु आफ्ना भाइबहिनीसँग रमाएको देख्दा मलाई पनि भाई बहिनी भए कत्ति रमाईलो हुन्थ्यो जस्तो लाग्थ्यो । मामु त्यतिबेला गर्भवती हुनुहुन्थ्यो । म असाध्यै खुशी थिएँ । जसले सोधेपनि मेरो भाइ जन्मन्छ भन्थेँ ।

म अबुझ थिएँ त्यतिबेला । दिमाखमा भाइ जन्मिन्छ भन्ने मानसिकता बनिसकेको थियो । भाइ । भाइ । भाइ । मात्र भाइ । मामु-बाबालाई नराम्रो लाग्थ्यो होला भाइप्रतिको मेरो एकोहोरो पन देख्दा । म मेरो परिवारको ईच्छा नै थिएँ । मेरो जन्म नै त्यस्तै अवस्थामा भएको थियो । म जन्मनु भन्दा २ महिना अगाडी नै मेरो हजुरआमाको मृत्यु भएको थियो । वियोगमा रहेको मेरो परिवारका लागि मेरो जन्म ‘राहत’ थियो ।

मेरो बाबालाई पनि छोरी नै प्यारो लाग्थ्यो । म नजन्मदै र के जन्मिन्छ भन्ने थाहा नहुँदै बाबाले मेरो नाम जानकी राख्नु भएको थियो रे । परिवारमा छोरा होस् या छोरी, दुवैप्रतिको धारणा समान नै थियो ।

२०७१ साल पुस ५ गते बेलुका म हटियाबाट घर फर्किदैँ थिएँ । मामु अस्पताल गइसक्नु भएको रहेछ । जाडो थियो । म, बुवा र सरोज दादा आगो तापेर बस्यौँ घरमा । म अस्पतालबाट बाबाले कतिबेला फोन गर्नुहुन्छ भनेर पर्खेर बसेँ । भाइको नाम के राख्ने भनेर सोचेँ, बहिनी होली भनेर त कल्पनै गरेकी थिइनँ, त्यसैले सोचिनँ ।

खाना खाएर सुत्यौँ । रातिको १२ बजेतिर म बिउँझिएँ । बुबाले बुनु जन्मिइन् भनेर सुनाउनु भयो ।

केही कुरा नसोची म खाटमा उभिएर नाच्न थालेँ, हुर्रे ! म दिदी भएँ । बुनु जन्मिइ !

भोलिपल्ट स्कुलमा दिनभरी बुनु कस्ती होली भनेर मात्र सोचिरहेँ । म धेरै खुशी थिएँ । भाइवाला कुराहरु पनि दिमागबाट हटिसकेका थिए । बेलुका स्कुलबाट फर्कने बितिक्कैे हतार हतार कपडा चेन्ज गरेर बुबासँग म पनि अस्पताल गएँ, बुनुलाई भेट्न ।

बुनुलाई भेट्नेबितिकै मेरो खुशीको सिमा रहेन । मैले बुनुलाई माया गरेर काखमा लिएँ ।

ति साना, कलिला हातखुट्टा देखेर मैले बुनुलाई सानी भनेर बोलाएँ । मेरो प्यारी सानी, मेरी बुनु । सबैभन्दा प्यारी बुनु ।

राति भयो । त्यो दिन म त्यहिँ सुतेँ । ठाँउ नभएर अस्पतालको भुइँमा सुत्दा पनि त्यो रात मलाई स्वर्ग भन्दा कम लागेको थिएन । रातभर ति कलिला हात डोहोर्याउँदै स्कुल लगेको कल्पना गरेँ, ताते–ताते भनेर हिँड्न सिकाएँ । दिदी भनेर बोलाएको, मलाई माया गरेको र मसँग खेलेको कल्पनामै बित्यो रात ।

उज्यालो भएपछी मन नलाग्दा नलाग्दै म बुबासँग घर फर्किएँ । तर मामु एकहप्तासम्म अस्पतालमै बस्नुपर्ने भयो । यो एक हप्ता मेरो घर र स्कुल बुनुकै यादमा गुज्रियो । बुनु घर आउने दिन म स्कुलबाट स्कुलबस छोडेर कसैको परवाह नगरी खेतैखेत एक्लै दौडिएर आएँ ।

अब बुनु पनि ठुली हुँदै गइ । म पनि ठुली हुँदै गएँ । दिनहरु एकदम राम्रोसँग बितिरहेका छन् ।

हामी सबै खुशी छौँ । परिवारको लागि आखाँको नानी !

अब हामिलाई समाजले सोध्न थाल्यो, नानि मामुले भाइ नजन्माउने रे ? भाइ जन्माउनु भन् न । तिमीहरु तिहारमा भाइटिका कसलाई लगाईदिन्छउ ? म जवाफ दिन्थेँ, तिहारमा एकदिनको लागि भाइको कामना किन गर्नु ? जबकी बाह्रै महिना हरेक दिन, हरेकपल मलाई सबै भन्दा बढी माया गर्ने मेरी प्यारी बुनु मसँगै छे । न त मेरो परिवारलाई नै छोराको कामना छ ।

आज पनि मलाई कसैले त्यस्तो सोधिरहँदा म बुनुलाई अगाडि ल्याउँछु अनि सोध्छु उनिहरुकै अगाडी, बुनु तिमिलाई भाइ चाहिन्छ ? ऊ भन्छे– ‘चाहिँदैन, तिमी छदै छउ नि । अनि अरु चुप लाग्छन । अनि तिहारमा भाईटिका लगाउन चाहिँदैन भनेर सोध्दा उ भन्छे “मेरो भाई छँदै छ नि ! हो म सँग अहिले भाई पनि छ (सानो ममि सानो बाबाको छोरा) मेरो भाई । तर, समाजलाई के समस्या छ कुन्नि ?

अझै पनि म यो समाजको बिचार सँग लड्दै छु !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *