पछिल्लो २४ घण्टामा साढे १२ सय जनामा कोरोना संक्रमण परीक्षण
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण दायरा बढाउँदै लगिएको जनाएको छ। नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारबाट देशभरका १७ अस्पतालबाट पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण सुरु गरिएको बताए।
विराटनगरस्थित कोसी अस्पतालसँगै त्यहाँ रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको उनले जानकारी दिए। सरकारले हालसम्म ६१ हजार भन्दा बढी मानिसमा कोरोना भाइरस संक्रमण परीक्षण गरेको बताइएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३ हजार ९८ नमुना परीक्षण भएका छन् भने र्र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४८ हजार ५ सय २९ नमुना परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा १२ सय ५२ नमुना परीक्षण भएको छ। २४ घण्टामा परीक्षण भएका नमुनामा सबै रिपोर्ट नेगेटिभ आएको छ।
प्रदेश १ मा ५ हजार २ सय ८२, प्रदेश नम्बर २ मा ५ हजार ६ सय ८७, बागमती प्रदेशमा ५ हजार ५ सय १५ वटा आरडटी परीक्षण भएका छन्। त्यसैगरी गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश नम्बर ५ मा ४ हजार २ सय ४०, कर्णाली प्रदेशमा ५ हजार ५ सय ७१ र सुदूरपश्चिममा १३ हजार ८ सय २३ वटा आरडिटी परीक्षण भएका छन्।
देशभरी २२ हजार ९ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन्। प्रदेश नम्बर १ मा २ हजार ८ सय ६५, प्रदेश नम्बर २ मा १ हजार ३ सय ९१ र बागमती प्रदेशमा ५ सय ११ जना क्वारेन्टाइनमा रहेका छन्। यसैगरी गण्डकी प्रदेशमा ६ सय ३२, प्रदेश नम्बर ५ मा ११ हजार ३ सय ४, कर्णाली प्रदेशमा ३ हजार २ सय ७५ र सुदूरपश्चि प्रदेशमा ३ हजार जना क्वारेन्टाइनमा रहेका छन्।
मन्त्रालयका अनुसार अहिलेसम्म ५९ जना संक्रमित छन्। जसमध्ये १६ जना निको भएर डिस्चार्ज भएका छन् भने ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।