भेनेजुएलाको जेलमा हिंस्रक झडप, ४० भन्दा बढी कैदीको मृत्यु
काठमाडौं । भेनेजुएलाको एक जेलमा हिंस्रक झडप हुँदा ४० भन्दा बढी कैदीको मृत्यु भएको छ ।
जेल रक्षकका अनुसार भेनेजुएलाको पश्चिमी शहर गुवानारी नजिकै लस लानोज जेलका कैदी खाना–पानीका अभावका कारण आक्रोशित थिए । र साेही क्रममा झडप भएकाे हाे ।
यद्यपी सरकारी अधिकारी अलग्गै दाबी गरिरहेका छन् । कैदीले जेल तोड्ने कोशिस गरेपछि उक्त घटना भएको बताइएको छ । यस हिंसामा जेलकर्मी सहित कयौँ मानिसहरु घाइते भएका छन् । घटनाको छानविन गर्न आदेश दिइएको छ ।
भेनेजुएलाका जेलमन्त्री इरिस वरेलाले त्यहाँको सञ्चार माध्यमसँग कुरा गर्दै यसको पुष्टि गरेका छन् । तर मृतकको संख्या भने खुलाएका छैनन् । उनले पनि यस घटनालाई जेल ब्रेकसँग नै जोडेका छन् ।
ल्याटिन अमेरिकाका फोहोर र क्षमताभन्दा ज्यादा कैदीवाला जेलमा लगातार हिंसा बढिरहेको छ । त्यस्तोमा सरकार कोरोना संक्रमणका लागि प्रतिबन्ध लगाइरहेकाे छ । क्वारेन्टाइनका कारण कैदीहरुले परिवारमार्फत् खाना पाएका छैनन् ।
द अब्जर्भेटरी नामक एक संस्थाले ४६ कैदीको मृत्यु भएको र स्थानीय अस्पतालमा कयौँ घाइतेहरुलाई भर्ना गरिएको बताएको छ । भेनेजुएलाको राष्ट्रिय सभाका सदस्य मारिया बीट्रिज मार्टिनेजले स्पेनिशमा ट्वीट गर्दै यसलाई जनसंहार बताएका छन् । मारिएका कैदीका परिवारका अनुसार उनीहरुलाई शव दिइने छैन र कुनै सामुहिक चिहानमा गाडिनेछ ।