पार्टीकारीता, स्वार्थकारीताले स्वतन्त्र र भय रहित हुन नसकेकाे नेपाली पत्रकारीता
आज विश्व प्रेस स्वतन्त्रता दिवस । सन् १९९३ मा संयुक्त राष्ट्र संघले आजकै दिन अर्थात मइ ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउन घोषणा गरेपछि विश्वभरका प्रेस जगतले आजको दिनलाई विशेष दिन मान्ने गर्दछन् । नेपालमा पनि आज पत्रकारीता क्षेत्रका संगठन र संस्थाहरुले ‘भय र पक्षधरामुक्त पत्रकारिता’ को नारा लगाउँदै विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन् ।
कोरोना भाइरस महामारीका कारण यसपटक प्रेस स्वतन्त्रता दिवस भर्चुवल रुपमा मनाईदैछ । सामाजिक दुरी कायम गर्दै डिजिटल सम्वाद र सञ्चार सामग्री प्रकाशन गरेर विश्व प्रेस स्वतन्त्रता दिवस मनाई रहँदा ‘भय र पक्षधरामुक्त पत्रकारीता’ का विषयमा केही लेख्नै पर्ने हुन्छ ।
पहिले कुरा गरौं पक्षधरामुक्त पत्रकारिताको ।
राणा शासन, पञ्चायत, बहुदल र गणतन्त्रसम्मकाे यात्रा
विक्रम सम्वत १९५५ देखि अहिलेसम्म आइपुग्दा १२२ वर्षे इतिहास बनाएको नेपाली पत्रकारीता नत त्यसबेला स्वतन्त्र थियो, नत बर्तमान अवस्थामै स्वतन्त्र छ । पत्रकारिताको सिद्धान्त र परिभाषाले पत्रकारीता स्वतन्त्र हुनुपर्छ भनेको छ तर, नेपाली पत्रकारीता शुरुवात कालदेखि नै स्वतन्त्र थिएन ।
राणा शासन कालमै शुरु भएको नेपाली पत्रकारीता जहाँनीया राणा शासन सत्ताका विरुद्ध जनमत सृजना गर्ने अभियानमा थियो । राणा शासन कालखण्डको अन्तिम ५० वर्षमा जति पत्रकारीता भए तिनले कि राणाहरुको विरुद्धमा जनमत सृजना गरे, कि राणाहरुकै पक्षमा लागेर गुणगान गाए ।
२००७ सालमा राजा र प्रजा मिलेर राणा शासनको अन्त्य गरे । त्यसपछि प्रकाशनमा आएका पत्रपत्रिकाहरु पनि स्वतन्त्र भएनन् । केही पत्रपत्रिका र पत्रकारहरुले आफुलाई स्वतन्त्र र जनताप्रति उत्तरदायी बनाउने कोशिष गरे तर, टिक्न सकेनन् । फलस्वरुप २००७ सालपछिको प्रजातन्त्र, २०१७ सालपछिको पञ्चायती शासन ब्यवस्थामा धेरै स्वतन्त्र पत्रकारीता गर्नेहरु की पलाएन भए की त आफुलाई समय र परिस्थिती अनुसार परीवर्तन गरे । स्वतन्त्र पत्रकारीता गरेर जीवन धान्न नसक्ने देखेपछी धेरै जसोले ‘सत्ताकारिता’ गरे ।
२०१७ देखि चल्दै आएका पत्रपत्रिका र तिनका पत्रकारहरु प्रजातान्त्रिक व्यवस्था प्रति प्रतिबद्ध भए । उनीहरुकै आवाज मुखरित गरे । जागरण साप्ताहिक, आवाज दैनिक, समाज दैनिक, हालखबर दैनिक, जयनेपाल दैनिक (हिन्दी), पासा दैनिक (नेवारी), नेपाल गार्जियन र दि कमनर दैनिक (अङ्ग्रेजी) पत्रपत्रिकाहरु निजी स्तरबाट प्रकाशित भएपनि तिनीहरुले की राज्यको आवाज बोक्दथे की दलीय विचारधारा प्रवाहित गर्दथे ।
२०१७ सालमा राजा महेन्द्रले दलीय व्यवस्था खारेज गरी निर्दलिय पञ्चायती शासन व्यवस्था लागू गरेपछि दलीय पत्रकारीता गरेकाहरु प्रतिबन्धित भए । ३० वर्षे पञ्चायती शासन व्यवस्थामा प्रतिबन्धमा परेका कतिपय सञ्चार माध्यम र पत्रकारहरुपनि पलायन र आत्मसमर्पणकारीतामा लागे । कुनैपनि पत्रकार र तीनको सञ्चारले स्वतन्त्र पत्रकारीताको अभ्यास गर्ने धृष्टता गरेनन् ।
३० वर्षे पञ्चायती ब्यवस्था विरुद्ध आन्दोलन हुन थालेपछि दलहरुले जनमत सृजना गराउन पत्रकारीताको उपयोग गरे । र, ०४६ सालको परीवर्तन नआउँदै नेपाली पत्रकारीतामा दलीय पत्रकारीता हावी भयो । त्यत्तिबेला दलहरुकै आवाज घनिभूत गर्न भन्दै समीक्षा, विमर्श, देशान्तर, दृष्टि, प्रकाश साप्ताहिक, जनधारणा जस्ता पत्रपत्रिकाहरु उदाए । तीनले कांग्रेस र कम्युनिस्टका विचार प्रवाह गरे । पञ्चायती शासनलाई गाली गरे । यी पत्रिका मुलतः मिसन पत्रकारिता थिए । पञ्चायतको विरोधमा लागेका वामपन्थी वा प्रजातान्त्रिक धारका विचार सम्प्रेषण गर्ने मिसनले आएका पत्रकारीताले जनताका अधिकारलाई केही हदसम्म मुखरित त गरेका थिए । तर, उनीहरु पूर्णरुपमा देश जनताप्रति स्वतन्त्र भने भएनन् ।
निर्दलिय पञ्चायती शासन ब्यवस्थाविरुद्ध २०४६ सालमा आन्दोलन सृजना गर्न कांग्रेस, एमाले लगायत केही प्रतिबन्धित दलहरुले पार्टीका बुद्धिजिवीहरुको अगुवाईमा पत्रपत्रिकामार्फत जनमत सृजना गर्न थाले । जसकालागि उनीहरुले आ–आफ्ना पक्षका पत्रकारहरुको संगठन विस्तार गरिदिए । यसले दलीय पत्रकारितालाई पक्षपोषण गर्दै बहुदलिय ब्यवस्थाको पक्षमा जनमत सृजना गरिदियो ।
२०४१ सालमा नेपाल टेलिभिजनको स्थापना भइसकेको थियो । ०४६ सालको आन्दोलन सफल भएपछि मुलुक खुल्ला अर्थनीतिमा गयो । जहाँ निजी क्षेत्रलाई पनि आमसञ्चार र पत्रकारितामा आकर्षित गर्यो । र, २०५१ सालसम्म आइपुग्दा नेपालमा निजी क्षेत्रबाटै ठूल्ठूला ब्रोडसिट सञ्चार माध्यमको जन्म भयो । नेपाल समाचारपत्र, कान्तिपुर दैनिक, हिमालय टाइम्स, स्पेश टाइम्स जस्ता ठूला अखवारको उदय भयो । जसले केही हदसम्म पत्रकारितालाई ब्यवसायीक, निष्पक्ष, स्वतन्त्र र तटस्थ बनाउन खोजे ।
नेपाल अधिराज्यको संविधान, २०४७ घोषणा भइसकेपछि नेपाली प्रेसले स्वतन्त्र, मर्यादित, जवाफदेही र अनुशासित हुँदै संविधान अनुसार सूचनाको हकलाई नागरिकको मौलिक हकको रूपमा स्थापित गर्यो । तर, पत्रकारीताको महत्व बुझेका दलहरुले नेपाली पत्रकारीतालाई संविधानमा स्वतन्त्र र निष्पक्ष बनाइदिएपनि पत्रकारलाई भने पार्टीकारिताको अभ्यासमा लगाए । बहुदलदीय ब्यवस्थासँगै खुलेका दलहरुले आ–आफ्ना संगठन निर्माण गर्ने क्रममा पत्रकारहरुको संगठन बनाए । र, स्वतन्त्र पत्रकारीताको घाँटीमा पार्टीकारीताको घण्टी बाँधी दिए । जुन काम आज पर्यन्त जारी छ ।
अहिले पत्रकारकै आधा दर्जन संगठन छन् जो प्रत्यक्ष रुपमा नेपालका राजनीतिक दलका आवाजलाई मुखरित गर्छन् । नेपाल प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ (हाल प्रेस सेन्टर) यस्ता आधा दर्जन संगठन छन् जसले स्वतन्त्र पत्रकारीतालाई हैन पार्टी पत्रकारीतालाई मलजल गरीरहेका छन् । प्रत्यक्ष अप्रत्यक्ष रुपमा अहिले सञ्चालनमा आएका सञ्चार माध्यममा दल र तिनका नेतृत्वको लगानी र सिद्धान्त रहेको कुरा घाम जत्तिकै छर्लंग छ ।
नेपालमा अहिलेसम्म जतिपनि पत्रकार र तीनका संस्थाहरु छन ती मध्ये २० प्रतिशत पनि स्वतन्त्र छैनन् । कुनै संस्था स्वतन्त्र होला तर, त्यहाँ कार्यरत पत्रकार स्वतन्त्र छैनन् । उनीहरुले गर्ने पत्रकारीता स्वतन्त्र भएन । सञ्चार गृह पिच्छे पार्टीका संगठन छन् जसले पार्टीको भजन लेख्न र सम्प्रेषण गर्न त्यहाँ कार्यरत पत्रकारलाई निर्देश गर्दछन् ।
यो अत्यन्त डरलाग्दो विषय हो । राणा शासन, पञ्चायत, बहुदल र गणतन्त्रसम्मकाे यात्रामा नेपाली पत्रकारीता कहिँ न कतैबाट प्रभावित भइरह्याे, पक्षधरामुक्त हुन सकेन ।
अनलाइन पत्रकारीताले बढाएकाे अविस्वसनीयता
जनान्दोलन ०६२/०६३ पछि नेपालमा सञ्चार क्षेत्रमा क्रान्ति नै भयो । नयाँ नयाँ प्रविधि आए । देशका कुना काप्चामा रेडियो एफएमहरु खोलिए, टेलिभिजन उदाए । सन्२००० को दशकसँगै इन्टरनेटको द्रुत विकास भयो । गाउँगाउँमा मोवाइल इन्टरनेटको पहुँच पुग्यो र, पछिल्लो समय नेपालमा अनलाइन, युट्युव पत्रकारीताको विकास रकेट गतिमा भयो । तर, पत्रकारीताको कान्छो सदस्य अनलाईन पत्रकारीताले नेपाली पत्रकारीतालाई पूर्णतः अविस्वसनीय बनाउँदै गएको छ ।
स्वार्थमा साना ठूला लगानीमा खोलिएका यस्ता सञ्चार गृहले प्रवाह गर्ने सूचना र समाचार दलीय, वर्गिय, क्षेत्रिय स्वार्थले अभिप्रेरित भइदिँदा पाठकहरु सबैभन्दा बढि रनभुल्लमा परेका छन् । मनोरञ्जनका हिसाबले खोलेका युट्युव र अनलाइनहरुले समाजमा अश्लिलता फैलाएका छन्, ब्यक्तिगत जिवनमा हस्तक्षेप गर्दैछन् । इन्टरनेटको माध्यमबाट मोवाइलमै देश विदेशका जस्तोसुकै जानकारी क्षणभरमै हेर्न र सुन्न सक्ने प्रविधिलाई बोकेर हिँड्ने हामी तीनले पस्कने मनगढन्ते र मसाला युक्त चटपटे सूचना र समाचार प्रति आकर्षित भइरहेका छौं ।
भाइरलकारीताले ल्याएकाे भ्रम
आजकल युट्युवकारिताको बडो खेती भइरहेको छ । ‘डा. भट्टराईको निधन….., उपेन्द्र यादव भारतीय………, प्रचण्डले चितवनमा यस्तो गरे………, प्रियंकालाई डायनिङ टेवलमा गर्न……, ज्योति मगरले खोलिन यस्तो राज……..यस्ता अर्नगल, वेतूकका शिर्षक राखेर पाठक, दर्शकलाई भ्रम छर्दा त्यसले हाम्रो ब्यक्तिगत जिवनमा मात्र हैन पुरै समाजलाई फोहरी बनाइ दिएको छ । अहिले अनलाइन र युट्युवकारितामा भएका यस्ता अभ्यासले स्वतन्त्र र विस्वसनीय पत्रकारीता प्रति प्रश्न चिन्ह पैदा गरीदिएको छ ।
भनिन्छ समाजमा राम्रो कुराको प्रचार कमै हुन्छ नराम्रो कुरा छ भने क्षणभर भाइरल हुन्छ । आजभोली भाइरल हुने ट्रेण्ड आएको छ । खासगरी युट्युवकारिता गर्नेहरुले तिललाई पहाड बनाएर समाचार, रिपोर्ट बनाउँदा भाइरल बाबा, मुकुन्द घिमिरे, पुण्य गौतमको जन्म भएको छ । जसले अनावश्यक र प्रसंगविनाका विषयमा ताईं न तुईं बहस गर्छन् । युट्युवमा रोइलो गर्छन् र बेमौसमको बाजा बजाएर डलरको खेती गर्छन् ।
मनोरञ्जनका लागि बनाइएका यस्ता कार्यक्रमले स्वस्थ मनोरञ्जन दिए त ठिकै हो तर, कसैको ब्यक्तिगत स्वतन्त्रता समेत हहन हुने किसिमको तर्क गर्नु कत्तिको उचित होला ? नियामक निकायले यो विषयमा ध्यान दिनैपर्ने भएको छ । नेपालको सञ्चार विश्वकै परिदृष्यमा स्वतन्त्र छ भनिएको छ । तर, प्रेस स्वतन्त्रताका नाममा भइरहेका गतिविधिहरुले भने समाजमा सकारात्मक भन्दा नकारात्मक सन्देश बढि फैलाएको छ । यसलाई नियन्त्रण गरौं ।
भनिन्छ प्रेस र प्रजातन्त्र एक अर्काका परिपूरक हुन् । राणा शासन, पञ्चायती शासन, बहुदलिय ब्यवस्था, लोकतन्त्र हुँदै संघिय गणतन्त्रसम्म आइपुग्दा जुनै ब्यवस्था र पद्दतिसँग प्रत्यक्ष जोडिएर जनताको आवाज मुखरित गर्ने भनेकै पत्रकारीता थियो र रहनेछ । तर, यसलाई प्रत्यक्ष रुपमा जनताको, राष्ट्रको पक्षमा उभ्याउनु आजको चूनौति हो ।
पत्रकारीताका नाममा बर्तमान समयमा उदाएका पार्टीकारीता, स्वार्थकारीता, भाइरलकारीता, युट्युवकारीताले समाज र देशलाई सहि दिशानिर्देश गर्न सक्दैन । पत्रकारीता स्वतन्त्र हुनुपर्छ त्यसमा दुईमत छैन । २०७४ सालको संविधानले अभिब्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गरेको छ । यसलाई ब्यवहारमा उतारौं । कुनै दल, क्षेत्र, विचार, आस्था, सिद्धान्त, वादबाट बाहिर निस्किएर पत्रकारीता गरौं ।
भयरहित पत्रकारिता
पक्कै पनि नेपाली पत्रकारीता भय रहित छैन । राणा शासनकालदेखि पञ्चायत, ०४६ पछिको बहुदल, ०५२ साल पछिको १० वर्षे माओवादी जनयुद्ध, जनान्दोलन ०६२/०६३ र अहिले २०७४ सालमा जारी भएको संविधान र त्यसपछिका दिनसम्म पनि नेपाली पत्रकारीता र पत्रकार भयरहित हुन सकेका छैनन् ।
राणा कालमा राणाहरुको आँखामा नेपाली पत्रकारीता तारो भयो । पञ्चायत कालमा राजा महेन्द्र र तीनका मतियारले अंकूश लगाए । बहुदलिय व्यवस्थामा पनि दलहरुले कुनै न कुनै रुपमा हस्तक्षेप गरे । २०५२ सालमा तत्कालिन माओवादीले शशष्त्र जनयुद्ध शुरु गर्दा त नेपाली सञ्चार क्षेत्र सबैभन्दा नराम्ररी प्रताडित भयो ।
त्यो बेला नेपाली पत्रकारीता राज्य र विद्रोही दुवै पक्षबाट प्रताडित भयो । करिब तीन दर्जन बढी पत्रकारको हत्या भयो । यसमा राज्य पक्ष जसले स्वतन्त्र र भयरहित पत्रकारीताको ग्यारेन्टी गर्नु पर्दथ्यो उसैबाट पत्रकारको हत्यासम्म भयो । कृष्ण सेन इच्छुक ती पत्रकार हुन जसलाई तत्कालिन शाही सेनाले चरम यातना दिएर मार्यो । यस्ता धेरै पत्रकारहरु छन् जसले राज्य पक्ष र विद्रोही पक्षको लडाईमा ज्यान गुमाए । शारीरिक, मानसिक, आर्थिक, भौतिक यातना भोगे ।
कालोलाई सेतो र सेतोलाई कालो
नेपाली पत्रकारीता भयरहित हुन नसक्नुमा राज्य, परिस्थिति र कालखण्ड जति जिम्मेवार छ, स्वतन्त्र पत्रकारीता गर्ने भन्दै कुनै ब्यक्ति, विचार र सिद्धान्तको खोल ओढेर पत्रकारीता गर्ने पद्दति त्यत्ति नै जिम्मेवार छ । एउटा पत्रकार कुनै पार्टी र सिद्धान्तप्रति आस्थावान हुनु उसको स्वतन्त्रताको अधिकार हो । तर, उसले गर्ने पत्रकारीता कुनै एकल पार्टी, सिद्धान्त र विचारधाराबाट मात्रै प्रवाहित हुनुहुदैन । उसको कलमले कालोलाई सेतो र सेतोलाई कालो देख्नु हुँदैन । कालोलाई कालै भन्नुपर्छ सेतोलाई सेतै भन्नुपर्छ । यहाँ कतिपय यस्ता पत्रकारीता गर्नेहरु छन् जो पत्रकारीताको मुल्य र मान्यतालाई धोती लगाएर अनैतिक कृयाकलाप गर्दै समाजमा पत्रकारीताको धज्जी उडाइरहेका छन् ।
भाेकाे पेटले राजनीति गर्दैन र पत्रकारीता पनि गर्दैन
आजकल सञ्चार माध्यमबाटै पनि पत्रकारहरु भयभित भएका छन् । आफ्नो रोजगारी कतिखेर जान्छ भन्ने भय लिएर पत्रकारहरु कलम चलाउन बाध्य छन् । पेशागत सुरक्षा र ग्यारेण्टी नहुँदा महिनौं काम गरेर पनि त्यसको पारिश्रमिक नपाइकन भोक भोकै पत्रकारीता गर्नुपर्ने अवस्था छ ।
दिनभर घामपानी, जाडोगर्मी नभनी ज्यानको जोखिम मोलेर गरेको पत्रकारीताबाट कमाएको आम्दानीले बेलुका घरमा गएर परीवारसँग हसिँलो मुद्रामा एक गाँस मिठो खान सक्दैन भने त्यसले गरेको पत्रकारीताको अर्थ छैन । जसरी भोको पेटले राजनीति गरिँदैन भनिन्छ, त्यसैगरी भोको पेटले पत्रकारीता पनि गरिँदैन ।
ब्यवसायीक पत्रकारीता आजको अपरिहार्यता हो । अहिले राम्ररी अनुसन्धान गरियो भने ७० प्रतिशत सञ्चार गृहका पत्रकारहरु जो दिनभर आफ्नो ज्यानको पर्वाह नगरी फिल्ड रिपोर्टिङमा खटिन्छन् उनीहरु कहिले जागिर जाने हो भयमा काम गरिरहेका छन् । राज्यले यीनीहरुको पेशागत सुरक्षाको ग्यारेण्टी गर्न आवश्यक छ । द्वन्द्व, भय सबै क्षेत्रमा हुन्छ तर, पत्रकारीतामा हुने भयले समाज र राष्ट्रलाई नै असर गर्छ ।
भयलाई निमिट्यान्न पार्न राज्य मात्रैले पनि सक्दैन । पत्रकारका सुरक्षा र हक अधिकारका लागि काम र कुरा गर्नेहरुले मात्रै पनि सक्दैनन् ।भयरहित र पक्षधरामुक्त पत्रकारीता स्थापित गर्न सबैले आ–आफ्ना क्षेत्रबाट उत्तिकै जिम्मेवार हुनुपर्छ ।
ढिलै भएपनि विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना ।
केशब सापकाेटा