आप्ठेरोमा परेका मजदुरको रेल भाडा तिर्ने कांग्रेसको घोषणा

काठमाडौं। भारतीय कांग्रेसले लकडाउनका कारण समस्यामा परेका मजदुरको रेल भाडा दिने घोषणा गरेको छ। आफ्ना प्रदेश कमिटीका हरेक संगठनले घर फर्किने सबै मजदुरहरुको रेलको भाडा दिने कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पटक-पटक मजदुरहरुलाई घरसम्म पुर्‍याउन निःशुल्क रेल सेवाको व्यवस्था गर्न माग गर्दा पनि सरकारले नसुनेको कांग्रेसको आरोप छ। सरकारले लकडाउनका कारण समस्यामा परेका मजदुरसँग रेल भाडा लिएकोप्रति भातरीय कांग्रेसले आपत्ति जनाएको छ।

‘न राशन, न पैसा, न औषधि, न साधन, केवल आफ्नो परिवारलाई भेट्न गाउँ फर्किने चाहना। उनीहरुको व्यथा सोच्दा पनि शरीर काँप्छ। …दुःखको कुरा भारत सरकार र रेल मन्त्रालयले यी श्रमिकहरुबाट यस्तो कठिन समयमा पनि रेलको भाडा असुलिरहेको छ,’ भारतीय कांग्रेसको अध्यक्ष सोनिया गान्धीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

देश भित्र र बाहिर अलपत्र परेका मजदुरहरुलाई आफ्नो कर्तव्य सम्झिएर सित्तैमा घर फर्काउन लागिएको उनको भनाइ छ। ‘मजदुरहरु राष्ट्र निर्माणको मेरुदण्ड हुन्। हामी विदेशमा फसेका भारतीयहरुलाई आफ्नो कर्तव्य सम्झिएर सित्तैमा ल्याउन सक्छौं। गुजरातमा केवल एक कार्यक्रममा सरकारी ढुकुटीबाट एक अर्ब रुपैयाँ खर्च गर्न सकिन्छ, रेल मन्त्रालयले कोरोना कोषमा १ सय ५१ करोड दिन सक्छ भने यी मजदुरहरुलाई निःशुल्क घर फर्काउन किन सकिँदैन ?,’ विज्ञप्तिमा भनिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *