स्वीसको कार्यक्रम पुरा नहुने, कार्यक्रम र बजेट निरन्तर गर्न माग
- ध्रुवराज खनाल
चितवन । पूर्वी चितवनमा स्वीस सरकारको लगानीमा सञ्चालित योजनाहरु यस वर्ष पुरा नहुने भएको छ । नेपाल सरकार र स्थानीय तहसँगको साझेदारीमा लामो समयदेखि पूर्वी चितवन नदि नियन्त्रण तथा जिविकोपार्जन कार्यक्रम संचालन भइरहेको छ ।
कार्यक्रम अन्र्तगत राप्ती नदि ड्याक निर्माण तथा मर्मत, भित्रि खोला तटबन्धन, जलाधार क्षेत्र संरक्षण, सिँचाई व्यवस्थापनको काम गर्दै आएको छ । कोरोना भाईरसपछि सरकारले जारी गरेको लकडाउनका कारण सो कार्यक्रम अन्र्तगतका योजनाहरु यस वर्ष पुरा नहुने अवस्था सिर्जना भएको खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले बताए ।
उनका अनुसार सिंचाई व्यवस्थापनका लागि कुलो निर्माण वाहेक राप्ती ड्याक निर्माण तथा मर्मत,जलाधार क्षेत्र संरक्षणका लागि चेक ड्याक लगायतको काम पुरा हुने अवस्था छैन ।
खैरहनीको कंकाली सामुदायिक वनको केही क्षेत्र तथा कालिका र राप्ती नगरपालिकामा जलाधार क्षेत्र संरक्षणका लागि योजनामा समावेश गरिएको छ । ‘यस वर्ष स्वीसको कार्यक्रम अन्तिम हो । लकडाउनले योजना सम्पन्न नहुने देखिएपछि वैकल्पिक उपाय खोजी गरेका छौँ’, खैरहनी मेयर चौधरीले भने ।
पूर्वी चितवन नदि नियन्त्रण तथा जिविकोपार्जन कार्यक्रमका लागि यस वर्ष करिव १६ करोड रुपैयाँ विनियोजन गरिएको छ । अघिल्ला वर्षहरुमा नेपाल सरकार र स्वीस सरकारको मात्र लगानी हुने गरेकोमा गत वर्षदेखी स्थानीय तहको समेत साझेदारी रहेको छ । जस अन्र्तगत स्वीस सरकारको ४० प्रतिशत, नेपाल सरकारको ३० प्रतिशत,स्थानीय तहको २० प्रतिशत र उपभोक्ता लागत सहभागीता १० प्रतिशत रहेको खैरहनीका मेयर चौधरीले बताए ।
यस वर्षको सम्पन्न नहुने भएपछि स्वीसले भने आगामी डिसेम्वर सम्म योजनाको अवधि लम्वाउने तयारी गरेको छ । यस वर्षका योजनाहरु सम्पन्न नहुने भएपछि पूर्वी चितवनका चार नगरपालिकाको बैठकले योजनालाई निरन्तरता दिन नेपाल सरकार र स्वीसले सञ्चालन गरेको आयोजनालाई आग्रह गर्ने निर्णय गरेको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताए ।
खैरहनी नगरपालिकामा वसेको नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतको वैठकले आयोजनाको समयावधि सकिएपनि योजनालाई निरन्तरता दिन अनुरोध गर्ने निर्णय गरेको हो ।
साथै आगामी वर्ष निरन्तरता दिदा सो कार्यक्रममा नेपाल सरकारबाट व्यहोर्नु पर्ने अंश योगदान प्राप्त नभएपनि दातृ संस्थाले लगानी गरि नपुग हुने रकम सम्पूर्ण स्थानीय तहले आआफ्नो योजनामा लगानी गरि योजनालाई पूर्णता दिन सबै नगरपालिकाहरु सहमत भएका छन् ।
बैठकमा खैरहनीका मेयर लालमणि चौधरी, रत्ननगरका मेयर नारायण वन, कालिकाका मेयर खुमनारायण श्रेष्ठ,राप्तीकी मेयर प्रभा बराल, खैरहनीका उपमेयर सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृतहरु पुरुषोतम शर्मा, टुवराज पोखरेल, यज्ञ पुरी, गंगाबहादुर भुजेल, लेखा अधिकृतहरु केशव हुमागांई, ऋषि कडुवाल, गोपाल तिवारी, रत्ननगरका प्रवक्ता राजेन्द्र हमालको उपस्थिति रहेको थियो ।