‘बाबुराम भट्टराईको योजनामा फसाउन खोजियो’

काठमाडौं। सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा. बाबुराम भट्टराईको योजनामा आफूहरुमाथि अपहरणको आरोप लगाएर फसाउन खोजिएको आरोप लगाएका छन्। राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा आफूहरुले अपहरण नगरेको निवेदन दिँदै उनीहरुले आफूहरुलाई फसाउन खोजिएको आरोप लगाएका हुन्।

सांसद महेश बस्नेतले डा. यादवले गाली गलौच गरी मानहानी गरेको, अपमान गरेको र झुटो आरोप लगाएर फसाउन खोजेको बताए। नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले डा. सुरेन्द्र यादवलाई वैशाख १० मा जनकपुरबाट काठमाडौंसम्म ल्याएका थिए। जनता समाजवादी पार्टीले उक्त प्रकरण अपहरण भएको भनेको छ।

सांसद डा. सुरेन्द्र यादवसहित जनता समाजवादीका शीर्ष नेताहरू सांसद अपहरणको किटानी जाहेरी दिन महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा गएका थिए। त्यहाँ जाहेरी दर्ता नलिएपछि सांसद डा. यादवले आफूलाई अपरहण गरेको उजुरी मानवअधिकार आयोगमा दिएका थिए। सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले पनि अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता लिएको छ।

तर अपहरणको आरोप लागेका नेकपाका सांसद महेश बस्नेतले डा. यादव लागयतका सांसदहरुले दल फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याउन आग्रह गरेको र प्रकृयामा सहभागि हुने चाहाना पनि व्यक्त गरेको बताएका छन्। प्रकृयामा सहभागि हुनुभन्दा पहिले नेकपाका नेताहरुसँग केही ‘कमिटमेन्ट’ चाहिएको छ भनेर डा. यादवले भनेपछि काठमाडौं ल्याइएको उनले बताए।

सांसद कृष्ण श्रेष्ठ (किसान)ले आफूहरुलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको योजनामा फसाउन खोजिएको बताए। डा. बाबुराम भट्टराईप्रति लक्षित गरी उनले कल्पना नगरेका पिएचडी गरेको व्यक्तिले अपहरण जस्तो गम्भिर आरोप लगाएको बताए। पूर्वप्रहरी महानिरीक्षक (पूर्व आइजीपी) सर्वेन्द्र खनालले झुठो आरोप लगाएर आफूलाई र आफ्नो परिवारलाई मानसिक तनाव भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *