मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

महाभारत हेर्दाको प्रभाव

कक्षा ४ मा पढ्दा एकदिन बाबाले महाभारतको सिडि ल्याएर दिनुभयो । त्यहि दिनबाट मेरो फरक र अनौठो यात्राको श्री गणेश भयो । भरतबंशीहरुको ऐतिहासिक, राजनीतिक, सामाजिक गाथा रहेको महाभारत मलाई अत्यन्त रोचक लाग्न थाल्यो । हेर्दा हेर्दै म बदलिन थालें । भाँडाकुटि खेल्ने म अब त्यहाँका शब्दहरु सँग खेल्न थाले । अब शुरु हुन्छन मेरा अनौठा अनुभूतिहरु ।

म सधैँ महाभारत दोहोर्याएर हेर्थे । कहिल्यै दिक्क लाग्दैनथ्यो । अब मेरो सपनामा पनि महाभारतका भगवान बाहेक केहि देखिन छाड्यो । स्कुलबाट छुट्टि भएपछि सवै जना घर जाने कल्पनामा हुनु स्वभाविक हो तर म भने आकास तर्फ प्रस्थान गर्थें । मानौं की आकासमा सिँढि छ । म ति सिँढि चढेर इन्द्रदेव कहाँ पुग्थें । सबै देवी देवतालाई प्रणाम गरेर धर्तिमा चलिरहेका गतिविधिका विषयमा छोटो वार्तालाप पश्चात उर्वसीको नृत्य हेरेर म धर्ति लोकमा फर्कन्थें । मेरो जिवन नै अब महाभारतमय भैसकेको थियो ।

स्कुल बसबाट जब म उत्रन्छु सवै कुरा सामान्य नै हुन्थ्यो तर जव म घरमा प्रवेश गर्थें मेरो वस्त्र वदलिएर आफैं शाही वस्त्रमा परिणत हुन्थ्यो । मेरो सानो घर जुन सवैलाई सामान्य नै लाग्छ त्यो हस्तिनापुरको भव्य महल जस्तो हुन्थ्यो । मेरा अगाडि पछाडी द्वारपालहरु र आत्मरक्षकहरु हुन्थे । आरतिको थालि लिएर मेरो परिवार जुन राज परिवारमा वदलिएको हुन्थ्यो मेरा स्वागतका लागि आउनुहुन्थ्यो । यस्तै कल्पनामा घर फर्कदा कति बेला घर पुग्थे पत्तै चल्दैनथ्यो ।

हरेक दिन विहान उठेर बोर्डमा एउटा गिता वा वुद्धको प्रसिद्ध भनाई लेखेर त्यहि अनुसार दिन बिताउने अभ्यास गर्दैछु । म मन्त्रको दुनिँयाबाट कर्ममा र अपेक्षाबाट निस्किएर आशाको संसारमा रमाईरहे कि छु ।

सुदर्शन चक्रको सपना
म सपनामा पनि सुदर्शन चक्र देख्न थालें । मैले एकदिन सुदर्शन चक्र प्राप्त गरेको थिए । सपना त्यति पुर्ण त हुँदैनन त्यसैले होला मेरो सुदर्शन चक्र पनि पिनको आकारमा थियो । १५/१६ वटा रिफिल पनि थियो म सँग । तर यो सुदर्शन चक्र मैले चलाईन कारण यो थियो कि श्री कृष्णले शिशुपाल माथि सुदर्शन चक्र चलाउँदा उनको हात काटेको थियो । हात काट्छ भन्ने डर चाहिँ मलाई सपनामा पनि लागिरहेको थियो ।

स्कुलमा बढ्दो हिम्मत
स्कुलमा मलाई डर लाग्न छाड्यो । प्रश्न सोध्न पनि हिच्किचाउन छाडे । मलाई के लाग्थ्यो भने सरहरुले मलाई गाली गर्नु या पिट्नु भयो भने म पनि रिसाउँछु र म रिसाएपछि मेरो रौद्र रुप जागृत हुन्छ । यो चाहिँ मैले महाकालीको कथामा हेरेको थिए । म सोच्थें कि हरेक नारीमा एउटा कालि रुप लुकेको हुन्छ । जब कसैले उसको कोमलतालाई उसको कमजोरी ठान्छ त्यो रुप जागृत हुन्छ । मलाई पनि अब म सँग भएका पेन पेन्सिल सवै ब्रम्हास्त्र सरह लाग्न थालेको थियो ।

उडेर गाउँ जाने रहर
धनकुटाको पाख्रिवास मेरो जन्मथलो त्यहाँ गएको कल्पना नगर्ने हुनै सक्दैनथ्यो । इटहरीबाट धनकुटाको हिलेसम्म भगवान जस्तै गायव बनेर पुग्थें । अब पाख्रिवास त शानसँग देखिएर नै जानुपर्यो । अनि हिले बजारबाट चाहिँ म मेरो कल्पनाको कारमा चढेर पाख्रिवास पुग्थें । हिले सम्म अदृश्य भएर जानुको कारण म कल्पनामा पनि गाडीमा लामो यात्रा चाहदैनथें ।

गोवर्धन पर्वत उठाउने प्रयास
महाभारतमा श्रीकृष्णले गोवर्धन पर्वत उठाएर गोकूलबासीलाई संकटबाट बचाएको हेरेपछि मैले पनी स्कुल ब्याग कैयौं पटक हातको एउटा औंलाले उठाउन कोसिस गरें । तर, उठाउन नसकेपछि यो निश्कर्षमा पुग्थें ‘जब संकट आउदैंन शक्ति पनि आउँदैन’ तर म मा सगरमाथा नै उचाल्न सक्ने उर्जा छ भन्ने सोचाई चैं कायम रहन्थ्यो ।

जयन्ति मंगलाकाली भद्रकाली कपालिनी
यो मन्त्र आराधना गर्नाले स्वयं दुर्गामाताले शक्ति दिनुहुन्छ भन्ने मैले सुनेको थिए । यो कुरा मेरि स्कुलको मिल्ने साथी सिनेटलाई मैले सुनाए । हामी अलि सानै थियौं स्कुल बसमा आउँदा अरु ठुलाहरुले पेल्दथे हामीलाई । सिनेट र म अलि डराउदैनथ्यौं । आवाज उठाउथ्यौं तर लड्न सक्षम थिएनौ । एक जना केटा थियो हामीलाई स्कुल वसमा खाली सिटमा बस्न धम्क्याउथ्यो । अब दशैं छुट्टिको एक महिना कालीको यहि मन्त्र जपेर वरदान प्राप्त गरी दुखः दिनेलाई मजा चखाउने सल्लाह गर्यौं सिनेट र मैले ।

घरमा छुट्टि भरी एक महिना तपश्विले झैं ‘जयन्ति मंगलाकाली भद्रकाली कपालिनी’ यो मन्त्र विहान विहान पढ्न थालियो । विर्सीएको बेला कहिले कहिले बेलुका पनि पढिन्थ्यो । दुर्गामाताबाट आशिर्वाद पाएको कल्पना पनि हुन थाल्यो । तिहार पछि स्कुल सुरु भयो । हामी आफ्नो शक्ति प्रयोग गर्न उत्सुक थियौं र गाडीमा आफैं निउँ खोज्न थाल्यौं तर अरु कोहि झगडा गर्ने मुडमा थिएनन । त्यसपछी जव जव कसैले हामीलाई थर्काउथ्यो हामी मन्त्र पढेर शुरु हुन्थ्यौं । यो हाम्रो पागलपन नभएर भोलापन र मासुमियत थियो ।

महावली हनुमान
महाभारत पछाडी म महावली हनुमान हेर्न थालें । त्यहाँ मैले हनुमान जी लाई वायु वेगले उड्न सिकाउनु भएको देखे । शुरु शुरुमा हनुमान जी लाई उड्न अफ्टेरो हुन्थ्यो तर, निरन्तर अभ्यास पछी उहाँ सफल हुनुभयो । म पनि उड्ने प्रयास गर्न थालें । हनुमान जस्तै हात अगाडी लगेर धेरै पटक एकान्तमा उड्न कोशिस गरें तर, उड्न चाहि सकिन । यो प्रयास धेरै दिन चल्यो अरु भाग हेरेपछि यो भुल्न पुगें । मेरो कल्पना यतिमा मात्र सिमित भएन । म हनुमान चालिसा पनि पढ्थें । डर लाग्दा एउटै कुरा मुखबाट निस्कन्थ्यो ‘भुत पिसाच निकट नहि आवे जव महावली नाम सुनावे ।’ शक्ति चाहिँदा ‘जय वजरंग वली तोड दुश्मन कि नली ।’ यस्तै यस्तै ।

भगवानलाई पनि घूस
अब भगवान प्रति यत्रो आस्था भएपछि अलिअलि नमाग्ने त कुरै भएन । मेरो बाँकि सबै विषयमा नब्वे नम्वर कटेपनि गणितमा जहिल्लै असी मात्र आउथ्यो । अभ्यासमा सबै आउने परीक्षामा सधै विग्रने । गणीतलाई मैले चुनौतिको रुपमा लिए । अब मलाई झन म्याथफोविया हुन थाल्यो । परीक्षाको दिन विहानै घर नजिकैको पाथिभरा मन्दिर जान्थें । स्कुल जानु अगाडी टिका लगाउँथे पितृहरुको फोटा ढोगेर बुबा, बाबा, मामु, सानोबाबा, सानोमामु सबै सँग वेस्ट अफ लक मागेर स्कुल जान्थे ।

प्रश्नपत्र नआउन्जेल हनुमान चालिसा र सरस्वति मन्त्र पढ्थें । परीक्षा सकिएपछि कस्तो भयो भन्ने अलि अलि अन्दाज त भै हाल्छ अब बिग्रेको छ भने चाहिँ रिजल्टको दिन मेरो माग सुरु हुन्थ्यो । मलाई ९० कटाउनु थियो त्यसैले भगवानलाई उडेर गएर ५ नम्वर थपिदिनु भन्थें । रिजल्ट लिन जाँदा बाटोभर सरस्वतिको मन्त्र मनमनै गुन्दै जान्थें । फेरि पनि नम्वर चाँहि ८० नै आउथ्यो । संयोग नै मान्नु पर्छ मेरो ३ वर्ष सम्म गणितमा ८० भन्दा माथि नम्बर आएन ।

अब मैले मेरो कमजोरी डर रहेछ भन्ने बुझिसके कि छु । आजकल म हरेक विषयको परीक्षामा शान्त भएर जान्छु । टप नै त गरेको छैन तर आफ्नो रिजल्ट प्रति खुसि छु । हरेक दिन विहान उठेर बोर्डमा एउटा गिता वा वुद्धको प्रसिद्ध भनाई लेखेर त्यहि अनुसार दिन बिताउने अभ्यास गर्दैछु । म मन्त्रको दुनिँयाबाट कर्ममा र अपेक्षाबाट निस्किएर आशाको संसारमा रमाईरहे कि छु ।

प्रतिकृयाहरु
Loading...