‘किटनाशक पदार्थले भाइरस मर्दैन, शरीरमा नछर्किनुहोस्’

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानिसको शरीरमा हानिकारक किटनाशक औषधी नछर्किन आग्रह गरेको छ। किटनाशक औषधीले कोरोना भाइरस निको नहुने र त्यसले स्वास्थ्यमा असर गर्ने भएकाले शरीरमा नछर्किन आग्रह गरेको हो।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मानिसको शरीरमा किटनाशक औषधी छर्किँदा आँखा, नाकमा असर गर्ने र श्वासप्रश्वाससम्बन्धी समस्या देखिने बताए। उनले भने, ‘कोरोना भाइरसको वृद्धि हाम्रो शरीरको कोषभित्र भइरहेको हुन्छ। कीटनाशक झोल जस्ता डिसइन्फेक्टहरु छर्कँदा हाम्रो आँखा नाक मुख आदिमा धेरै हानी पुर्‍याउँछन्। मानिसमा सिधै यस्ता कीटनाशक पदार्थहरू छरिनु हानिकारक छ।’

केही दिनयता मानिसको शरीरलाई पनि हानिकारक कीटाणुरहित बनाउने भन्दै डिस्इन्फेक्सन स्प्रे छरिएको देखिएको छ। यो स्प्रेले मानिसको शरीरमा भएको भाइरस नमर्ने पनि प्रवक्ता देवकोटाले बताए। यस्तै मन्त्रालयले ६४ हजार बढीको कोरोना भाइरस परीक्षण गरेको जनाएको छ। पिसीआर विधिबाट मात्र सोमबारसम्म १३ हजार ६ सय ४० को पिसीआर परीक्षण गरिएको छ।

आरडिटीबाट ५० हजार ८ सय ४५ जनाको परीक्षण गरिएको प्रवक्ता डा. देवकोटाले बताए। उनका अनुसार १ हजार ३ सय ८२ जनाको पछिल्लो २४ घण्टामा कोरोना परीक्षण गरिएको छ। उनका अनुसार हाल २१ हजार ५ सय २३ क्वारेन्टाइनमा रहेको र १ सय ६ जना आइशोलेशनमा छन्। काठमाडौँ उपत्यकामा आइशोलेशनमा बस्नेको सङ्ख्या घट्दै गएको छ। उपत्यकामा १ जना मात्रै आइशोलेशनमा छन्। ३ सय २८ रेड जोनमा छन्। हालसम्म ७५ जना कोरोना सङ्क्रमित पुगेका छन्। जसमा ५८ जना पुरुष र १७ जना महिला छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *