अल्कोहलको सेवन नगर्न स्वास्थ्य मन्त्रालयको अपील

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस महामारीको विषम परिस्थितिमा अल्कोहलको सेवन नगर्न आग्रह गरेको छ। अल्कोहलको सेवनले शरीरमा रोगसँग लड्ने प्रतिरोधी क्षमता कम गर्ने र यस्तो अवस्थामा अन्य रोगहरूबाट सङ्क्रमणको जोखिम बढ्न सक्ने भएकोले सो कार्य नगर्न अनुरोध गरेको हो।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘अल्कोहल सेवनले कोरोना भाइरस मार्दैन। शरीरमा हानी गर्छ। अल्कोहलको धेरै प्रयोगले शरीरमा रोगसँग लड्ने प्रतिरोधी क्षमता कम गर्छ। त्यस्तो अवस्थामा अन्य रोगले सङ्क्रमण गर्न सक्छ। बिरामी बनाउन सक्छ। कोरोनाका कारण अहिले अस्पताल जान उपयुक्त छैन।’

पछिल्लो समय अल्कोहल सेवनबाट केही मानिसले ज्यान गुमाएको समाचार आइरहेका बेला मन्त्रालयले यसको सेवन नगर्न अपील गरेको हो। अल्कोहल प्रयोगको साटो घरमा बस्दा शारीरिक तथा मानसिक रूपमा सुदृढ हुने खालका गतिविधि गर्न प्रवक्ता देवकोटाले आग्रह गरे।

उनले सोमवारसम्म नेपालमा ६६ हजार ७७ जनाको कोरोना भाइरस परीक्षण गरिएको जानकारी दिए। जसमध्ये १३ हजार ८ सय ५० जनाको पिसिआरबाट र ५२ हजार २ सय २७ जनाको आरडिटीबाट परीक्षण गरिएको हो। हाल क्वारेन्टाइनमा २१ हजार ५ सय जना रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए। त्यस्तै, आइसोलेसनमा १ सय २० जना रहेको मन्त्रालयले जनाएको छ। सोमबारबाट जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको समेत उनले जानकारी दिए।

अहिलेसम्म नेपालमा ८२ जनामा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म कर्णाली प्रदेशमा सङ्क्रमण देखिएको छैन। प्रदेश १ मा ३१ जना सङ्क्रमित छन्। उनीहरूको विराटनगरमा उपचार भइराखेको छ। प्रदेश २ मा १३ जना सङ्क्रमित छन्। उनीहरूको वीरगन्जमा उपचार भइराखेको छ। प्रदेश ३ का सङ्क्रमित सातै जना डिस्चार्ज भएका छन्। उनीहरूको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार भएको हो। त्यसै गरी गण्डकी प्रदेशमा २, पाँच नम्बर प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा पाँच जना सङ्क्रमित फेला परेका छन्। यसरी सङ्क्रमितको सङ्ख्या ८२ पुग्दा ६१ पुरुष र २१ महिला छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *