कोरोना अस्पताल अनियमितता प्रकरणः सामाजिक सञ्जालबाट कांग्रेसको विरोध

चितवन। नेपाली कांग्रेस चितवनले कोरोना अस्पतालमा भएको अनियमितता र चोरीको मुद्दालाई लिएर आन्दोलन सशक्त बनाउने निर्णय गरेको छ। मंगलबार सम्पन्न पदाधिकारी बैठकले कोरोना अस्पतालमा भएको अनियमितताका विषयमा सडक संघर्ष नभई सामाजिक सञ्जालमा अभियान चलाउने निर्णय गरेको हो।

दोषीलाई निलम्बन गरी कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय कांग्रेसले गरेको छ। कोरोनाको त्रासको समयमा सरकारले गरेको लकडाउनलाई ध्यानमा राख्दै सामाजिक सञ्जालमार्फत आन्दोलन जारी राख्ने र सामाजिक दूरी कायम गरी अन्तरक्रिया र बहसका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय भएको कांग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए।

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सातै स्थानीय तह र ९८ वटा वडामा क्वारेन्टाइन बनाउन स्थानीय तहहरूलाई आग्रह गरेको छ। विदेशबाट आउनेहरूको सङ्ख्या बढ्दै जाने र कोरोनाको जोखिम दिनानुदिन बढेकोले सबै निकायमा क्वारेन्टाइनको व्यवस्था गर्न माग गरेको हो। साथै कांग्रेसले लकडाउनको समय बढेकोले दोस्रो चरणको राहत तत्काल वितरण गर्न पनि सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *